४९ परिवारका ८९ जना तीन दिनदेखि जंगलमा

२५ असोज, प्यूठान ।  घरमा दसैंको रमझम सकिएकै थिएन । कोही आफन्तको हातबाट टीका थाप्दै थिए भने कोही साथीभाइसँग रमाइलो गर्दै थिए । माण्डवी गाउँपालिका–२ धनचौरका दानबहादुर खत्रीलाई भने त्यसै दिन दशा लाग्यो ।

अविरल वर्षापछि पहिरो गएर उनी घरबारविहीन बने । गाउँभन्दा माथिबाट बस्ती बगाउने गरी पहिरो झर्न थालेपछि अन्नपात, लत्ताकपडा र परिवार जोगाउन उनी सुरक्षित स्थानको खोजी गर्दै जंगलतर्फ उक्लिए ।

frontline

‘दसैंमा हामीलाई दशा लागेर आयो, खुसी साट्ने बेला गुहार माग्नु पर्‍यो,’ उनले भने, ‘अहिले गाउँ नै पहिरोले बगाउन लागेको छ ।’

पहिरो जान थालेपछि अहिले उनीसँगै उनको परिवार नजिकैको जंगलमा आश्रय लिएर बसेको छ । पहिरोले धनचौरका सात घर बगाइसकेको छ । अन्य घर जोखिममा रहेको उनले बताए । उनीसँगै ४९ परिवारका ८९ जना तीन दिनदेखि जंगलमा आश्रय लिएर बसेका छन् । बेला न कुबेलाको पानीले उठिबास लगाएको खत्रीले सुनाए ।

पहिरोले स्थानीय दलबहादुर खत्री, ज्ञानबहादुर सार्की, रामबहादुर सार्की, दिलबहादुर सार्की, दिलबहादुर खत्री, हिमलाल खत्री, र वीरबहादुर दमाईको घर बगाएको हो । पानी पर्न नरोकिएकाले पहिरो अहिले पनि झरिरहेको छ ।

जसका कारण एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । धनचौरका चन्द्रबहादुर ठेडी मगर, कमल पुन मगर, बोमबहादुर खत्री, मीनबहादुर खड्का, डिलबहादुर खत्रीलगायतको घर पहिरोको उच्च जोखिममा छन् ।

पहिरो जाँदा गाईबस्तु पुरिएको स्थानीय रामबहादुर सार्कीले बताए । ‘एक्कासि पहिरो जाँदा बालबच्चा बचाउने कि बस्तुभाउ बचाउने भन्ने भयो,’ उनले भने, ‘हतारमा बालबच्चा बोकेर दगुर्न मात्रै पायौं ।’ उनका अनुसार बस्तीका एक दर्जन घर अति जोखिममा छन् । ‘चारैतिरबाट पहिरोले घेरेको छ,’ उनले भने, ‘कतिबेला लैजान्छ, थाहा छैन, गाउँका सबै बेघरबार भएका छौं ।’

पानी पर्न नरोकिएकाले जंगलमा बस्न पनि समस्या भएको उनले सुनाए । उनका अनुसार बोकेर ल्याएको खानेकुरा पनि सकिन थालिसकेको छ । गाउँका वृद्धवृद्धा र बालबालिका सबै जंगलमा त्रिपालको भरमा बस्नुपरेको छ । पानी पर्दा झनै समस्या हुन्छ ।

रातमा पनि छाता ओढेर बस्ने गरेको उनले सुनाए । पहिरोले सबैभन्दा धेरै माण्डवी गाउँपालिकामा क्षति पुर्‍याएको छ । माण्डवीका तिराम, रातापानी, मर्कावांग अझै उच्च जोखिममा छन् ।

ऐरावती गाउँपालिकाको तिग्रापातलका स्थानीय पनि गाउँमाथिबाट पहिरो झर्न थालेपछि विस्थापित भएका छन् । बस्तीमाथिको जमिन धाँजा फाटेर पहिरो झर्न थालेपछि गाउँका सबै डाँडामा गएर बसेको स्थानीय रवीन्द्र रोकाले बताए । यहाँका २३ घरधुरी पहिरोले विस्थापित भएका छन् । आफूहरूलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकासँग आग्रह गरेको रोकाले बताए ।

‘बोकेर कति पो अन्नपात ल्याउन सकिन्थ्यो र ∕ ल्याएको पनि सकिने बेला भयो,’ उनले भने, ‘गाउँ फर्किने अवस्था छैन ।’ पानी नरोकिएकाले गाउँ फर्किने अवस्था नरहेको उनले सुनाए । झिमरुक गाउँपालिका–४ बांगेमरोटका तोरबहादुर विकले पनि लगातारको वर्षाले घर बगाउने जोखिम बढेपछि घरका बस्तुभाउ आफन्तकहाँ सारेको बताए ।

असोज १८ गते साँझबाट परेको पानीले बस्ती नै बग्ने जोखिम बढेपछि उनले बस्तुभाउ आफन्तकहाँ सारेका हुन् । ‘लगातार पहिरो जाँदा मरिन्छ कि भन्ने लाग्यो,’ उनले भने, ‘आइतबार राती अबेरसम्म पानी पर्न रोकिएको छैन ।’

लगातारको वर्षाले प्यूठानका ९ वटै स्थानीय तहमा क्षति पुर्‍याएको छ । गएको एक सातामा प्यूठानमा पहिरोले पुर्दा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् ।

तीन दर्जन बढी घर बगाएको प्रशासनको तथ्यांक छ । यहाँ दर्जनौं घर पहिरोको जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सबैलाई जोखिम कम नभएको भन्दै सतर्क रहनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here