१० अर्ब लागतमा पनौतीमा यस्तो बन्दै छ अत्याधुनिक प्रहरी तालिम केन्द्र 

काभ्रेपलाञ्चकको पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अत्याधुनिक परियोजना सम्पन्न हुने चरणमा पुगेको छ। भारतले दिएको १० अर्ब १ करोड ५१ लाख रुपैयाँ लागतमा (भ्याटबाहेक) तयार भइरहेको परियोजनाको ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार पनौतीमा ८२२ रोपनीभन्दा बढी जग्गामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना तयार हुन लागेको हो। यसअन्तर्गत ६७ वटा भौतिक संरचना निर्माणको अन्तिम चरणमा पुगेका छन्। 

frontline

प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमण गर्ने बेला औपचारिक उद्घाटन गर्ने तयारी छ। भारतबाटै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। 

प्रधानमन्त्री शाह आउने मंसिर दोस्रो साता भारत भ्रमणमा जाने तय भएको छ। त्यसअघि नै प्रहरी तालिम केन्द्रको भवन सक्ने गरी धमाधम काम भइरहेको छ। 

परियोजनाअन्तर्गत ४८ वटा सुविधा सम्पन्न भवन तयार भइरहेका छन्। १९ वटा अन्य संरचना छन्। 

उक्त भवन २०७९ असोज ७ गते शिलान्यास गरिएको थियो। यहाँ दुई छुट्टाछुट्टै सभाहल तयार हुँदै छन्। ५७२ जना क्षमताको एउटा र ३५२ जना हट्ने क्षमताको अर्को सभाहल बनिरहेको छ।

यस्तै ४८० जना अटाउने र २४० जना अटाउने अरू दुईवटा सम्मेलन हल पनि एकसाथ तयार भइरहेका छन्।

इनडोर स्पोर्ट्स हल (भित्रै खेल्न मिल्ने) हल पनि प्रतिष्ठानको परियोजनामा तयार हुनेछ। 

अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल, सिमुलेसन क्लाससहितको कक्षा कोठाको छुट्टै भवन पनि यहाँ बन्दै छ। पुरुष प्रशिक्षार्थीका लागि छुट्टै कोठासहितको भवन तयार भइरहेको छ। महिला प्रशिक्षार्थीको लागि पनि छुट्टै भवन बनाइएको छ। प्रशिक्षकका लागि पनि छुट्टै भवन तयार भइरहेको प्रवक्ता काफ्लेले बताए।

२५ बेडको सुविधासहितको प्राथमिक उपचार केन्द्र सञ्चालन गर्न पनि भवन तयार भएको छ।

भारतीय निर्माण कम्पनी अहुवालिया र नेपालको रोशन कन्ट्रक्सन (जेभी) ले यी संरचना तयार गरिरहेका हुन्। 

२०७१ मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा परियोजना निर्माणका लागि सम्झौता भएको थियो। मोदी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा सहभागी हुन नेपाल आएका थिए। 

तर सम्झौता भए पनि भारतका केही शर्तलाई स्वीकार गर्न नसक्दा परियोजना अगाडि बढाउन ढिलाई भएको थियो। भारतले परियोजना तयार गर्दा आफ्नै जनशक्ति ल्याएर निर्माण गर्ने सर्त राखेको थियो। 

त्यसमा नेपालको असहमतीपछि २०७४ चैतमा सम्झौता संशोधन गरिएको थियो। त्यसपछि नै यसको प्रशासनिक प्रक्रिया अगाडि बढाए पनि निर्माण कम्पनी तय भएर परियोजना अगाडि बढाउन २०७९ असोज ७ गतेसम्म लाग्यो।

उक्त मितिमा मात्रै परियोजनाको शीलन्यास गरिएको थियो। सुरुको सम्झौता अनुसार एक वर्ष पहिले नै यो परियोजना सम्पन्न गर्ने भनिएको थियो। सम्झौता अनुसार २०८२ असार २८ गते सम्पन्न गर्ने उल्लेख थियो। 

तर उक्त मितिमा तयार हुन नसकेपछि ५ महिना म्याद थप गर्दै मंसिर २२ गतेसम्म पुर्‍याइएको थियो। यो अवधिमा पनि परियोजना सम्पन्न भएन। दोस्रो पटक २०८३ वैशाख १७ गतेसम्म म्याद थपिएको थियो। 

तेस्रो पटक भदौ १५ गतेसम्मको म्याद सरकारले दिएको थियो। तर अब भने परियोजना अन्तिम चरणमा पुगेको हो। यहाँ प्रशिक्षण केन्द्र बनाउन २०५२ सालमै जग्गाको व्यवस्था गरिएको थियो।

हाल नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here