स्वेदशमै मेडिकल शिक्षाका साथै उपचारका लागि विदेश धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति भण्डारी
१ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वेदशमै मेडिकल शिक्षाको प्रवर्द्धनका साथसाथै स्वास्थ्य उपचारका लागि सहर र विदेशी धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन् ।
आइतबार त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्यययन संस्थान (आईओएम) को ५० औं वार्षिकउत्सव समारोहलाई प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै उनले स्वास्थ्य संस्था र मेडिकल क्षेत्रका शिक्षणसंस्थालाई सबै प्रदेश र भुगोलमा विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिइन् । ‘
अहिले उपचारका लागि सहर वा विदेश जानुपर्ने अवस्था छ, यसको अन्त्य हुनुपर्छ,’ उनले भनिन् । त्यसका लागि आईओएम जस्ता नेतृत्वदायी संस्थाको सेवा र सुविधा थप विस्तार गर्नुपर्ने उनले बताइन् ।
‘आईओएमबाट उत्पादित जनशक्तिले दुरदराजमा सेवा पुर्याएकोमा प्रंशसा गर्दछु,’ राष्ट्रपति भण्डारीले भनिन, ‘यसको क्षमता विस्तारका लागि सरकारले थप सहयोग गर्नुपर्छ ।’
उक्त समारोहमा आईओएमका चिकित्सक, प्राध्यापक, कर्मचारी सहभागी थिए । राष्ट्रपतिको उपस्थितिमा वार्षिकउत्सव समारोह राखिएकाले त्रिवि शिक्षण अस्पतालको दिउँसोको सिफ्टको सेवा भने बन्द गरिएको थियो ।
अस्पतालको आकस्मिक सेबा बाहेकका ओपीडी लगायत सेवा बन्द गरिँदा बिरामी उपचारबाट बञ्चित भएका थिए । अस्पतालले दैनिक २ हजारभन्दा बढी बिरामीको ओपीडीमा उपचार गराउँदै आएको छ ।
आईओएमकी डिन दिव्या सिंह शाहले राष्ट्रपति आउने कार्यक्रमका लागि आइतबारको सम्पूर्ण सेवा बन्द गरी समारोहमा सहभागी हुन निर्देशन दिएकी थिइन् । तर उनको निर्देशनको विरोधपछि बिहानी सिफ्टको सेवा सुचारु गरेर दिउँसोको मात्रै बन्द गरिएको हो ।
कार्यक्रममा आईओएमको संस्थापक डिन मोहन साहसहित ११ जना पूर्वडिनहरुलाई सम्मानित गरिएको थियो । वार्षिकउत्सवमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले शिक्षणसंस्थाबाट उत्पादित चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वेदशीमै रोजगारी दिन सरकारले प्राथमिकता दिने बताए ।
गुणस्तर शिक्षा र स्वास्थ्यका लागि सरकारले प्रत्येक पालिकामा अस्पताल निर्माणको अभियान सञ्चालन गरेको उनले बताए ।
त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले सरकारले सहयोगन नगर्दा त्रिवि शिक्षण अस्पतालको क्षमता सोचेअनुसार विस्तार गर्न नसकिएको गुनासो गरे ।
‘स्वास्थ्य मन्त्रालयले टिचिङ अस्पताल हामी मातहत होइन भनेर बजेट दिँदैन, शिक्षा मन्त्रालयले त्रिविको हो, भनेर बजेट छुट्टाउँदैन,’ उनले भने, ‘विश्वविद्यालय अनुदान आयोग मार्फत त्रिविलाई आउने सिमिति बजेटबाट सञ्चालन गरिएको छ ।’
चिकित्सा शिक्षा ऐन जारी भएपछि शिक्षणअस्पतालको आम्दानी पनि घटेको उनले जनाए । प्रवेशपत्र शुल्क लगायतका शुल्क गुमेको र छात्रवृत्तिमा खर्च बढेको बाँस्कोटाले बताए ।
सन् १९७२ मा चिकित्सा शिक्षाको प्रमाणपत्र तह पठनपाठन गराउने उद्देश्यले ३ सय शय्याको अस्पतालसहित आईओएमको स्थापना भएको थियो ।
१९७६ देखि स्नातक नर्सिङको पढाई थालेको आईओएममा हाल चिकित्सा शिक्षाका ४४ विद्यासहित विद्यावारिधि तहसम्मको अध्ययनअध्यापन हुन्छ ।
आईओएम अन्तर्गत ७ वटा आंगिक क्याम्पस र १५ वटा सम्बन्धन प्राप्न निजी मेडिकल कलेज सञ्चालनमा छन् । हालसम्म २४ हजारभन्दा बढी डाक्टर नर्ससहित चिकित्सा क्षेत्रका जनशक्ति तयार पारिएको डिन शाहले बताइन् ।
प्रतिक्रिया दिनुहोस्