सुत्केरी श्रीमतीसँग शहीद शुक्रराज र गंगालालको वियोगान्त विछोड

गंगालाललाई मृत्युदण्ड दिनुभन्दा दुई दिनअघि वि.सं. १९९७ माघ १३ गते हसिना सुत्केरी भएकी थिइन्। जेलमा रहेका गंगालालले छोरा जन्मिएको खबर पाए। छोराको नाम शशि राख्नु भनी उनले सुझाव दिए। उनकै इच्छा अनुसार छोराको नाम शशिलाल राखियो।

शहीद शुक्रराज जोशी शास्त्रीको विवाह दुई पटक भयो। पहिलो विवाह पार्वतीदेवी गोर्खालीसँग भएको थियो। उनी खड्गप्रसाद गोर्खालीकी छोरी हुन्। वि.सं १९७९–८० तिर उनको अल्पायुमै मृत्यु भयो। मृत्युको कारण अस्पष्ट छ।

frontline

प्रा.डा. राजेश गौतमका अनुसार शुक्रराजको दोस्रो विवाह वि.सं. १९९४ मंसिर ५ गते मेनका माथेमासँग भएको थियो। उनी शहीद धर्मभक्त माथेमाकी बहिनी हुन्। विवाह भएको केही समयपछि नै मेनका गर्भवती भएकी थिइन्।

शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकलादेवी मल्लका अनुसार वि.सं. १९९५ मंसिर १३ गते मेनका सुत्केरी भइन्। शुक्रराज शास्त्री पक्राउ परेको ४ दिन मात्रै भएको थियो। छोरी जन्मिएकी थिइन् तर ७ दिनमै छोरीको मृत्यु भयो। संक्रमणको समस्याले सुत्केरी भएको एक महिनाभित्रै मेनकाको पनि मृत्यु भयो।

मृत्यु हुनुअघि मेनकाले जेलमा रहेका श्रीमानलाई भेट्न निकै प्रयत्न गरेकी थिइन्। भेट्न पाऊँ भनेर राणा शाहीसमक्ष बिन्ती गरेकी थिइन्। तर उनीहरूले भेट्ने अनुमति दिएनन्।

बिहे भएको एक वर्षमै श्रीमान्–श्रीमतीको दुःखद् विछोड भयो। सुत्केरी श्रीमती र भर्खर जन्मिएकी छोरीको मुख समेत शुक्रराजले देख्न पाएनन्।

पक्राउ पर्नुअघि घरमै नजरबन्दमा रहेका बेला शुक्रराजले, ‘म बिरामी छु, घरमा खाने केही छैन म कलकत्ता गएर औषधि उपचार गरेर फर्कन्छु’ भनी अनुमति मागेका थिए। तर राणाहरूले अनुमति दिएनन्।

पक्राउ परेको दुई वर्षभन्दा बढी समयपछि १९९७ साल माघ १० गते उनलाई टेकुमा खरीको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइयो।

अर्का शहीद गंगालालको पनि सुत्केरी श्रीमतीसँग वियोगान्त विछोड भयो। गंगालाल पत्नी हसिना भन्दा हुरुक्कै हुन्थे। हसिना उनका लागि प्रिय नाम थियो। गंगालाल भर्खर २२ वर्ष भएका थिए। हसिना १९ वर्षकी थिइन्।

त्यस समय गंगालालभित्र निरंकुशता अन्त्य गर्ने र समाज परिवर्तन गर्ने हुटहुटी थियो। पढाइ, पारिवारिक जिम्मेवारी र परिवर्तनका लागि संघर्ष सँगसँगै अगाडि बढाइरहेका थिए।

उनी त्रिचन्द्र कलेजमा विज्ञान पढ्ने विद्यार्थी थिए। गंगालाल प्रजापरिषद्का सदस्य भइसकेका थिए। उनले प्रजापरिषद्का नेता हरिकृष्ण श्रेष्ठकी मामाकी छोरी हसिनासँग बिहे गरेका थिए।

गंगालालकी आमाको निधन भएको एक वर्ष पनि पुगेको थिएन। बरखीमै थिए, उनी राणा विरोधी अभियानमा संलग्न भए।

डा.राजेश गौतमका अनुसार वि.सं. १९९५ मंसिर महिनामा उनले स्वतन्त्रताको पक्षमा शुक्रराज शात्रीसँगै इन्द्रचोक र असनमा भाषण गरेका थिए।

वि.सं. १९९७ कात्तिक २ गते गंगालाल पक्राउ परे। सोही वर्ष माघ ७ गते उनलाई मृत्युदण्ड दिने फैसला सुनाइयो। त्यो समय उनकी श्रीमती हसिना सुत्केरी हुने प्रतीक्षामा थिइन्। उनी श्रीमान्‌लाई भेट्न सेन्ट्रल जेलसम्म जानसक्ने अवस्थामा थिइनन्। उनले घरमै बसेर श्रीमान्‌को रिहाइका लागि राणा सरकारसँग माफी मागिन्।

उनका जेठान तथा प्रजापरिषद्का नेता हरिकृष्ण श्रेष्ठका अनुसार मृत्युदण्ड दिने फैसला सुनाएपछि उनले भनेका थिए– दाइ अब म जाँदैछु हसिनाको ख्याल राखिदिनुहोला।

गंगालाललाई मृत्युदण्ड दिनुभन्दा दुई दिनअघि वि.सं. १९९७ माघ १३ गते हसिना सुत्केरी भएकी थिइन्। जेलमा रहेका गंगालालले छोरा जन्मिएको खबर पाए। छोराको नाम शशि राख्नु भनी उनले सुझाव दिए। उनकै इच्छा अनुसार छोराको नाम शशिलाल राखियो।

तत्कालीन प्रहरी प्रमुख नरशमशेरले आफ्नो आत्मकथामा उल्लेख गरेअनुसार माघ १५ गते राति १० बजेतिर गंगालाललाई दशरथ चन्द ठकुरीसँगै लरी (ट्रक) मा हालेर प्याफलको बाटो हुँदै शोभा भगवती लगिएको थियो।

गंगालालको घर बाटोमै पर्थ्यो। घरनजिकै पुगेपछि उनले लरीबाटै ‘हसिना–हसिना’ भनेर बोलाएका थिए। जीवनको अन्तिम घडीमा यसरी आफ्नी प्रिय श्रीमतीप्रतिको प्रेमभाव गंगालालले प्रकट गरे।

शोभा भगवतीमा गंगालाललाई घुँडादेखि कोखासम्म ५ ठाउँमा गोली हानिएको थियो। सुरुवाल रगतले लछप्पै भिजेको थियो।

गंगालालका फुपूका छोरा चन्द्रमान श्रेष्ठका अनुसार उनका दुवै आँखा बन्द थिए। उनलाई अन्तिम गोली हान्दा रातको २ बजेको थियो। दशरथ र गंगालाल दुवैको शव सर्वसाधारणलाई देखाउन दिनभर शोभा भगवतीमै राखियो।

सुत्केरी भएको दोस्रो दिनमै पति वियोगको पीडा सहन गर्न विवश भएकी हसिना ९३ वर्षको उमेरसम्म बाँचिन्। उनी आम नेपाली महिलाहरूका लागि प्रेरक र ऐतिहासिक पात्र बनिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here