सामान खरिदमा अनियमितता : कोषाध्यक्ष र लेखापाल सीआईबीको नियन्त्रणमा,एन्फा महासचिव र अध्यक्ष फरार
काठमाडौं : आखिल नेपाल फुपटबल संघ (एन्फा) का चारजना पदाधिकारीमाथि सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको छ। एन्फाका पदाधिकारीविरुद्ध परेका उजुरीमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एन्फाका दुईजना पदाधिकारीलाई पक्राउ गरिसकेको छ।
सीबीआईका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पौडेल हाल सीआईबीको नियन्त्रणमा रहेका छन्। उनले अन्नपूर्ण पोष्टसँग भने,’ ‘हामीमा आएको उजुरी छानबिन गर्ने क्रममा दुईजनालाई पक्राउ गरेका हौं। अध्यक्ष र महासचिव भने हाल फरार हुनुहुन्छ।’
एन्फाको सामान खरिद प्रक्रिया पूरा नगरी सामान खरिद गर्दा कमिसन लिएको तथा राज्यलाई धोका दिएको भन्ने विषयमा उजुरी परेको थियो। जबराका अनुसार,होम गेम विपक्षी देशसँग बसेर सम्झौता गरेको भन्दै एन्फामाथि उजुरी परेको थियो।
‘नेपालमा हुनुपर्ने खेल प्रतिस्पर्धीलाई हाम्रो देशमा गराउन सक्दैनौं भन्दै उहाँहरूले सम्झौता गर्नुभएको भेटिएकाले कोषाध्यक्ष र लेखापाललाई हामीले नियन्त्रणमा लिएका हौं,’प्रवक्ता जबराले भने,‘हालसम्म अध्यक्ष र महासचिव पक्राउ पर्नु भएको छैन। उहाँहरू प्रतिवादीको रुपमा हामीले खोजीरहेका छौं।’ उनीहरूले ६६लाख ५३ हजार बराबरको अनियमितता गरेको सीआईबीको निष्कर्ष छ।
राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होमगेम बिक्री,राखेपको निर्देशन अवज्ञा र अवैध भत्ता वितरण, महिला साफ गेममा होटल दररेटमा कमिसन र भ्रष्टाचार,बिनास्वीकृति आफूखुसी वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग र अनावश्यक नियुक्ति गरेको भन्दै एन्फाविरुद्ध उजुरी परेको थियो ।
यस्तै,विभिन्न समयमा भएका टेण्डरहरू प्रचलित कानुन बमोजिम नगरेको,विभिन्न प्रतियोगिताहरूमा मार्केटिङ,डिजिटल,बोर्डकाष्टिङ र टिकेटिङ राईट दिँदा भ्रष्टाचार गरेको समेतका व्यहोरा उठाइ एन्फाभित्र भइरहेका गम्भीर अनियमितता,भ्रष्टाचार र पदको दुरुपयोग सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेपछि एन्फाविरुद्ध छानविन सुरू भएको हो।






प्रतिक्रिया दिनुहोस्