सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध ८ उजुरी
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध आठ वटा उजुरी परेको छ ।
यही कात्तिक ९ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिको आह्वानअनुसार शुक्रबारसम्म आठ वटा उजुरी परेका हुन् । उजुरी दिने समय कात्तिक १९ गतेसम्म छ । यसअवधिमा उजुरीको संख्या थप बढ्न पनि सक्नेछ ।
गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
पाण्डे उच्च अदालत, पाटनको हेटौंडा इजलासका न्यायाधीश हुन्, भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् । डाँगी यसअघि उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए ।
उनीहरूविरुद्ध परेको उजुरी अध्ययन गरेर संसदीय सुनुवाइ समितिले न्यायाधीशमा सिफारिस चारै जनाको कार्ययोजना सुन्नेछ । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशमा नियुक्ति हुनेछन् ।






प्रतिक्रिया दिनुहोस्