समिति बनाएर बत्ती आउँदैन, सक्षम नेतृत्व चाहिन्छ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हाल देशभर देखिएको विद्युत् आपूर्ति समस्या (झ्याप्प-झ्याप्प बत्ती जाने) को मुख्य कारण प्राधिकरणको लामो समयदेखिको नेतृत्वविहीनता रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै घिसिङले वर्षायाममा प्राविधिक कारणले केही समय विद्युत् अवरुद्ध हुनु स्वाभाविक भएको उल्लेख गरे । तर, यस्ता समस्या समाधान गर्न सक्षम, अनुभवी र निर्णयक्षमता नेतृत्व आवश्यक पर्ने उनको भनाइ छ ।
‘दुर्भाग्यवश, देशको महत्त्वपूर्ण सार्वजनिक संस्था नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि नेतृत्वविहीन अवस्थामा छ र मूकायमको भरमा सञ्चालन भइरहेको छ,’ घिसिङले लेखेका छन्, ‘यस्तो संस्थालाई नेतृत्वविहीन बनाएर समस्या समाधानको अपेक्षा गर्नु सरकारको अदूरदर्शिता हो ।’ उनले भने, ‘समस्या देखिनेबित्तिकै मन्त्रालयले समिति गठन गरेर जिम्मेवारीबाट पन्छिन खोज्छ । तर समिति बनाएर विद्युत् प्रणाली चल्दैन, निर्णय गर्न सक्ने पूर्णकालीन नेतृत्व चाहिन्छ।’
घिसिङले प्रशासनिक अन्योल, निर्णयमा ढिलासुस्ती र राजनीतिक हस्तक्षेपका कारण जनताले सास्ती भोग्नुपरेको बताए । ऊर्जा क्षेत्रलाई राजनीतिक प्रयोगशाला बनाउन नहुने उनको चेतावनी छ । ‘यदि सरकारले ऊर्जा सुरक्षालाई साँच्चै प्राथमिकता दिएको हो भने, नेपाल विद्युत् प्राधिकरणलाई तत्काल पूर्णकालीन, सक्षम र स्वायत्त नेतृत्व दिनुपर्छ,’ घिसिङले भने, ‘अन्यथा आजको झ्याप्प९झ्याप्प बत्ती भोलिको ठूलो संस्थागत सङ्कटमा बदलिन सक्छ ।’
उनले प्रसारण तथा वितरण लाइनको निर्माण छिटो सम्पन्न गर्ने, प्रणालीको आधुनिकीकरण गर्ने, नियमित मर्मतसम्भार र आपत्कालीन प्रतिक्रिया प्रणालीलाई मजबुत बनाउन पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्