श्रीमान्को खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु
७ साउन, ताप्लेजुङ । श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो ।
घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो ।
खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ ।
शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।
श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्