वीरमा ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया, ४८ घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.

  • वीर अस्पतालले आइतबारदेखि जुलाई ८ सम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको छ।
  • डाक्टरहरूले ४८ घण्टाभित्र शल्यक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको र प्रविधि विस्तारले सेवा तीव्र भएको बताए।
  • नेपालमा प्रत्येक वर्ष २५०० देखि २६०० नयाँ ब्रेन ट्युमरका बिरामी थपिन्छन् र समयमै उपचार आवश्यक छ।

काठमाडौं । वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया हुने भएको छ । अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा.राजीव झाले आइतबार आयोजित कार्यक्रममा सो जानकारी दिँदै बिरामीहरूलाई समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् ।

frontline

‘यो महिना ब्रेन ट्युमर दिवसको महिना हो । त्यसैले, ८ जुन देखि जुलाई ८ सम्म दर्ता हुने ब्रेन ट्युमरका बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा लिन सक्नेछन्, ’डा झा भने। उनले वीर अस्पतालमा मासिक ३० भन्दा बढी ब्रेन ट्युमरको शल्यक्रिया भइरहेको र यो सेवा अन्य समयमा १ लाख भन्दा बढी खर्च लाग्ने जानकारी दिए ।

४८ घण्टाभित्र शल्यक्रिया सम्पन्न गर्ने लक्ष्य

न्यूरो शल्यचिकित्सक डा. सुशील मोहन भट्टराईले यो महिना शल्यक्रियालाई तीव्र बनाउँदै ४८ घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । पहिलेको भन्दा अहिले कसरी छिटो सम्भव छ ? भन्ने प्रश्नमा डा. भट्टराई सुनाउँछन्, ‘पहिले शल्यक्रियाका लागि एक सातादेखि १५ दिनसम्म पर्खनुपर्ने अवस्था थियो । तर, यो महिना हामीले सेवा दोब्बर बनाएर साताको ५ दिन १० वटा टेबलबाट शल्यक्रिया गर्नेछौं ।’

कोठा र स्रोतसाधनको विस्तारले यो सम्भव भएको भट्टराईले बताए । यसअघि ४ दिन मात्र ५ वटा टेबलबाट शल्यक्रिया सेवा दिइँदै आएको उनले जानकारी दिए ।

नेशनल ब्रेन ट्युमर सेन्टरको प्रभावकारी सेवा

नेपालमा ब्रेन ट्युमरको उपचारका लागि एउटा निश्चित केन्द्र बनेको छ, वीरको नेशनल ब्रेन ट्युमर सेन्टर ।

गत वर्ष वीर अस्पतालमा संचालनमा आएको नेशनल ब्रेन ट्युमर सेन्टरले ब्रेन ट्युमरका बिरामीका लागि एकीकृत, छिटो र अत्याधुनिक प्रविधियुक्त उपचार प्रदान गरिरहेको डा. भट्टराईले दाबी गर्छन् ।

‘यो केन्द्र स्थापना भएपछि बिरामीले एकै ठाउँमा सहज र प्रभावकारी उपचार पाएका छन्, ‘उनी भन्छन् । केन्द्रले अत्याधुनिक न्यूरोनेभिगेसन सिस्टम, थ्रीडी इन्डोस्कोप र इन्ट्रा–अपरेटिभ नर्भ मोनिटरिङ जस्ता प्रविधि प्रयोग गर्दै आएको छ ।

नेपालमा ब्रेन ट्युमरको तथ्यांक

अस्पतालले दिवसको अवसरमा नेपालमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक पनि सार्वजनिक गरेको छ । तथ्यांकअनुसार हाल नेपालमा प्रत्येक वर्ष २५ सय देखि २६ सय ब्रेन ट्युमरका नयाँ बिरामी थपिन्छन्, जसमध्ये बागमती र मधेश प्रदेशमा सबैभन्दा बढी छन् ।

विशेषज्ञ न्यूरोसर्जनहरूको संख्या, न्यूरो केन्द्रहरूको विस्तार र प्रविधिको विकासले उपचार परिणाम अबको दिनमा सुधारोन्मुख हुने आशा वीरको न्यूरो विभागले लिएको छ । डा. झाका अनुसार ब्रेन ट्युमरको प्रमुख लक्षण टाउको दुखाइ हो, जसलाई धेरैजसो बिरामीले सामान्य ठानेर औषधि पसलबाट प्यारासिटामोल खाने गर्छन् ।

तर, यो गम्भीर रोगको संकेत हुन सक्छ । ब्रेन ट्युमरका अन्य लक्षणहरूमा बेहोस हुनु, धेरै बान्ता हुनु, छारे रोगजस्तै लक्षण देखिनु, आँखा देख्न कम हुने, कान सुन्न छाड्ने र खाना निल्न गाह्रो हुने समावेश छन् ।

‘टाउको दुखाइलाई सामान्य नठानेर तत्काल अस्पतालमा जाँच गराउनुपर्छ। समयमै ब्रेन ट्युमर पत्ता लागे पूर्णरूपमा निको हुन सक्छ, ’डा. सुशील भन्छन् । उनले जनचेतनाको कमीले धेरै बिरामी ढिलो अस्पताल पुग्ने गरेको अनुभव सुनाए ।

ब्रेन ट्युमरवीर |अस्पताल

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here