विद्यालयको रकम हिनामिना

सान्केतिक तस्बिर

१८ मंसिर, बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनामिना भएको छ।

अनुमानभन्दा दश लाख रुपैयाँ बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले भवन निर्माणका क्रममा सापटी वापत प्रयोग गरेको विद्यालयको छ लाख पचास हजार रुपैयाँ हिनामिना गरेका हुन्। 

frontline

गत भदौ ३० गते विद्यालय व्यवस्थापन समिति पुनगठनका लागि भएको भेलामा तत्कालीन प्रअ हृदयकुमार श्रेष्ठले प्रस्तुत गरेको आय ब्यय विवरणमा प्रश्न उठेपछि असोज १ गते अभिभावक मदन आचार्यको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको थियो। 

दिपक सापकोटा, सनम जिसी, सुसन थापा, सम्राट सापकोटा, तेजेन्द्रबहादुर कार्की र तिलबहादुर घिमिरे सदस्य रहेको समितिले मंसिर ८ गते प्रतिवेदन सार्वजनिक गरी व्यवस्थापन समितिलाई बुझाएको छ। 

संयोजक आचार्यले अस्वभाविक खर्च देखाइएको, खर्च अनुसार बिल भरपाई नभेटिएको, विद्यालयको खाताबाट झिकिएको रकम फिर्ता नभएको, कामदार र सामान बिक्रेताले पूरा भुक्तानी नपाएका भेटिएको बताए।  

‘सोह लाख रुपैयाँको बजेटभित्र बनाउनुपर्ने भवनको खर्च २६ लाख रुपैयाँभन्दा बढी देखाइएको छ’, उनले भने, ‘खातामा भएको छ लाख पचास हजार रुपैयाँ मासिएको विषयमा प्रश्न उठेपछि छानविन गर्दा अस्वभाविक रुपमा देखाइएको खर्चलाई प्रमाणित गर्ने बिल र भरपाइ भेटिएन।’ 

आर्थिक वर्ष २०७४/७५ मा दुई कोठे एक तले कक्षा कोठा भवन निर्माणका लागि तत्कालीन शिक्षा कार्यालयबाट आयोजना व्यवस्थापन खर्च कटाएर निकासा भएको १५ लाख १२ हजार रुपैयाँसहित कुल २४ लाख तीन हजार ९०० रुपैयाँ खर्च भएको र थप दुई लाख दुई हजार ४९५ रुपैयाँ तिर्न बाँकी भएको प्रअ श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। 

छानबिन समितिले २१ लाख ५६ हजार ५०३ रुपैयाँ बराबरको खर्च प्रमाणित गर्ने बिल भरपाइ भेटिएको र दुई लाख ४७ हजार ३९६ रुपैयाँ बचत हुनुपर्ने ठहर गरेको छ।

सबैभन्दा धेरै कामदार ज्याला शीर्षकमा १३ लाख एक हजार ६९० रुपैयाँ खर्च देखाइएकोमा हाजिरी र भरपाइ अनुसार आठ लाख २५ हजार ३५० रुपैयाँ खर्च भएको देखिएको छ। 

भवन निर्माणमा आएको बजेट मध्य निजी स्रोतका शिक्षकलाई रु. एक लाख ३३ हजार ५०० तलब दिएको देखाइए पनि छानबिनका क्रममा रु. ४३ हजार ५०० मात्र भुक्तानी दिएको भेटिएको छ।

समितिले विभिन्न शीर्षकमा भएका खर्चको रकम र बिल भरपाइको रकम फरक परेको उल्लेख गरेको छ। 

कामदार ज्यालामा चार लाख ७६ हजार ३४० रुपैयाँ र शिक्षक तलबमा ९० हजार रुपैयाँ वास्तविकभन्दा बढी खर्च देखाइएको छानबिन समितिले जनाएको छ।

यसैगरी बेनी बचत तथा ऋण सहकारी संस्थामा रहेको मुद्दती निक्षेप खाताको पाँच लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडबाट एक लाख पचास हजार रुपैयाँ भवन निर्माणार्थ सापटी स्वरुप प्रयोग गरे पनि हालसम्म फिर्ता नगरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। 

हरिनारायण जिसीको अध्यक्षतामा रहेको तत्कालीन विद्यालय व्यवस्थापन समितिले भवन बनाउन बुद्धबिर दर्जीको संयोजकत्वमा निर्माण समिति बनाएको थियो।

तत्कालीन प्रअ श्रेष्ठले शिक्षा कार्यालयबाट आएको अनुदानले भवन मात्र बनाउन मिल्ने भएकाले जग्गा व्यवस्थापन गर्दा बढी खर्च लागेको बताए।

भिरालो पाखोमा भएको भवन निर्माण स्थलमा मापदण्ड अनुसार जग्गाको चौडाइ नपुगेपछि पछाडी दुई मिटर पाखो काटिएको र अगाडि भुइँदेखि नै पर्खाल बनाएर दुई मिटर चौडाइ बढाउँदा अनुमान गरेभन्दा बढी खर्च भएको हो’, उनले भने, ‘सम्झौता अनुसार कुल लागतको २५ प्रतिशत जुटाउनुपर्ने जनश्रमदान वापतको खर्च पनि विद्यालयकै आन्तरिक स्रोतबाट ब्यहोर्नुपर्‍यो।

संघीयता कार्यान्वयनसँगै शिक्षा कार्यालयबाट भुक्तानी पाउन ढिलाइ भएपछि बेनी बचत र नेपाल बैंकको खाताको पैसा सापटी स्वरुप झिकेर मजदुरलाई ज्याला र सामान बिक्रेतालाई भुक्तानी दिएका हौं।’ 

भवन निर्माणमा काम गरेका ४२ जना मजदुरहरुले हालसम्म ८७ हजार चार सय रुपैयाँ ज्याला नपाएको छानविन समितिले जनाएको छ।

सबैभन्दा बढी कृष्ण जिसी र उनकी श्रीमति बुद्धीसरा जिसीले ६० हजार रुपैयाँ ज्याला पाउन बाँकी देखिएको छ। ज्याला नपाउँदा घर ब्यवहार चलाउन समस्या भएको बुद्धीसराले गुनासो गरे। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभसागर शर्माले गत शनिबारको भेलाले तत्कालीन विद्यालय प्रशासन, व्यवस्थापन र भवन निर्माण समितिलाई यही मंसिर १८ गतेसम्म हिसाब मिलान गर्न समय दिएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here