वर्षाले फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर फोहोर ननिकाल्न महानगरको अनुरोध
काठमाडौं : काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै फोहोर ढुवानी गर्ने सडक र ल्यान्डफिल साइटमा माथिबाट लेदो तथा माटो खसिरहेको हुँदा फोहोर ढुवानी तथा विसर्जन कार्यमा असहजता उत्पन्न भएको जनाएको हो।
महानगरले केही समयका लागि फोहोर संकलन तथा ढुवानी कार्य प्रभावित हुन सक्ने भएकाले महानगरवासी,घरधनी,व्यवसायी तथा सम्बन्धित सबैलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ।
महानगरका अनुसार फोहोर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म फोहोर सुरक्षित रूपमा आफ्नै घर तथा परिसरभित्र राख्नुपर्नेछ। घर,पसल,व्यवसाय तथा कम्पाउन्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा अन्य खुला स्थानमा नफाल्न महानगरले आग्रह गरेको छ।
त्यस्तै,सड्ने र नसड्ने फोहोर छुट्याई सुरक्षित रूपमा व्यवस्थापन गर्न तथा सडक र सार्वजनिक स्थानमा फोहोर नफाल्न महानगरले अनुरोध गरेको छ।
सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले आग्रह गरेको छ।






प्रतिक्रिया दिनुहोस्