वन बचाउने संघर्षमा हात चुँडियो, परिवार टुट्यो

वन तस्करलाई रोक्न गएकी नन्दादेवीमाथि सांघातिक हमला भयो । उनको दायाँ हात चुँडियो ।
९ फागुन, काठमाडौं । उनलाई आफ्नो जीवन बालखैमा कसैले सुनाइदिएको कथाजस्तो लाग्छ, संघर्ष अनि दुःखले भरिएको । त्यो कथा, जहाँ कहीँ–कतैबाट चोइटिएर आएका साना–साना खुसीका झिल्का छन् । तर त्योभन्दा बढी छन्– बिस्मातका शक्तिशाली बज्रपात !




धनगढीको गोदावरी नगरपालिका–३ की नन्दादेवी कुँवर अहिले ५२ वर्ष पुगिन् । यो उमेरमा उनी आफ्नो परिवारको छत्रछायामा सुखमय समय बिताइरहेको भेटिनुपर्ने हो । तर ठिक उल्टो, नन्दादेवी सधैं आफ्नो भाग्यलाई दुत्कार्छिन् अनि नजिकै रहेको सामुदायिक वनमा जान्छिन् ।
वनमा नन्दादेवी रुखवृक्षसँग बात मार्छिन्, सुकी झरेका पातपतिंगरसँग साउती गर्छिन् । अनि चराचुरुंगीका चिरबिर संगीतसँग पीडा भरिएको हृदयलाई शान्त बनाउँछिन् ।
तिनै वनजंगल, रुख–बिरुवासँग त हो, उनी बालखैदेखि अनन्त प्रेममा परेको पनि ।
‘अहिले पनि एक/दुई दिनमा गइरहन्छु । वनको स्याहारसुसार गर्छु, आफैंले रोपेका रुख–बिरुवा हेर्छु अनि सुम्सुम्याएर फर्किन्छु,’ नन्दादेवी भन्छिन्, ‘रुख–बिरुवासँगको प्रेम अझै छ । त्यहाँ नगई चित्तै बुझ्दैन !’
वनजंगलको असीमित प्रेममा रहेकी नन्दाको विगत भने पीडामय छ । त्यही सामुदायिक वन जोगाउन उनले तस्करसँग लडिन्, हात गुमाइन् र कालान्तरमा परिवारिक सम्बन्ध पनि ।
****
२०६७/६८ को सेरोफेरो ।
स्थानीय मधुमालती सामुदायिक वन (प्रस्तावित)की अध्यक्ष थिइन्, नन्दादेवी । वन सामुदायिक वनमा दर्ता भइसकेको थिएन । तर संरक्षणका काम भने अगाडि बढाइसकेको थियो ।
बस्ती विकासका नाममा वनजंगल मास्ने काम दिन दुई गुणा रात चौगुणाले बढिरहेको थियो । सामुदायिक वन बनाउने भन्दै स्थानीय (तत्कालीन अत्तरिया नगरपालिका–२ का बासिन्दा) ले जंगल फडानी रोक्न विभिन्न अभियान चलाइरहेका थिए । तर तस्कर पक्ष यति बलिया थिए कि उनीहरु पनि झुक्ने पक्षमा थिएनन् ।
नन्दादेवी पनि प्रस्तावित सामुदायिक वन समिति सदस्य थिइन् । वन फडानी गर्ने पक्षबाट डर–धम्की आउन थालेपछि माथिल्ला तहका समितिका पदाधिकारीले धमाधाम जिम्मेवारी छोड्दै गइरहेका थिए ।
धेरैले ज्यानको सुरक्षाको कारण देखाउँदै जिम्मेवारी छोड्न थालेपछि सबैले मिलेर नन्दादेवीलाई अध्यक्ष बनाए । लामो समयदेखि बिनादर्ता चलिरहेको मधुमालती वनलाई सामुदायिक वनमा दर्ता गर्ने र काठ–दाउरा तस्करबाट बचाउने उनीमाथि चुनौती थियो । उनले स्वीकारिन् ।
‘वन दर्ता भएकै थिएन, दर्ता नहुँदा वन अतिक्रमण एकदमै बढेको थियो । माथिबाट सबैले जमिन बनाउन वनलाई च्याप्दै ल्याइराखेका थिए’, नन्दादेवीले भनिन्, ‘वनलाई अतिक्रमणबाट जोगाउन गाउँले मिलेर काँडेतार लगाउन लाग्यौं ।’
****
नन्दादेवी सामुदायिक वनको अध्यक्ष भएको करिब ३ वर्ष हुन लागेको थियो । त्यो समयमा वन दर्ताको प्रक्रिया अगाडि बढिरहेको थियो भने वनजंगल अतिक्रमणकारीसँगको नोकझोंक पनि त्यस्तै अवस्थामा थियो ।
वन जोगाउने क्रममा सांघातिक आक्रमणमा परेकी नन्दाको नामबाटै पछि सामुदायिक वनको नामकरण गरियो । सुरुमा ‘मधुमालती’का रुपमा प्रस्तावित उक्त वन पछि ‘नन्दा महिला सामुदायिक वन’का रुपमा दर्ता भयो ।
‘अतिक्रमणले वन पूरै मासिन थालिसकेको थियो । गाउँ–समाजबाट सबैले यसलाई संरक्षण गर्नुपर्छ भन्नुभयो । त्योभन्दा अगाडि पनि म समितिमै थिएँ । धेरैले डरले नै छोड्नुभएको थियो । पछि म अध्यक्ष भइसकेपछि राम्रो काम गर्नका लागि अघि किन नबढ्ने भन्ने भयो,’ नन्दादेवीले भनिन्, ‘काट्ने–मार्ने धम्की त धेरै आएका थिए । ठिकै छ, सामुदायिक वनका लागि ज्यान जान्छ भने जाओस् भन्ने लागेर नडराई लागें ।’
२०६९ वैशाख ९ गतेको त्यो बिहान ।
सामुदायिक वनमा छिरेर तत्कालीन अत्तरिया नगरपालिका–६ बाट वनतस्करले बिहानै रुख–बिरुवा काटिरहेको भन्ने सूचना आयो । नन्दादेवी आफ्नो टोली लिएर रोक्न पुगिन् । विवाद बढ्दै गएपछि उनीमाथि सांघातिक हमला भयो । उनको दायाँ हात चुँडियो भने बायाँ हातमा गहिरो चोट लाग्यो । चुँडिएको हात उपचारपछि जोडियो ।
‘सामुदायिक वन जोगाउन लड्दालड्दै मैले हात गुमाएँ । चुँडिएको दायाँ हात उपचार गरी जोडिए पनि कमजोर भयो । बायाँ हातले पनि राम्रो काम गर्दैन’, नन्दादेवीले भनिन्, ‘सामानहरु केही उठाउन सक्दिनँ । धेरै लुगा धुन पनि मिल्दैन, अरु सहयोगी चाहिन्छ । नक्कली हातले नुहाउनसम्म मिल्छ ।’
पछि उनै नन्दाको नामबाटै पछि सामुदायिक वनको नामकरण गरियो । पहिले ‘मधुमालती’का रुपमा प्रस्तावित रहेको उक्त वन पछि २०६९ सालमै ‘नन्दा महिला सामुदायिक वन’का रुपमा दर्ता भयो । ‘त्यो वनको संरक्षण मैले धेरै काम गरेको भनेर सरकार, वन महासंघ, समितिका सदस्यहरुले मैरै नाम पनि राखिदिनुभयो,’ उनले भनिन् । वन १७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
नन्दाको नामबाट सुनाखरीको नामकरण
सामुदायिक वन दर्ता भइसकेपछि पनि नन्दाले सुख पाइनन् । वनजंगल तस्करहरुले उनीमाथि निरन्तर धम्की दिइनै रहे । ‘त्यो बेला वनका कर्मचारीहरुले त मलाई धेरै सहयोग र माया गरेका हुन् । मेरो ज्यानलाई नै जोखिम हुन थालेपछि उहाँहरुले नै अब छोड्नूस्, ज्यान बचाउनूस् भनेर सम्झाउनु भयो,’ उनले भनिन्, ‘अनि मैले सामुदायिक वनको जिम्मेवारी छोडें ।’ उनले २०७३/७४ देखि सामुदायिक वन समितिको जिम्मेवारी पूर्ण रुपमा छोडेको बताइन् ।
वन संरक्षणमा अतुलनीय योगदान गरेको भन्दै नन्दाकै नाममा सुनाखरीको एक प्रजातिको नामकरणसमेत गरिएको छ । २०७३ सालमा उनकै नाममा वनस्पतिविद्हरुको सिफारिसमा सरकारले सुनाखरीको एक दुर्लभ प्रजातिलाई ‘ओडान्चिलास नन्देयी’ नाम दिएको छ ।
विश्व बैंकले सन् २०१८ मा सञ्चालन गरेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा पनि नन्दादेवीलाई उत्कृष्ट १६ नायकका रुपमा छनोट पनि गरेको थियो । यसबाहेक उनले सेलिब्रिटी वुमनहुड नरदेवी सम्मान, विश्व वन्यजन्तु कोषबाट विशेष संरक्षण पदकलगायत दर्जनौं पुरस्कार पाएकी छन् ।
‘सोचेझैं जिन्दगी रै’न्छ’
डोटीबाट १३ वर्षको उमेरमै बिहे गरेर अछाम पुगेकी नन्दादेवीले आफूलाई सानैदेखि रुख–बिरुवाको माया लाग्ने बताइन् । ‘अहिलेदेखि होइन, बचपनदेखि नै मेरो रुख–बिरुवा र वनसँग खुब माया थियो । अहिले पनि धेरै त वनमा गएपछि नै रमाउँछु,’ उनी भन्छिन्, ‘कसैले हाँगाबिँगा काटेको देखे आफ्नै हात काटेजस्तो लाग्छ । बुटासँग एकदमै प्रेम छ ।’
पछि बसाइँ सरेर धनगढी आइसकेपछि पनि घर नजिकैको वनबाट आफूलाई टाढा राख्न सकिनन् । श्रीमान् परिवारको गर्जो टार्न कालापार (भारत) हिँडे । उनले यता ४ सन्तान हुर्काउँदै वनजंगलकै संरक्षणमा लागिन् । २ छोरा र २ छोरीमध्ये एउटी छोरीलाई पक्षघात भएको उनले सुनाइन् ।

जसोतसो नन्दादेवीको जीवनरेखा कहीँ सिधा, कहीँ बाँगो चलिरहेकै थियो । तर २०६९ सालमा तस्करबाट सांघातिक हमलामा परेपछि भने उनको पारिवारिक सम्बन्धमा विग्रह आउन थाल्यो । नन्दाले पछि सामुदायिक वन समितिको जिम्मेवारी त छाडिन् । तर श्रीमानसँग सम्बन्ध सुधार हुन सकेन ।
‘हात काटिएपछि काम गर्न नसक्ने गरी कमजोर भएँ । त्यही कारण घरमा कुरा मिल्न छाड्यो । बस्नै नसक्ने भएपछि पोहोर साल श्रीमान्सँग हाम्रो डिभोर्स भयो,’ नन्दादेवी दुखेसो पोख्छिन्, ‘अहिले गाउँ समाज, घर सबैबाट अवेहलना भएर रोडमा पुगेको छु भन्दा पनि हुन्छ । विचल्ली छ मेरो । काम गर्न नसकेपछि सबैले हेप्दा रहेछन्, नराम्रो गर्दा रहेछन् ।’
बिहे गरेर गइसकेकी छोरीको भरमा बाँचिरहेको बताउने नन्दादेवीले छोराहरुसँग पनि राम्रो सम्बन्ध नभएको बताइन् । ‘म सद्दे भएको भए, सम्पत्ति भएको भए हेर्थे होलान्, आमा भन्ने थिए होलान्, मसँग केही नभएपछि कोही भएनन् । मम्मी आफैं बेघरजस्तो छ, के मम्मी भन्दा हुन् ?,’ उनी भन्छिन् ।
आफ्नो नाममा सरकारले फूलको नाम नै राखिदिएको पनि नन्दादेवीलाई थाहा छ । उनीसँग थुप्रै पुरस्कार र सम्मानपत्र थुप्रिएका छन् । तर अहिले नामले मात्रै आफ्नो दैनिकी गुजार्न नपुगेको उनले दुखेसो पोखिन् । जीवनको उत्तरार्द्धमा पनि सुखमय समय बिताउन नपाएको उनी सुनाउँछिन् ।
‘नामैले मात्र के गर्ने र ? बरु मै मरी गएको भए पनि ठिकै हुन्थ्यो । सरकारले पनि केही दिनुपर्ने थिएन । अहिले त एउटा जिउँदो शहीद जस्तो भएको छु । नाम गरेर, पुरस्कार गरेर मेरो आफ्नो गुजारा नै नहुने भयो,’ नन्दादेवी सुस्केरा हाल्छिन्, ‘पेट पाल्नका लागि अलिअलि केही त चाहियो नि ? त्यो नाम र पुरस्कारले पेट नअघाउँदो रहेछ ।’
ती रुखबिरुवा जोगाउँदा-जोगाउँदै नन्दादेवीको आफ्नै जीवन भने असरल्ल बन्दै गयो । हात र साथ दुवै छुटे पनि ती रुखबिरुवासँग उनको रत्तिभर गुनासो छैन । ‘जिन्दगी केही रै’न्छ भन्ने लाग्छ । अहिले एक्लोपन आउँछ, त्यतिबेला वनमा जान्छु, रुख–बिरुवा हेरेर चित्त बुझाउँछु । पीडा त भोग्नेलाई मात्रै थाहा हुन्छ नि होइन र ? यिनीहरुको के दोष छ र ?’ उनी भन्छिन्, ‘दोष त जनजंगल मास्नेको हो नि !
प्रतिक्रिया दिनुहोस्