रेस्टुरेन्टमा योजना बनाएर प्रहरीको नक्कली परीक्षार्थी बनेका थिए अस्कलका स्ववियु सचिव

बयानका क्रममा भने- असई हुँ भन्दै फसाउने धम्की आएपछि तयार भएँ
पटक–पटक पक्राउ पर्दै मुद्दा चलेका शाही पछिल्लो पटक गत २४ माघमा ठमेलमा ड्युटीको प्रहरी कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ र उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ।
- प्रहरी अनुसन्धानले परीक्षा दिन नमान्नेहरूलाई धम्की दिने र रकम लिने जस्ता अपराधहरू पनि पुष्टि गरेको छ।
- अस्कल क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जना आरोपीहरूलाई अदालतले बयान र थुनछेक बहसको लागि समक्ष उपस्थित गराएको छ।
३१ वैशाख, काठमाडौं । नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेका अमृत साइन्स क्याम्पस (अस्कल)का स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरले गरेको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
शाहीसहित १४ जनाविरुद्ध लोकसेवा ऐन र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।
मुद्दा दायर हुनेहरूमा लैनचौरमा रहेको अस्कल क्याम्पसका स्ववियु सचिव शाहीसहित सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका–१ का २० वर्षीय उमेश कुमार झा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २२ वर्षीय आकाश खड्का भनिने तिलक खड्का, जुम्लाको तिला गाउँपालिका–३ का २२ वर्षीय मुनबहादुर रावत, सुर्खेतको लेकबेशी नगरपालिका–५ का २२ वर्षीय मनोज शर्मा भनिने मनोज बाबु शर्मा, दोलखाको जिरी नगरपालिका–९ का २३ वर्षीय मोहन सुनुवार छन् ।
उनीहरूलाई ६ वैशाखमा प्रहरीले मध्य बानेश्वरस्थित रत्न राज्य क्याम्पसबाट पक्राउ गरेको थियो । त्यसबाहेकका आठ जनालाई भने फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।
फरार प्रतिवादीहरूमा सुर्खेतका २४ वर्षीय चित्रबहादुर बाठा, दैलेखको गुरास गाउँपालिका–८ का २० वर्षीय रविकिरण केसी, दैलेखकै भगवतीमाई गाउँपालिका–६ का २२ वर्षीय रमेश खड्का, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–४ का २० वर्षीय नवीन कुमार मल्ल, दैलेखकै गुरास गाउँपालिका–४ का १९ वर्षीय भुवन मल्ल, जुम्लाको तिला गाउँपालिका–३ का २३ वर्षीय वसन्त रावत, दैलेखकै २८ वर्षीय नारायण शाही भनिने नारायण कुमार तिरुवा र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का २८ वर्षीय सागर शर्मा छन् ।

प्रतिवादीहरूको काठमाडौंको जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्नेमध्येको एक आदेश आउने छ ।
अनुसन्धानका क्रममा स्ववियु सचिव शाहीले चित्रबहादुर बाठाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिएको खुलेको छ । उनले के कति रकम लिएर परीक्षा दिए भन्ने विषय भने खुलेको छैन ।
चित्रबहादुर बाठा फरार रहेकाले यो विषय खुल्न नसकेको प्रहरीको भनाइ छ । स्ववियु सचिव शाहीले प्रकाश शाहीमार्फत चिनजान भएका नारायण शाही भनिने नारायण कुमार तिरुवामार्फत आफूले बाठाको परीक्षा दिएको बयानका क्रममा बताएका छन् ।
तिरुवाले आफू प्रहरीको असई भएको, सबै विषय मिलाइसकेको र कुनै समस्या नपर्ने बताएपछि आफू परीक्षामा सहभागी भएको शाहीले बयानका क्रममा बताएका हुन् ।
परीक्षा नदिए विभिन्न मुद्दामा फसाउने धम्कीसमेत आफूलाई दिएपछि परीक्षा दिन तयार भएको शाहीले बताएका छन् ।
त्यसैगरी नवीन कुमार मल्लको नामबाट उमेश शर्माले परीक्षा दिएको पाइएको छ । रमेश खड्काको नामबाट तिलक खड्काले, बसन्त रावतको नामबाट मुनबहादुर रावतले परीक्षा दिएको खुलेको छ ।
रवीकिरण केसीको नामबाट मनोज शर्माले र भुवन मल्लको नामबाट मोहन सुनुवारले परीक्षा दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रेस्टुरेन्टमा बसेर यसरी बन्यो योजना
नक्कली परीक्षार्थी बनेर परीक्षा दिने विषयबाट काठमाडौं महानरपालिका–१६ मा रहेको चोपिला रेस्टुरेन्टमा योजना बनाएको खुलेको छ । यो रेस्टुरेन्टमा बसेर उनीहरूले योजना बनाउने कामदेखि प्रवेशपत्रमा अर्कैको फोटो टाँस गर्ने कामसम्म गरेका थिए ।
यो नक्कली परीक्षार्थी प्रकरणको मुख्य नाइके भने नारायण शाही भनिने नारायण कुमार तिरुवा र सागर शर्मा रहेको प्रहरीको भनाइ छ । उनीहरूले नै परीक्षा दिने नक्कली मान्छे खोज्ने र बार्गेनिङ गरेर मिलाउने गरेको पाइएको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।
केही परीक्षा दिन नमान्नेहरूलाई भने धम्की समेत दिएको अनुसन्धानबाट खुलेको छ । एक, डेढ लाख रकम खर्च भइसकेको भन्दै उक्त रकमसमेत मुख्य गिरोहले मागेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका अन्यले पनि बयानका क्रममा तिरुवाले आफू प्रहरीको असई भन्दै धम्की दिने गरेको बताएका छन् ।
चोपिला रेस्टुरेन्टका सुनिल पोखरेलले समेत पक्राउ परेकामध्ये केही व्यक्तिहरू आफ्नो रेस्टुरेन्टमा आएको भन्दै प्रहरीसमक्ष कागज गरिदिएका छन् । ‘उहाँहरू लगातार तीन दिन मैले काम गरेको क्याफेमा आएर खाजा खाने गरेका थिए । टेबलमा टेबलमा कागजपत्र हुने गर्थे,’ पोखरेलले गरेको कागजमा उल्लेख छ, ‘उनीहरूले के विषयका ती कागजपत्रहरू टेबलमा राखेर काम गरेका हुन् त्यो थाहा भएन ।’
नक्कली परीक्षार्थी बनेको अस्कलका स्ववियु सचिव शाही यसअघि पनि पटक–पटक पक्राउ पर्दै मुद्दा चलेका व्यक्ति हुन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध उनी गत २४ माघमा ठमेलमा ड्युटीको प्रहरी कुटपिटपछि पक्राउ परेका थिए ।

शाहीसहितको समूहले ड्युटीमा खटिएको प्रहरीलाई मध्यराति कुटपिट गरेको थियो । यो प्रकरणमा उनी १० हजार धरौटीमा रिहा भएका थिए । त्यसपछि स्ववियु सचिवको उम्मेदवार बनेको उनी निर्वाचित भएका थिए ।
शाहीविरुद्ध यसअघि २०७९ मा ज्यान मार्ने उद्योग, २०८० मा पनि ज्यान मार्ने उद्योग र २०८१ मा अभद्र व्यवहारको मुद्दा चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्