रेशमलाई जेल पठाउन वैशाख १६ गतेदेखि नै महिमानको चलखेल

‘अन्तरमनको निर्णय’ ले कति वर्षको सजाय हुनसक्छ ?
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेख्ने महिमान सिंह विष्ट अहिले हिरासतमा छन् । उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनेपछि रेशमलाई पक्राउने विष्ट आफैँ पक्राउ परेका थिए ।




वैशाख १७ मा पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ सँग सम्बन्धित कसुरमा अनुसन्धान थालेको छ ।
मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ अनुसार अदालतको फैसला र आदेश किर्ते गर्न मिल्दैन । सो कसुर गर्नेलाई ८ वर्ष कैद र ८० हजार जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।
अनुसन्धान अधिकृतहरूले विष्टसँग पत्र लेख्नुको कारणबारे सोधपुछ गरिरहेका छन् । आफ्नै अन्तरमनको निर्णयको आधारमा पत्र लेखेर रेशमलाई पक्राउ गर्न पहलकदमी लिएको बताउने कुँवरले भनेका छन्, ‘टिकपुरमा भएको अन्याय सहनै सकिनँ ।’
२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपाने र इन्स्पेक्टर केशव बोहरासहित ८ जना सुरक्षाकर्मी र नाबालक टेकबहादुर साउदको हत्या भएको थियो । छुरा र भाला रोपेर हत्या गरिएको घटनाले आफूलाई ‘भतभती पोलेको’ उनले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

भाला र छुरा रोपेर मारिएको घटनामा अदालतले ११ जनालाई दोषी ठहर गरेर रेशमलाई जन्मकैदको फैसला सुनाएको थियो । २०८० जेठ १४ मा राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफी दिने निर्णय गरेका थिए । विष्टले आफ्नो पत्रमा राष्ट्रपतिको निर्णयलाई ‘अपराधलाई राजनीतिकरण’ गरेको उल्लेख गरेका छन् । त्यसबारे अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘त्यस्तो पाशविक हत्यामा कैदमाफी दिनै मिल्दैन ।’
टीकापुर घटनामा संलग्न रेशम चौधरी छुटेपछि आफूलाई छटपटी भएको विष्टले जिकिर गरेका छन् । वैशाख १९ मा काठमाडौँ जिल्ला अदालतले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नाउपा र जनमत पार्टीबिच वैशाख १७ मा एकता हुँदै थियो । विष्ट उनलाई पक्राउ गर्न वैशाख १६ देखि नै चलखेलमा लागे ।
विष्ट सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा कार्यरत छन् । उनका छोरा पनि सर्वोच्च अदालतका अधिकृत हुन् । विष्ट यसअघि पनि पटक पटक ‘विवाद’मा मुछिएका अधिकृत हुन् ।
करिब साढे २ वर्षमा अवकाश हुन लागेका विष्टले आफूले सोचविचार गरेर नै रेशमलाई थुनामा राख्न खोजेको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘औपचारिक बयान अब लिन्छौँ तर, सोधपुछको क्रममा उनले मृतकहरूको आत्माको शान्तिका लागि सो कदम चालेको बताएका छन् ।’
- पार्टी एकताको अघिल्लो दिनदेखि ‘चलखेल’
नाउपा र जनमत पार्टीबिच वैशाख १७ मा एकता हुँदै थियो । विष्ट उनलाई पक्राउ गर्न वैशाख १६ देखि नै चलखेलमा लागे । वैशाख १६ मा नै उनले प्रहरीका एकजना उच्च अधिकृतलाई भेटेर भनेका थिए,‘सर्वोच्चले महत्त्वपूर्ण निर्णय गरेर मलाई कार्यान्वयनको जिम्मेवारी दिएको छ ।’ त्यसपछि, ती अधिकृतले उनलाई पत्र ल्याउन भने ।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एकता घोषणा सभामा रेशम चौधरी आउँदै थिए । त्यसदिन बिहानै सर्वोच्चमा पुगेर पत्र तयार गरेर उनी डिल्लीबजार कारागार र त्यसपछि प्रहरी प्रधान कार्यालयमा पुगेका थिए । प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्कीको टोली बोलाएर विष्टलाई साथमै लगेर ‘उहाँले भनेको मानिस पक्राउ गर्नु’ भन्ने आदेश गरेको थियो । त्यसपछि विष्टले दिएको मोबाइल नम्बर ‘ट्रयाक’ गर्दा पक्राउ गर्नुपर्ने व्यक्ति रेशम चौधरी रहेको अनुसन्धान अधिकृतहरूले थाहा पाए ।
प्रह्लाद कार्कीले एउटा टोली रेशम बस्ने घरमा पठाए । अर्को टिम प्रज्ञा भवनमा खटिए । रेशम चौधरीलाई गेटबाट प्रवेश गर्न लाग्दा पक्राउ गर्ने तयारीमा थिए प्रहरी । तर, कालो सिसा भएको गाडी चढेर रेशम भित्र पुगे । प्रहरीको मुभमेन्ट थाहा पाएका रेशम प्रज्ञा भवनभित्र कपडा परिवर्तन गरेर फरक गाडीमा निस्किए । प्रज्ञा भवनको गेटबाट निस्केर गणेश मन्दिर पुगेपछि प्रहरीले उनलाई घेरा हालेर भने,‘तपाईंविरुद्ध सर्वोच्चबाट पक्राउ पुर्जी जारी भएको छ हामीसँग हिँड्नुस् ।’
त्यसपछि प्रहरीले उनलाई सिधै डिल्लीबजार लगे । महिमानसिंह विष्ट प्रहरीभन्दा केही मिनेटअघि पत्र लिएर त्यहाँ पुगेका थिए । रेशमलाई कारागार प्रशासनको जिम्मा लगाएर उनी सर्वोच्चमा फर्किए ।
विष्टले हस्ताक्षर गरेको पत्रका कारण नेपाली राजनीति तरंगित बन्यो । करिब ५ घण्टा डिल्लीबजारमा बसेर रिहा भएपछि रेशमले गीतको भाकामा भने, ‘सामन्तीको नाइके हुँदैन, म त परेँ माकुरी जालैमा ।’
प्रतिक्रिया दिनुहोस्