राैतहटमा अवैध हतियारसहित एक युवक पक्राउ

श्रीकान्त यादव

मंसिर ०६, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ देउराली चोकबाट सशस्त्र प्रहरीले अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। शनिबार दिउँसो करिब ३ः३० बजेतिर विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा मकवानपुर हेटौडा–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई नियन्त्रणमा लिइएको हो।

frontline

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाअनुसार सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुरबाट सप्रनाउ राजेन्द्रबहादुर बस्नेतको नेतृत्वमा खटिएको १० जनाको टोलीले आचार्यलाई शंका लागेर रोकजाँच गरेको थियो। जाँचका क्रममा उनको झोलाबाट दुईवटा पेस्तोल, गोलाबारुदसहित विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीमा ९ मि.मि. ब्राउनिङ पेस्तोल (CF-98-9) सिरीयल नं. 000169 08236 सहित म्याग्जिन १ थान, ब्रेटा गारडोनेट भिटी (इटालीमा बनेको) सिरीयल नं. PX 355230 म्याग्जिन १ थान, १३ राउण्ड गोली (पिन्धिमा 31123 अंकित), ओपो मोबाइल १ थान, खुकुरी १ थान, ग्लोबल आईएमई बैंकको भिसा एटीएम कार्ड १ थान, लाइसेन्स रसीद १ थान र झोला १ थान रहेको सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिए।

पक्राउ परेका आचार्यलाई बरामद सामग्रीसहित सुरक्षा बेस सन्तपुरमा राखिएको छ र उनलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान नेपाल प्रहरीले अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here