राष्ट्रिय जनसमृद्धि पार्टी नेपालको गठन तयारी अन्तिम चरणमा, ‘समृद्ध जनता, समृद्ध राष्ट्र’ मुख्य नारा
ललितपुर : देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाप्रति चिन्ता जनाउँदै नयाँ राजनीतिक शक्ति ‘राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल’ गठनको अन्तिम तयारीमा पुगेको छ। पार्टीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा देशभक्त नागरिकहरूको साझा संकल्पका साथ नयाँ राजनीतिक विकल्पको सुरुवात हुन लागेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल आज गम्भीर राजनीतिक र आर्थिक संक्रमणको अवस्थामा छ। जनताको विश्वास घट्दो क्रममा छ, युवाहरू विदेशिन बाध्य छन्, र भ्रष्टाचार, बेरोजगारी तथा विभाजनकारी राजनीति देशको प्रगतिका मुख्य अवरोध बनेका छन्।”
पार्टीले आफ्नो मुख्य नारा “समृद्ध जनता, समृद्ध राष्ट्र” तय गरेको छ। विज्ञप्तिमा उल्लेख गरिएको छ — जब जनता आत्मनिर्भर, सक्षम र सचेत हुन्छन्, तब राष्ट्र स्वाभिमानी र समृद्ध बन्नेछ।
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल कुनै व्यक्ति केन्द्रित संगठन नभई जनताको अभियान भएको पार्टीको दाबी छ। पार्टीले देशप्रेम, पारदर्शिता र जिम्मेवार नेतृत्वका माध्यमबाट नयाँ नेपालको मार्गचित्र कोरिने बताएको छ।
विज्ञप्तिमा थप भनिएको छ, “हाम्रो नीति राष्ट्रको समृद्धि, सामाजिक न्याय, सुशासन र युवाशक्तिको सशक्तिकरणमा केन्द्रित हुनेछ।” पार्टीले सम्पूर्ण देशभक्त नेपालीहरूलाई एकजुट भई समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन आह्वान गरेको छ।
पार्टीले देशभरका सचेत नागरिकहरूलाई निराशा होइन, विश्वास जगाउने र दोष होइन, योगदान दिने मनोवृत्तिबाट अघि बढ्न आग्रह गरेको छ।
विज्ञप्तिको अन्त्यमा, “अब समय आएको छ, एकता, आत्मनिर्भरता र समृद्धिको मार्गमा अघि बढ्ने,” भन्दै जय नेपाल र जय समृद्ध राष्ट्रको नारा दिइएको छ।






प्रतिक्रिया दिनुहोस्