राजमार्ग अवरोधबीच भित्रिँदै खसीबोका, मूल्य बढ्ने चिन्तामा उपभोक्ता
काठमाडौं : दसैं नजिकिएसँगै काठमाडौं उपत्यकामा खसीबोकाको माग बढ्न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यकाबाहिरका जिल्लाबाट खसीबोका भित्रिने क्रम जारी रहे पनि बाढीपहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाइ थपेको छ। गाडीमा ढिलो हुने, ढुवानी खर्च बढ्ने र बाटोमै खसीबोका मर्ने जोखिमले व्यवसायी चिन्तित छन्। आपूर्ति र ढुवानीको अवस्था सहज नभए दसैंसम्म खसीको मूल्य थप बढ्न सक्ने उनीहरूको आकलन छ।
नेपाल व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार काठमाडौं उपत्यकामा वार्षिक ५५ हजारदेखि ६० हजारसम्म खसीको माग हुन्छ। यस वर्ष भने ४० हजारदेखि ४५ हजारसम्म मात्रै खसी भित्रिने उनको अनुमान छ। हाल जिउँदो खसीको मूल्य प्रतिकिलो ९ सय रुपैयाँ पुगिसकेको छ। दसैंसम्ममा यो मूल्य एक हजार रुपैयाँ नाघ्न सक्ने उनको आकलन छ।
अध्यक्ष सुवेदीका अनुसार गाउँका किसानले खसी बिक्री गर्दा साढे ६ सय रुपैयाँभन्दा बढी मूल्य नपाउने तर, बजारमा भने उपभोक्ताले धेरै महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ। ‘किसानले गाउँमा खसी ६–७ सयमा बेच्नु परिरहेको छ, तर यहाँ बजारमा जिउँदो खसीको मूल्य नौ सय पुगिसक्यो,’ उनले भने, ‘हामीले गाउँ–गाउँबाट उत्पादन गरेर व्यापारीलाई बेच्छौं तर विभिन्न कानुनी झन्झट, प्रहरीको अनावश्यक सास्ती र व्यापारी तथा साहुहरूले मिलेमतो गर्दा किसानले बजारको उचित मूल्य पाउन सकेका छैनन्।’






प्रतिक्रिया दिनुहोस्