युद्धविरामलगत्तै अमेरिकासँग भारतको दुखेसो

भारत र पाकिस्तानबीच झण्डै पौने शताब्दीदेखिको तिक्तता काश्मिर क्षेत्रको स्वामित्वलाई लिएर भइरहेको छ । दुई मुलुकबीच हालसम्म भएका झण्डै आधा दर्जन साना ठूला युद्ध अधिकांश सोही क्षेत्रमा र सोही विषयसँग सम्बन्धित देखिन्छ ।
पछिल्लो आक्रमण र प्रत्याक्रमणको चुरो पनि काश्मिर नै हो । भारत नियन्त्रित र पाकिस्तान नियन्त्रित काश्मिर भाग लागे पनि कतिपय क्षेत्रमा विवाद कायम छ । दुबै मुलुकको काश्मिरमा विशेषगरी इस्लाम धर्मावलम्बीहरुको अधिक बसोबास छ । भारतले पाकिस्तानमाथि आतंकवादीलाई सहयोग गर्दै आएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले भारतमाथि सबै षड्यन्त्र आफैँले बुन्ने गरेको जवाफ दिने गरेको छ ।




गत अप्रिल २२ मा भारतीय कश्मिरको पहलगाममा भएको आक्रमणमा भारतकै हात रहेको पाकिस्तानी आरोप छ । उसले आफ्नो सीमाबाट सयौं किलोमीटर टाढाको स्थानमा भएको घटनामा पाकिस्तानमाथि आरोप लगाउनु सरासर गलत भएको बताउँदै आएको छ । भारतले आफैँले घटना रचेपछि पाकिस्तानमाथि आधारहीन आरोप लगाएको उसको दाबी छ ।
सोही विषयलाई लिएर भारतले गत साता पाकिस्तानमाथि आक्रमण गर्यो । चार दिनसम्म भएको आक्रमण रप्रत्याक्रमणबाट दुबैतर्फ हताहती भएको छ । पाकिस्तानले भारतीय लडाकू विमान खसालेको छ भने भारतले पाकिस्तानका केही सैन्य केन्द्रमा आक्रमण गरेर क्षति पुर्याएको दाबी छ । आणविक हतियार सम्पन्न मुलुकबीच भएको युद्धले संसारलाई प्रभाव पार्नसक्ने भएपछि साउदी अरेबियाको पहलमा भएको युद्धविरामको सहमतिमा अमेरिकाले आफ्नो हात माथि पारेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले लगत्तै जारी गरेको प्रस्तावलाई भारतले स्वीकार गरेको हो । प्रस्ताव स्वीकार गरिएकोमा दुबै मुलुकका नेताहरुको प्रशंसा गरिएको सन्देशमा उनीहरुको बुद्धिमतापूर्ण निर्णयले दशौं लाख निर्दोष नागरिकको ज्यान जोगिएको उल्लेख छ । उनले दुई मुलुकबीच व्यापारिक सम्बन्ध बढाउन सकिने सम्भावना लेख्दै अब काश्मिर विवादको समाधान पनि निकाल्न सकिने अमेरिकी राष्ट्रपतिको भनाइ छ ।
भारत काश्मिर विवादको विषय विश्वका अन्य मुलुक तथा तिनका नेताको मुखबाट सुन्न पनि चाहँदैन । भारतीय राजनीतिक दल, नेताहरुको भावना विपरित अमेरिकी राष्ट्रपतिले काश्मिर विवाद हल गर्नुपर्ने भन्दै दबिएको विषय उठाइदिएपछि उनीहरु निकै दुःखी भएको विश्लेषण गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्