यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, ५३ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

काठमाडौं । यमनको शाब्वा प्रान्तमा रहेको सुरक्षा बलको तालिम शिविरमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सोमबार भएको आक्रमणमा मृत्यु हुने र घाइते हुने अधिकांश सुरक्षा बलमा भर्ती हुन तालिम लिइरहेका व्यक्ति हुन् ।

साउदी समर्थित यमनी सशस्त्र बलका प्रवक्ताका अनुसार अताक सहरनजिकै रहेको अल–आलम शिविरमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो । उक्त शिविर सुरक्षा बल र प्रहरीमा भर्ती भएकाहरूलाई तालिम दिन प्रयोग हुँदै आएको थियो ।

frontline

शाब्वा प्रान्तको मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा शहीद अहमद अल–सुलेमानी तालिम केन्द्रमा क्षेप्यास्त्र प्रहार भएको उल्लेख छ। प्रारम्भिक मूल्याङ्कनअनुसार आक्रमणमा ५३ जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको जनाइएको छ ।

घाइतेहरूको सङ्ख्या धेरै भएपछि स्थानीय अस्पतालहरूमा चाप बढेको छ। शाब्वाका उपगभर्नर फहाद अल–खलिफीले एएफपी समाचार संस्थालाई बताएअनुसार गम्भीर घाइतेहरूलाई छिमेकी हद्रामौत र सरकार रहेको एडेन सहरका अस्पतालमा सारिएको छ ।

यमनको राष्ट्रपति नेतृत्व परिषद्का प्रमुख रशाद अल–अलिमीले घटनालाई ‘आपराधिक आक्रमण’ भन्दै निन्दा गरेका छन् । उनले आक्रमणको कडा प्रतिक्रिया दिने चेतावनीसमेत दिएका छन् ।

यमनका सूचना मन्त्री मोअम्मर अल–एरियानीले आन्तरिक सुरक्षा बलको तालिम केन्द्र सैन्य लक्ष्य नभएको दाबी गर्दै आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।

यता, हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सरियाले भने अल–आलम शिविरमा रहेका ‘साउदी शत्रु’ सेनालाई लक्षित गरी आक्रमण गरिएको बताएका छन् । उनका अनुसार उक्त केन्द्र साउदी अधिकारीहरूको सञ्चालनमा थियो। यस विषयमा साउदी अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

चर्किँदै यमनको गृहयुद्ध

यमनमा पछिल्ला महिनाहरूमा गृहयुद्ध थप चर्किएको छ । अक्टोबरको सुरुवातमा सरकार समर्थक सेनाले हुथी विद्रोहीको नियन्त्रणमा रहेका पश्चिमी क्षेत्र पुनः कब्जा गर्ने उद्देश्यले ठूलो सैन्य अभियान सुरु गरेको थियो ।

साउदी नेतृत्वको गठबन्धनको हवाई सहयोगमा सरकारी सेनाले लाल सागरको तटीय क्षेत्रमा केही रणनीतिक भूभाग पुनः नियन्त्रणमा लिएको बताइएको छ । तर ताइज सहर, मारिब र अल–जवफ प्रान्तलगायत क्षेत्रमा भीषण लडाइँ जारी छ ।

हुथी विद्रोहीले पनि साउदी अरेबियाका विमानस्थल, ऊर्जा पूर्वाधार र सैन्य अड्डालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरिरहेको बताइएको छ ।

यसैबीच, हुथी सञ्चालित सञ्चारमाध्यमले आइतबार उत्तरी यमनको सादा प्रान्तमा साउदी हवाई आक्रमण हुँदा कम्तीमा १० जनाको मृत्यु भएको र २३ जना घाइते भएको दाबी गरेका छन्। मृतक तथा घाइतेमध्ये महिला र बालबालिका पनि रहेको जनाइएको छ। यी विवरणको स्वतन्त्र पुष्टि भएको छैन ।

यमनको स्वास्थ्य मन्त्रालयका अनुसार अगस्ट ६ देखि देशभर जारी द्वन्द्वमा कम्तीमा १ हजार २८२ जनाको मृत्यु भएको सरकारी पक्षले जनाएको छ । यता, हुथी सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो सात हप्तामा साउदी आक्रमणमा १४१ जनाको मृत्यु भएको दाबी गरेको छ ।

सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सानाबाट सरकारलाई विस्थापित गरेपछि यमनमा गृहयुद्ध सुरु भएको थियो। सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले सरकारलाई पुनःस्थापित गर्ने उद्देश्यले सैन्य हस्तक्षेप गरेपछि द्वन्द्व थप तीव्र बनेको थियो ।

पछिल्लो समय साउदी अरेबिया र हुथी विद्रोहीबीच क्षेप्यास्त्र तथा ड्रोन आक्रमण बढेसँगै लामो समयदेखि कायम अनौपचारिक युद्धविरामसमेत कमजोर बन्दै गएको बताइएको छ । निरन्तरको द्वन्द्वले यमनमा मानवीय सङ्कट थप गम्भीर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here