मोरङमा प्रहरीले गाँजा कारोबारी समात्न चलायो गोली
प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । करिब १०० किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार असोज २९ गते दिउँसो करिब १ बजे रतुवामाई नगरपालिका-५ गोबिन्दपुर स्थित बक्रा खोलाको बगरमा बेवारिसे अवस्थामा २६४.५९ किलो गाँजा बरामद भएको थियो ।
सो स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनापछि इलाका प्रहरी कार्यालय सिजुवाबाट राति गस्ती टोली खटिएको थियो । राति करिब ९ः२५ बजे केही मानिसहरू गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भयो ।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाँजा बोकेकाहरु भाग्न खोजेपछि सुरुमा १ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायर गर्दा पनि नरोकिएपछि प्रहरीले फेरि चलाएको गोली भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी देब्रे खुट्टाको पिँडुलामा लाग्यो ।
घाइते चौधरी र उनीसँगै रहेका भारत अररिया जिल्ला महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट करिब १०० किलो गाँजा पनि बरामद गरेको छ । घाइते चौधरीको अवस्था सामान्य छ । दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्