मुस्ताङी आलुको ब्राण्डिङ तथा प्याकेजिङ गर्दै पालिकाको पाँचवटै वडा

३१ साउन, जोमसोम । हिमाली जिल्ला मुस्ताङ कृषि उत्पादनको प्रचुर सम्भावना भएको जिल्ला हो। मुस्ताङी स्याउ, फापर, उवा, काँडे मकै र आलुको माग स्वदेश तथा विदेशमा धेरै हुने गर्छ।
समुन्द्री सतहको २५ सय मिटरभन्दा माथिको उचाइमा उत्पादन हुने यी अर्गानिक उत्पादन स्वादिलो र पोसिलो हुने गर्छ।




सहर बजारका खाद्य तथा फलफूलका पारखीहरू मुस्ताङमा उत्पादित सामग्री भनेपछि हुरुक्कै हुन्छन्।
हिउँले सिन्चित हुने हुँदा मुस्ताङको सबैखाले कृषि उत्पादन महत्वपूर्ण हुन्छन्। तर, मुस्ताङमा उत्पादन हुने कृषि उपज पहिचान गर्न उपभोक्तालाई मुश्किल पर्छ।
मुस्ताङी उत्पादनको ब्राण्डिङ र प्याकेजिङ नहुँदा व्यापारीहरूले मुस्ताङको भन्दै अन्य स्थानको कृषि उत्पादन बिक्री गर्ने गरेका छन्।
यही कुरालाई मध्यनजर गर्दै घरपझोङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि पालिकाको पाँचवटै वडामा उत्पादन हुने आलुको ब्राण्डिङ तथा प्याकेजिङ गर्न थालेको छ।
घरपझोङमा उत्पादित स्वादिलो आलुको चिनारी दिने सन्देशसहित पालिकाले चालु आर्थिक वर्षमा १० हजार थान आलु प्याकेजिङ गर्ने बोरा कृषकलाई ७५ प्रतिशत अनुदानमा वितरण गर्न थालेको कृषि अधिकृत रोशन थकालीले जानकारी दिए।
उनका अनुसार आलु हबको रूपमा विकास गर्ने र सहरबजारका पारखीलाई पालिका क्षेत्रको उत्पादन हो भन्ने चिनारी दिन अभियान सुरु गरेको कृषि अधिकृत थकालीले बताए।
गाउँसभामा आलु प्याकेजिङ बोरा अनुदानमा वितरण गर्ने कायक्रम स्वीकृत गरी आलु प्याकेजिङ बोरा वितरण अभियानलाई प्राथमिकता दिएको कृषि अधिकृत थकालीको भनाइ छ।
‘हामीले पालिकाभित्रको उत्पादन हो भन्ने सन्देशसहित आलु प्याकेजिङ बोरा वितरण गर्न थालेका हौं, यसले स्थानीय कृषक र व्यापारीलाई समेत फाईदा पुर्याउने छ,’ कृषि अधिकृत थकालीले भने, ‘पहिला कृषकको माग संकलन गर्यौं, त्यसपछि वडास्तरबाट बोरा बाड्न थालेका छौं।’
चालु आवमा वडाका ३६३ घरधुरी कृषकलाई पालिकाको लेबल लगाइएको १० हजार थान आलु प्याकेजिङ बोरा वितरण गर्ने कार्यक्रम रहेको कृषि अधिकृत थकालीले जानकारी दिए।
आलु बोरामा मुस्ताङको लोकल आलु भनेर सन्देश लेखिएको उनले बताए। अनुदानमा उपलब्ध गराइने प्याकेजिङ बोरामा ३० केजी आलु अटाउँछ।
मुस्ताङमा स्याउ, फापर, उवा, काँडे मकैजस्तै मुस्ताङी आलुको डिमाण्डमाग पनि उक्तिकै छ। मुस्ताङमा दुई प्रकारको आलु उत्पादन हुने गर्छ।
मुस्ताङमा विकासे आलु मंसिर महिनामा रोपिन्छ र जेठ महिनामा निकाल्छन्। स्थानीय जातको आलु फागुन/चैत्र महिनामा खेतबारीमा रोपेर श्रावण/भदौमा खेतबाट निकाल्छन्।
मुस्ताङमा उत्पादित विकास आलुभन्दा स्थानीय जातको लोकल आलुको माग बढी छ। नेपालका ७७ वटै जिल्लामा आलु उत्पादन हुने भएपनि हिमाली जिल्लामा उत्पादन हुने आलुको क्रेज बेग्लै र फरक प्रकारको छ।
मुस्ताङको पाँचवटै स्थानीय तहमा आलु उत्पादन हुन्छ। आलु उत्पादन गरेर मुस्ताङीले बर्सेनि लाखौं रुपैयाँ मुनाफा लिने गरेको पाइएको छ।
मुस्ताङको अन्न भण्डारको रूपमा चिनिने थासाङको कुञ्जोमा सबैभन्दा बढी आलु उत्पादन हुन्छ। यसका अलावा थासाङको टुकुचे, कोवाङ, सौरु लगायतका स्थानमा पनि आलु उत्पादन हुन्छ।
जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्रका विभिन्न स्थानमा पनि व्यवसायिकरूपमा आलु खेती गर्ने गरिन्छ। आलु खरिद गर्न जिल्ला बाहिरका व्यापारीहरू मुस्ताङ आउने गर्छन्।
मुस्ताङमा आलु खेती स्याउ बगैंचाभित्र पनि लगाएर कृषकले दोहोरो फाइदा लिने गर्छन्।
प्रतिक्रिया दिनुहोस्