मार्क्सवादको अर्थहीन बहस

नेपालमा नानाथरीका मार्क्सवादी छन् । एकथरी छन्, जसलाई मार्क्सको सिद्धान्त के हो, मार्क्सवादीले के गर्नुहुन्छ, के गर्नुहुँदैन, मतलब छैन । यिनीहरू चुनाव जितिन्छ, सांसद, मन्त्री बन्ने मौका पाइन्छ भनेर मार्क्सको नाम जपिरहेका छन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- आधुनिक विज्ञान र मार्क्सवादबीचको सम्बन्धलाई स्पष्ट पार्दै, लेखकले बताउँछन् कि मार्क्सवादको सिद्धान्त र विचारधारा अहिलेको वैज्ञानिक ज्ञानसँग मेल खाँदैन।
- मार्क्सवादको केही धारणा जस्तै वर्ग संघर्ष र समाजको विश्लेषण अहिले खण्डित भइसकेको छ र यसको प्रयोगले सामाजिक र राजनीतिक संरचनामा गलत परिणाम ल्याउन सक्छ।
- विज्ञान र नयाँ अनुसन्धानले पुराना सिद्धान्तलाई खण्डित गरिसकेको छ, त्यसैले मार्क्सवादको विकास सम्भव छैन र नयाँ विचारधारामा क्रान्ति आवश्यक छ।
आधुनिक विज्ञानले युरोपेली दार्शनिक परम्पराको १९औं शताब्दीसम्ममा विस्तार भएको पद्धति तथा विषयवस्तु (हेगेल र मार्क्स) र सम्झौताहीन विश्वासमा आधारित विचारधारा दुवैसँग संघर्ष गर्नुपरेको छ । – (वार्नर हाइजेनवर्ग, १९५८, फिजिक्स एन्ड फिलोसफी, पृष्ठ २०३)
लेखकको कृति ‘जैविक दर्शन’ प्रकाशित भएपछि केही मार्क्सवादी मित्रहरूले गुनासो पोखे । कारण, पुस्तकमा मार्क्सको दर्शन र विचारधारा दुवै विज्ञानसम्मत नरहेको भनी टिप्पणी गरिएको थियो । मार्क्स त गरिबको हित चिताउने मान्छे हुन्, यसरी मार्क्सको विरोध नगरेको भए हुन्थ्यो भन्ने मित्रहरूको आशय थियो ।
विज्ञानलाई गलत भनेकोमा पनि मित्रहरूको गम्भीर आपत्ति थियो । विज्ञान पनि कहीं गलत हुन्छ ? प्रयोगबाट प्रमाणित भएको कुरा नै विज्ञान हो । यस्तो चिज कहिल्यै गलत हुँदैन । विज्ञानमा नयाँ आविष्कार हुन्छन्, तर पुरानो सिद्धान्त कहिल्यै गलत हुँदैन । मित्रहरूका यस्तै बुझाइ र गुनासा लेखकमाथि अहिलेसम्म पनि आइरहेका छन् ।
मार्क्स को हुन् ? उनको विचार कति वैज्ञानिक हो ? आजको विश्वमा यो कति सान्दर्भिक छ ? आधुनिक विज्ञान र मार्क्सवादबीच मिलेका र नमिलेका कुरा के–के हुन् ? यस्ता प्रश्नमा तटस्थभावले विमर्श भएको छैन ।
नेपालमा नानाथरीका मार्क्सवादी छन् । एकथरी यस्ता छन्, जसलाई मार्क्सको सिद्धान्त के हो ? मार्क्सवादी भएपछि के गर्नुहुन्छ, के गर्नुहुँदैन ? मार्क्सवाद आज कति सान्दर्भिक वा असान्दर्भिक छ ? यस्ता कुरासँग कुनै मतलब छैन । यिनीहरू चुनाव जितिन्छ, सांसद, मन्त्री बन्ने मौका पाइन्छ भनेर मार्क्सको नाम जपिरहेका छन् ।
अर्कोथरी यस्ता छन् जो मार्क्सवाद आज पनि सान्दर्भिक छ, केही नेताहरूले धोखाधडी गरेकाले समस्या पैदा भएको हो, सबै समस्याको समाधान मार्क्सवादबाट सम्भव छ भन्ने ठान्दछन् । यस्ता पात्रले हिजो आजको ‘पर्यावरण–विमर्श’ सम्ममा मार्क्सलाई तान्ने कोशिश गरिरहेका छन् ।
गाउँ–ठाउँमा पुस्तकालय खोल्दा होस् वा साना–तिना अध्ययन समूह बनाउँदा उनीहरू मार्क्सको नाम जोडेर गौरव गर्छन् । ‘मार्क्सवादको विकास’ गर्ने भनिरहन्छन् । यस्तै पात्रहरू लेखकले मार्क्सको विरोध गरेको भन्दै असहमति जाहेर गरिरहेका छन् ।
केही पात्र यस्ता पनि छन्, जो मार्क्सवाद र कम्युनिष्ट पार्टी ठिक भएन भन्दै पार्टी परित्याग गर्छन् तर मार्क्सवादी दृष्टिकोण र विश्लेषण पद्धतिबाटै काम चलाइरहेका हुन्छन् । तर मार्क्सवादबारे ‘ठोस चिजको ठोस विश्लेषण’ मा भने अझै पनि कसैको ध्यान जान सकेको छैन ।
लेखक, मार्क्सको समर्थक वा विरोधी होइन । यस आलेखमा समकालीन मानवीय ज्ञानका आयामबाट मार्क्स र मार्क्सवादको अनुहार हेर्ने कोशिश गरिएको छ ।
विज्ञानको विरोध ?
विज्ञानभित्र दुई खण्ड हुन्छन् । एउटाले सिद्धान्तमा काम गर्छ, अर्कोले प्रविधिमा । सिद्धान्तमा काम गर्नेलाई ‘प्राकृतिक विज्ञान’ र प्रविधिमा काम गर्नेलाई ‘प्राविधिक विज्ञान’ भनिन्छ । सामान्यतया सिद्धान्तले नै प्रविधि जन्माउने हो । तर कहिलेकाहीं प्रविधिले पनि सिद्धान्त जन्माउँछ ।
मार्क्सवाद युक्लिडियन ज्यामिति जस्तै हो । समाजको तात्कालिक विश्लेषणसम्ममा यसको पद्धति सान्दर्भिक हुन सक्छ । तर सामाजिक संश्लेषणमा यसले सही काम गर्न सक्दैन । अर्थात्, शासन प्रणाली वा सामाजिक संरचनाको रचनामा मार्क्सवादले सही मार्गदर्शन गर्न सक्दैन
यसलाई उदाहरणमा हेरौं । सूर्यको किरणले ऊर्जा प्रवाह गर्दछ । यो सिद्धान्त हो । यो सिद्धान्त थाहा पाएर कसैले सौर्य ऊर्जाबाट बत्ती बाल्छ भने त्यो प्रविधि हो । यहाँ सिद्धान्तले प्रविधि जन्मायो ।
अर्को उदाहरण हेरौं । हव्वल टेलिस्कोपबाट ब्रह्माण्ड अवलोकन गर्दा ‘स्थिर–ब्रह्माण्ड’ सम्बन्धी पहिलेको धारणा खण्डित भएर ‘फैलिरहेको–ब्रह्माण्ड’ को अवधारणा जन्मियो । यहाँ प्रविधिले नयाँ सिद्धान्त जन्मायो ।
फेरि अर्को उदाहरण हेरौं । आज हामी जमिन नाप्छौं, किनबेच गर्छौं । हाम्रो जमिन मापन प्रविधि, ‘पृथ्वी चेप्टो छ’ भन्ने सिद्धान्तमा आधारित छ । अर्थात्, युक्लिडियन ज्यामितिमा आधारित छ । हामीलाई थाहा छ, पृथ्वी चेप्टो होइन गोलो छ । तैपनि व्यावहारिक जीवनमा ‘पृथ्वी चेप्टो छ’ भन्ने प्रविधिले काम गरिरहेको छ । यहाँ सिद्धान्त गलत भन्ने थाहा हुँदाहुँदै त्यसको प्रविधि उपयोगी सावित भयो ।
माथिका उदाहरणबाट प्रस्ट हुन्छ, विज्ञानको सिद्धान्त गलत हुँदा पनि कहिलेकाहीं त्यसको प्रविधि उपयोगी भइरहन सक्दोरहेछ । अनि कहिलेकाहीं प्रविधिले नै नयाँ सिद्धान्त पनि जन्माउन सक्दोरहेछ । माथि सौर्य ऊर्जाको उदाहरणमा सिद्धान्त र प्रविधि दुवै सही छ । यद्यपि, यो पनि अधुरो सिद्धान्त हो । कारण, प्रकाश कण हो भन्ने अर्को सिद्धान्त पनि छ ।
हव्वल टेलिस्कोपको उदाहरणमा ‘स्थिर–ब्रह्माण्ड’ को सिद्धान्त गलत हो भन्ने स्थापित भइसकेको छ । तर ‘स्थिर–ब्रह्माण्ड’ को सिद्धान्त व्यावहारिक दृष्टिले त उपयोगी नै छ । जस्तो कि पृथ्वीको कुनै एक ठाउँबाट अर्को ठाउँमा हवाईजहाजबाट ओहोरदोहोर गर्न ‘स्थिर–ब्रह्माण्ड’ को सिद्धान्तले पनि काम गर्छ । सुदूर अन्तरिक्ष सम्बन्धी खोजमा मात्र यो काम लाग्दैन ।
जग्गा मापनको उदाहरणमा युक्लिडियन ज्यामितिको सिद्धान्त गलत हो । तर जग्गा किनबेच गर्ने वा घर बनाउने प्रयोजनको लागि यसको प्रविधि सदाकाल उपयोगी छ । पूरा पृथ्वीको नाप लिन खोजियो भने मात्र यो प्रविधि काम लाग्दैन ।
हामीले विज्ञानलाई त्यसको व्यावहारिक प्रयोजन (प्रविधि) मा सीमित गरेर हेर्न मिल्दैन । विज्ञान भनेको सिद्धान्त र प्रविधिको संयुक्त जोड हो । हरेक सिद्धान्त र प्रविधिको ‘सन्दर्भ–सीमा’ हुन्छ । विज्ञानलाई बुझ्दा त्यसको सिद्धान्त र प्रविधि दुवैको ‘सन्दर्भ–सीमा’ सहित बुझ्नु जरूरी हुन्छ ।
नयाँ अनुसन्धानबाट कहिलेकाहीं पुरानो सिद्धान्तकै विस्तार हुन्छ, पुरानो सिद्धान्त नै अझ बलियो बन्छ । कहिलेकाहीं पुरानो सिद्धान्त खण्डित भएर नयाँ सिद्धान्त स्थापित हुन्छ । यदि पुरानो सिद्धान्तलाई नै अझ बलियो बनाउने खालको काम भयो भने त्यो ‘विज्ञानको विकास’ हो । यदि पुरानो सिद्धान्त खण्डित गरेर नयाँ सिद्धान्त जन्माउने काम भयो भने त्यो ‘विज्ञानमा क्रान्ति’ (प्याराडाइम सिफ्ट) हो ।
माथिको उदाहरणमा ‘चेप्टो पृथ्वी’ को धारणालाई ‘गोलो पृथ्वी’ को धारणाले खण्डित गर्नु, ‘स्थिर–ब्रह्माण्ड’ को धारणालाई ‘गतिशील–ब्रह्माण्ड’ को धारणाले खण्डित गर्नु, विज्ञानमा क्रान्तिको उदाहरण हो ।
‘प्रकाश तरंग हो’ भन्ने धारणामा ‘प्रकाश कण पनि हो’ भन्ने धारणा पनि एक किसिमको क्रान्तिकारी धारणा हो । तर यसले पुरानो सिद्धान्तलाई खण्डन गरेन, बरु दुवै धारणा परिपूरक हुन् भन्ने स्थापित गर्यो ।
लेखकले आफ्नो पुस्तकमा विज्ञानको विरोध गरेको होइन, विज्ञानका यस्तै विशेषताको उल्लेख गरेको हो । मार्क्सवादसँग यसको के सम्बन्ध छ भन्ने प्रश्न आउन सक्छ । मार्क्सवाद पनि यस्तै सीमित ‘सन्दर्भ–सीमा’ भएका सिद्धान्तको जगमा उभिएको छ । आधुनिक विज्ञानले ती सिद्धान्तको ‘सन्दर्भ–सीमा’ थाहा पाएर खण्डन गरिसकेको छ । यस अर्थमा मार्क्सवाद पनि खण्डित भइसकेको छ । अबका दिनमा ‘मार्क्सवादको विकास’ सम्भव छैन, दर्शन र विचारधारामा क्रान्ति मात्र सम्भव छ । लेखकले भन्न खोजेको कुरा यो हो ।
गडबडी दर्शनमा हो
धेरै मित्रलाई भ्रम छ कि, मार्क्सको दर्शन सही हो, नेताको गल्तीले सही कार्यान्वयन हुन नसकेको हो । लेखकको बुझाइ ठिक उल्टो छ । मार्क्सको दर्शन गलत हो, नेताको क्रियाकलाप स्वाभाविक हो ।
मार्क्सको दर्शन बुझ्न सबैभन्दा पहिला चिन्तनको युरोपेली परम्परा बुझ्न जरूरी हुन्छ । क्वान्टम वैज्ञानिक वार्नर हाइजेनवर्गले स्पष्ट भनेका छन् युरोपेली चिन्तन परम्पराको पछिल्लो अभिव्यक्ति मार्क्स र हेगेलमा प्रकट भएको छ । यो परम्परासँग क्वान्टम विज्ञानको चिन्तनको तरिका पटक्कै मिल्दैन ।
हाइजेनवर्गले भन्न खोजेको कुरा बुझियो भने मार्क्सवाद र क्वान्टम विज्ञान दुवै बुझिन्छ । युरोपेली चिन्तन परम्पराको भौतिकवादी धाराको जरा एरिस्टोटलसँग जोडिन्छ । उनले वस्तुगत अवलोकन, विपरित तत्व, संघर्ष र द्वैधताको निषेधको अवधारणा दिएका थिए । मार्क्सले यही धारणालाई नयाँ भाषामा विस्तार गरेका हुन् ।
अब ‘मार्क्सवादी विकास’ को अर्थहीन बहस छोडौं । मार्क्सको क्रान्तिकारी स्वभावको अनुसरण गर्दै दर्शनशास्त्र र विचारधारामा क्रान्तिको युगान्तकारी काम गरौं
मार्क्सले समाजमा सम्झौता अस्थायी र संघर्ष स्थायी घटना हो भनेका छन् । तर उनको सामाजिक प्रक्षेपणमा शुरुआत पनि संघर्षहीन अवस्था (आदिम साम्यवाद) र अन्तिम चरण पनि संघर्षहीन अवस्था (वैज्ञानिक साम्यवाद) छ । यसरी ‘संघर्ष स्थायी हुन्छ’ भन्ने मान्यताको उनी आफैंबाट खण्डन भयो । तब यो मान्यतालाई बचाउन उनले ‘साम्यवादमा प्रकृतिसँग संघर्ष हुन्छ’ भनिदिए ।
मार्क्सको यो बचाव दुई वटा कारणले गलत थियो । पहिलो, समाज विज्ञान र प्रकृति विज्ञान अन्तरसम्बन्धित त हुन् तर यिनीहरू बीच स्वायत्तताको घेरा हुन्छ । प्रकृतिका नियम प्रकृतिमै शुरू भएर प्रकृतिमै अन्त्य भएको हुनुपर्दछ । समाजका नियम पनि समाजबाट शुरू भएर समाजमै अन्त्य भएको हुनुपर्दछ । समाजका नियमलाई प्राकृतिक नियमसँग लगेर मिसाउन मिल्दैन ।
तर मार्क्सले समाजका नियमलाई जबरजस्ती प्रकृतिसँग मिसाइदिए, जुन गलत थियो । दोस्रो, प्रकृतिसँग संघर्ष भन्ने उनको धारणा आफैंमा अप्राकृतिक थियो । मानिस स्वयं प्रकृति हो, मानिसको प्रकृतिसँग संघर्ष होइन, सहकार्य हुन्छ ।
मार्क्सका सारा विचारधारा यस्तै गलत प्रस्थापनामा टेकेका छन् । उनको वर्ग संघर्ष, साम्यवाद, सर्वहारा वर्गको अधिनायकत्व जस्ता सिद्धान्त यस्तै गलत प्रस्थापनाका उपज हुन् । जब चिन्तन नै गलत हुन्छ, तब त्यो व्यवहारमा कार्यान्वयन गर्न सम्भव हुँदैन । अहिले भएकै यही हो । लेखकले विकृतिको कारक नेता होइनन्, स्वयं मार्क्सवाद हो भन्नुको कारण यही हो ।
अर्थहीन प्रयत्न
मार्क्सवादीहरू हिजोआज मार्क्सवादको बचाउ गर्न अनेक प्रयत्न गरिरहेका छन् । मार्क्स पर्यावरणवादी थिए भन्ने प्रचार यस्तै एउटा अर्थहीन प्रयास हो । मार्क्सले पूँजीवादी पद्धतिले पर्यावरण नाश गर्छ भनेर स्पष्ट भनेका थिए । तर उनको ‘प्रकृतिसँग संघर्ष’ को धारणा, ‘अधिक उत्पादन समाजवादको आधार हो’ भन्ने धारणा र ‘भौतिक सुख नै सत्य हो’ भन्ने धारणा आफैंमा पर्यावरण विरोधी छ ।
केही मित्रहरू अहिले ‘सामुदायिक–समाजवाद’ भन्न थालेका छन् । मार्क्सवादी समाजवाद सही थियो, तर सम्पत्तिको केन्द्रीकरण वा राज्यकरण गलत थियो, सामुदायिक वा स्थानीय सत्तामा आधारित समाजवाद बनाउँदा समस्या समाधान हुन्छ भन्ने उनीहरूको तर्क छ ।
यो तर्कले पनि मार्क्सवादको बचाउ गर्न सक्दैन । समुदायको केन्द्रीकृत स्वरुप नै राज्य हो, राज्यको स्थानीय स्वरुप नै समुदाय हो । सम्पत्तिको स्वामित्व समुदायमै राखे पनि त्यहाँ व्यवस्थापक–सदस्यबीच वर्गभेद हुन्छ । अन्त्यतः समुदायमा पनि सम्पत्ति सीमित व्यक्तिको केन्द्रीकरणमै पर्छ । यत्ति कुराले मार्क्सवादको बचाउ हुन सक्दैन ।
मित्रहरू सामाजिक–प्रविधिबाट समस्याको समाधान खोजिरहेका छन् । तर प्रविधि आफैंमा सही र गलत हुन सक्दैन । सामाजिक प्रविधि त हामीले चलाउने मोबाइल फोनको सेट जस्तै हो । यसबाट सही वा गलत दुवै काम हुन सक्छ । प्रविधि सञ्चालन गर्ने पात्रको चिन्तन जस्तो छ, त्यसले त्यस्तै काम गर्छ । मार्क्सवादको चिन्तन गलत भएपछि यसको प्रविधि सच्याएर केही हुनेवाला छैन । यसले आफ्नो चिन्तन अनुसारकै परिणाम पैदा गर्ने हो ।
स्मरण रहोस्, आजको युगमा पनि मार्क्सवादले गरिबको सेवा गर्छ भन्नु एउटा लज्जास्पद कुरा हो । यो आधुनिकताको होइन, रुढीग्रस्तताको परिचायक हो । निःसन्देह मार्क्स गरिबका पक्षपाती थिए । तर मार्क्सवादले गरिब वा धनी कसैको सेवा गर्दैन । कारण, यसका निष्कर्ष र बुझाइ प्रकृति र मानिसको स्वभाव विपरीत छन् । मार्क्सको पद्धतिले केही ‘राजनीतिक–ठेकेदार’ जन्माउँछ । जसले गरिबको नाममा अझ बढी गरिब र धनी दुवैको शोषण गर्दछ । यो कुरा अहिले नेपालमा र संसारमै हामीले देखिरहेका छौं ।
विज्ञानमा के–के कुरा खण्डित भए ? यसमा ध्यान दिऊँ । भौतिकशास्त्रमा विपरीत तत्वको धारणा, गतिको शास्त्रीय नियम, ‘वैज्ञानिक–निर्धारणवाद’ र ‘सुनिश्चित–ज्ञान’ सम्बन्धी सिद्धान्त खण्डित भएका छन्, जुन मार्क्सवादका आधार थिए । जीवशास्त्रमा संघर्षको धारणा, मनोविज्ञानमा मानिसको सुनिश्चित स्वभाव हुन्छ भन्ने धारणा, चेतनाको ‘परावर्तन सिद्धान्त’ र भौतिक सुखको धारणा, समाजशास्त्रमा रेखीय इतिहासको धारणा, वर्ग संघर्षको धारणा र अधिनायकत्वको धारणा खण्डित भएका छन्, जुन मार्क्सवादका आधार थिए ।
मार्क्सवाद युक्लिडियन ज्यामिति जस्तै हो । समाजको तात्कालिक विश्लेषणसम्ममा यसको पद्धति सान्दर्भिक हुन सक्छ । तर सामाजिक संश्लेषणमा यसले सही काम गर्न सक्दैन । अर्थात्, शासन प्रणाली वा सामाजिक संरचनाको रचनामा मार्क्सवादले सही मार्गदर्शन गर्न सक्दैन ।
अब के गर्ने ?
मार्क्सवादी दर्शनको त्रुटि मार्क्सको वैयक्तिक त्रुटि होइन । यो त तत्कालीन मानवीय ज्ञानको सीमा हो । मार्क्सले आफ्नो समाजको चिन्तन परम्पराको ‘सन्दर्भ–सीमा’ भित्रबाट जति गर्न सकिन्थ्यो, त्यो पूरापूर गरेका थिए ।
आज परिस्थिति फेरिएको छ । विज्ञानमा भएको क्रान्तिले दर्शन र विचारधारामा क्रान्तिको आधार तयार गरेको छ । त्यसैले अब ‘मार्क्सवादी विकास’ को अर्थहीन कुरा छोडौं । मार्क्सको क्रान्तिकारी स्वभावको अनुसरण गर्दै दर्शनशास्त्र र विचारधारामा क्रान्तिको युगान्तकारी काम गरौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
दुःखी
प्रतिक्रिया दिनुहोस्