मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक नियन्त्रणमा, ट्राफिकको निगरानीमा कडाइ

१६ साउन, काठमाडौं । ट्राफिक नियम मिचेर सवारी चलाउनेविरुद्ध काठमाडौं उपत्यका ट्राफिक कार्यालय कडाइका साथ उत्रेको छ।

आइतबार मात्रै मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना सवारी चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ।

frontline

१६ वटा स्कुल बस विभिन्न कसुरमा कारबाहीमा परेका छन्। स्कुल बस निर्देशिका २०७४ अनुसार सञ्चालनमा नभएका सवारीसाधन तथा चालकलाई कारबाहीको दायरामा ल्याउन गत साउन ८ गतेदेखि महाशाखाले अभियान नै सञ्चालन गरेको छ। 

यसका साथै आइतबार दिनभरमा २५ सय बढी सवारी चालक कारबाहीमा परेका छन्।  महाशाखाले कहिले टिपर चालकले लागूऔषध खाए नखाएको चेकजाँच, कहिले सर्वसाधारणको आवश्यक कागजात परीक्षण, गति नियन्त्रण, निजी तथा सरकारी विद्यालयका सवारी चालकसँग छलफल अन्तरक्रियालगायतका क्रियाकलाप सञ्चालन गरिरहेको छ। 

ट्राफिक महाशाखा प्रमुख मीरा चौधरी दुर्घटना न्यूनीकरणका लागि कुनै कसर बाँकी नछाड्ने बताउँछिन्। उनी भन्छिन्, ‘सर्वसाधारण नागरिक हुन् या भीआईपी सवारी चालक सबैले ट्राफिक नियम अनिवार्य पालना गर्नुपर्छ।

मापसे गरेर स्कुल बस चलाउनु कति ठूलो लापरबाही हो। यसमा त स्कुल सञ्चालकको पनि ध्यान जान आवश्यक छ। रुटिन बनाएरभन्दा पनि रेन्डम तरिकाले स्कुल बस चालक माथि निगरानी राख्छौं। 

लेन अनुशासन, गति नियन्त्रण र ट्राफिक नियमको कडाइका साथ पालना गर्ने र गराउने कार्यमा ट्राफिक महाशाखाले विशेष तयारी गरिरहेको छ।

महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार हरेक दिन २५ सयदेखि ३ हजार सवारी चालक लेन अनुशासन तथा ट्राफिक नियम उल्लंघनमा कारबाहीमा पर्छन्। यसमध्ये मादक पद्धार्थ सेवन, तीव्र गति र लेन अनुशासन उल्लंघन नै बढी छ। 

यसका अलावा जथाभावी, यू–टर्न, पार्किङ, वन वे मा सवारी प्रवेशलगायतका लापरबाही सवारी चालकले गर्ने गरेका छन्। प्रवक्ता भट्ट भन्छन्, ‘पछिल्लो समय सवारी दुर्घटना अत्यन्तै वृद्धि भएको छ।

अपवादबाहेक दुर्घटनामा सवारी चालककै गल्ति र कमजोरी देखिन्छ। मोटरसाइकल र स्कुटर चालक बढी संयमित हुन जरुरी छ। २ पांग्रे सवारीसाधन दुर्घटनामा परेर युवाहरूको ज्यान गइरहेको छ।

दुर्घटनाले परिवारै सखाप भएको कयौं अवस्था छ। घाइतेको उपचार गर्न मोटो रकम खर्च भइरहेको छ। ट्राफिक नियमको मात्रै पालना गर्ने हो भने ८० प्रतिशत दुर्घटना कम हुन्थ्यो। 

भट्टका अनुसार चालकको लापरबाही, जिकज्याक चलाउने, अनधिकृत पार्किङ, गलत साइडबाट ओभरटेक गर्ने, ओभर स्पिड, सडकको कारण, मौसम तथा सवारीसाधनको अवस्थाका कारणले पनि दुर्घटना हुने गर्छन्।

सवारीसाधन चलाउँदा हरेकले ध्यान पुर्‍याउन अति आवश्यक छ। दुर्घटना कम गर्न सहरमा प्रशस्त पार्किङ स्थानको खोजीमा ट्राफिक प्रहरी लागेको छ।

अन्डरग्राउन्ड पार्किङका लागि भनेर बनेको व्यापारिक कम्प्लेक्स तथा सरकारी भवनमा गोदाम, क्याफे, पसल, रेस्टुरेन्ट सञ्चालन गरिएकाले काठमाडौं महानगरसँगको सहकार्यमा ती स्थान खाली गरी पार्किङका लागि प्रयोग गरिने महाशाखाले बताएको छ। 

सवारी गुड्ने सडकमा कुनै पनि व्यापारिक प्रयोजनले काम गर्न नपाइने र फुटपाथ पसल पनि हटाउन महानगरसँग समन्वय गरिरहेको ट्राफिक महाशाखा प्रवक्ताले बताए।

यसका साथै सवारी चालकको आचर व्यवहार सुधार्न सार्वजनिक सवारी चालक र परिचालकसँग छलफल, अन्र्तक्रिया गरिरहेको उनले बताए। प्रवक्ता भट्ट भन्छन्, ‘दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीले खटिएर काम गरिरहेको छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here