भिभिआइपीहरूको ज्यान पशुपतिको भरमा

अति विशिष्ट व्यक्ति (भिभिआइपी)को सुरक्षार्थ लाग्ने लावालस्करले सामान्य नागरिकको दैनिकी बिथोलिन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निम्ति जताततै सुरक्षाकर्मी, अंगरक्षक, अगुवा पछुवा गाडीको लस्कर नियमित क्रम हो । सचिवालयका कर्मचारीदेखि राष्ट्रिय अनुसन्धानका जासुससम्म त्यही टिममा हुन्छन् ।
राज्यका प्रमुख र महत्वपूर्ण व्यक्ति भएकोले यिनीहरूको सुरक्षा निकै संवेदनशील विषय बन्ने नै भयो । राज्यले भिभिआइपी सुरक्षाका नाममा वार्षिक करोडौं रूपैयाँ खर्चिन्छ । यी सबै परिस्थितिको बाबजुद उनीहरूको रक्षा पशुपतिनाथले मात्रै गर्न सक्ने भनेर सुरक्षा संयन्त्रसहित सरोकारवालाहरूको बैठकमै कुरा उठेको छ ।




अति विशिष्टको सुरक्षा सेना र प्रहरीले मात्रै गर्न सक्ने स्थिति छैन । बिचौलिया र व्यापारीसँग राजनीतिक नेतृत्वको साँठगाँठका कारण ‘केही नभएसम्म केही हुँदैन’ भन्ने गम्भीर निश्कर्ष निकाल्ने स्थिति बनेको छ ।
सुरक्षा मामिला तीन/चार कारणले कति जटिल बन्दै गएको छ भन्नेबारे सहभागी एकजनाले गम्भीर चिन्ता नै जनाए । ‘राष्ट्रपति कार्यालय प्रिफ्याबको घरमा छ । अरु कार्यालयदेखि निवाससम्ममा पनि सुरक्षा प्रोटोकोलका धेरै नियम तोडिएको पाइयो,’ यस्तै गम्भीर विमर्शका एक साक्षी भन्छन्, ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भनेर चित्त बुझाउनुपर्ने अवस्था छ ।’
यस्तो गम्भीर विमर्श काठमाडौंको कुनै मामुली चोकमा भएको होइन । नारायणहिटीभित्र अवस्थित ‘अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय’मा गत शुक्रबार (वैशाख २६ गते) राष्ट्रपतिदेखि प्रधानमन्त्रीसहितका सबै भिभिआइपीको सुरक्षा हेर्ने रक्षा, परराष्ट्र, गृह, काठमाडौंका तीनजना प्रजिअसहितको छलफलको निश्कर्ष हो यो । समन्वयात्मक भनिएको यही बैठकमा गणतन्त्रलाई निरीह बनाउने एउटा दुःख प्रकट भएको स्रोतको भनाइ छ ।
‘देशमा गणतन्त्र आएको यत्तिका वर्ष भइसक्यो । महाभूकम्पको पनि १० वर्ष देशले गुजारिसक्यो । तर बिडम्वना, शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालय परिसरका अफिस अझै पनि प्रिफ्याब कोठामा चलेका छन्’, सो बैठकमा ‘यही आर्थिक वर्षको अन्तिमतिर बल्ल यी सामान्य कार्यालय मुख्य बिल्डिङमा सारिने जानकारी गराइएको थियो ।’ स्वकीय सचिवालय, विशिष्टहरूसँग भेट गर्नेदेखि शीतलनिवासका थुप्रै संरचना सामान्य टहरा र कटेरोमा चलाइएका छन् । अलि ठूलो जमघट हुँदा मान्छे नअट्ने चिन्ताले राष्ट्रपति कार्यालय र सचिवालय हायलकायल हुने गरेकोसमेत स्रोत बताउँछ ।
शीतलनिवासको सुरक्षा संवेदनशीलता यत्तिमै सकिँदैन । भिभिआइपी कार्यालय, निवासदेखि ५०० मीटर क्षेत्रभित्र संरचना बनाउन नपाइने विषयमा नेतासँग उठबस रहेकै बिचौलिया र व्यापारी कसरी हावी हुन्छन् भन्नेबारे त्यहाँ मसिनो गरी चर्चा भएको थियो ।
‘बिग सिक्सका कार्यालयदेखि निवासको ५०० मीटर वरपर संरचना बनाउँदा सम्बन्धित निकायको स्वीकृति लिनुपर्ने प्रावधान छ’ सो छलफलमा भएको विषयबारे जानकारी दिँदै स्रोतले भन्यो, ‘राष्ट्रपति निवास र उपराष्ट्रपति कार्यालयअगाडि २६ तलाको संरचना बन्दासमेत कसैले कुरा उठाएन, समन्वय गर्ने आँटसमेत भएन भनेरससमेत गम्भीर कुरा उठ्यो ।’
परराष्ट्र मन्त्रालयका प्रोटोकल अफिसरहरु, राष्ट्रपति कार्यालयका सचिव, पूर्व अर्थसचिव डा. रामप्रसाद घिमिरे, सैनिक अपरेशन हेर्ने २ तारे जर्नेल प्रेमध्वज अधिकारी, रतिन्द्र खत्रीसहितका सरोकारवाला व्यक्तिहरू बैठकमा उपस्थित थिए । सोही छलफलपछि एउटा स्रोतले सुरक्षा संवेदनशील क्षेत्रमा बिचौलिया कसरी हावी हुन्छन् भन्नेबारे सटिक उदाहरण प्रस्तुत गर्यो ।
‘प्रेम राई गृहसचिव भएको बेला राष्ट्रिय अनुसन्धान विभागको ठ्याक्कै अगाडि बसेरा होटल खुल्यो– त्यो पनि विशाल पण्डित नामक मेडिकल माफियाको लगानीमा । स्रोत उल्लेख गर्छ, ‘सुरक्षा संवेदनशीलताकै कारण त्यो होटललाई राष्ट्रियकरण गर्नुपर्छ भनेर प्रेम राईले प्रतिवेदन बुझे । तर केपी ओली अघिल्लोचोटि प्रधानमन्त्री हुँदा कार्यान्वयन हुन दिएनन् ।’
बसेराको मात्रै के कुरा, राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि पनि यस्तै भयो । विदेशी पाहुना आउँदा राख्ने भन्दै राष्ट्रियकरणको कुरा नउठेको होइन । तर त्यो सुझाव पनि विचौलिया र व्यापारीको कारण त्यत्तिकै तुहियो ।
उपराष्ट्रपति कार्यालयनजिक, नारायणहिटी संग्रहालयको पश्चिममा एउटा ठूलो संरचना शेष घलेले ठड्याउँदै छन् । यो २६ तले भवनबाट हुनसक्ने खतराबारे त सो बैठकमा गम्भीर छलफल नै हुन पुग्यो । ‘उपराष्ट्रपतिको लागि यो भवन जति चुनौतिपूर्ण अरु केही हुँदैन भन्ने कुरा उठ्यो,’ स्रोत भन्छ, ‘होटलको माथिबाट ढुंगाले हाने पनि बम हानेजस्तो हुन्छ ।’
राणाकालमा गणेशमान सिंहहरू डोरी टाँगी पर्खाल नाघेर सेन्ट्रल जेलबाट भागेका थिए । अहिले त्यहाँका कैदीबन्दीलाई सिभिल मल (इच्छाराज तामाङको)बाट सहजै हेर्न सकिन्छ । व्यापारीले राज्यलाई कसरी खेलाउँछन् भन्ने कुराका केही प्रतिनिधि घटना हुन् यी ।
बिग सिक्स कतै जाँदा सेना पनि जाने भन्ने हुन्छ । कुनैमा ६ जना, कुनैमा सात जाने हुन्छ स्रोत भन्छ, ‘तर परराष्ट्र, अर्थ र गृहका मान्छेले सेनाको संख्या स्वाट्ट कटाइदिँदा रहेछन् । यसैमा सेनाको तिक्तता थियो ।’ तर त्यसको जवाफ राजनीतिक नेतृत्वसँग थियो, सुरक्षाकर्मी र केही कर्मचारीसँग हुने कुरै भएन ।
भारतमा पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई चुनावताका तमिलनाडुमा धनु नामक श्रीलंकन केटीले माला लगाउने बहानामा आत्मघाती बम विष्फोट गराएर मारिदिइन् । सो प्रकरणमा बुझाइएको प्रतिवेदनमा रानी ऐश्वर्यले आफू निकट आदित्य समशेर (आर्मी चिफ गौरवको बाबु) लाई खटाएको भन्ने दोष लगाइयो’ स्रोत भन्छ, ‘अनि नेपाल सरकारले त्यसमा विरोध गरेको छ । उता र यता कुनै पनि अप्रिय घटना हुँदा त्यसको असर एक अर्कामा ठोकिन्छ भन्ने उदाहरण हुन् यी ।’
प्रतिक्रिया दिनुहोस्