भिजिट भिसाका नाममा मानव तस्करी, शंकामा गृह प्रशासन

भिजिट भिसाका नाममा भएको मानव तस्करीबारे गहिराइमा अनुसन्धान हुने हो भने यसको नेक्सस अझ माथिल्लो तहसम्म पुग्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह प्रशासन पनि शंकाको घेरामा परेको छ ।

frontline

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीहरुतिर समेत अनुसन्धान सोझ्याएको छ ।

आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमनबाट हटाइएकाहरुमध्ये अधिकांश नायब सुब्बा छन् । कतिपय अधिकारीहरुले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् ।

‘खासमा भिजिट भिसाका नाममा भएको असुलीमा गृह प्रशासन नै जोडिन आउँछ,’ एक सरकारी अधिकारीले भने, ‘यस्तोमा संवैधानिक आयोगले जाँच गरिरहेका बेला कर्मचारी हटाउँदा मन्त्रालयको नियतमा पनि प्रश्न उठ्छ ।’

तत्कालीन डीएसपी पन्थी भिजिट भिसाका नाममा भएको मानव तस्करीलाई संगठित अपराध अन्तरगत जाँच गर्ने गरी अघि बढाउन समेत प्रहरीलाई कठिनाइ भएको बताउँछन् । संगठित अपराध अन्तरगत लैजाँदा प्रहरीलाई ६० दिनसम्म आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने ठाउँ रहन्थ्यो ।

‘तर, त्यो मुद्दामा संगठित अपराध समेत जोड्न सरकारी वकिलसँग नोकझोक नै गर्नु परेको थियो, मलाई अप्रत्यक्ष रुपमा अख्तियारमा लैजाने धम्की समेत दिइएको थियो’, उनले भने, ‘खासमा अनुसन्धान सही दिशामा गइरहेका कारण त्यस्तो भएको थियो भन्ने मलाई लाग्छ ।’

‘संगठित अपराध’

पछिल्लो समय यो प्रकरणबारे अनुसन्धान गरिरहेका एक अधिकृतका अनुसार, डेढ वर्षयता यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो । यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको भेटिएको उनी बताउँछन् ।

अधिकृतहरुका अनुसार, रकम असुली गरिएका व्यक्तिको सूची अध्यागमनमा खटिएका कर्मचारीलाई वेग्लै फोनमा विचौलियाले पठाउने गरेका थिए । स्रोतका अनुसार,साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरिएको थियो ।

यसरी कटाइएका युवा गन्तव्य देशमा पुगेर रोगारी नपाउँदा भिसा अवधि सकिएर जरिवानामा पर्ने, त्यो रकम तिर्न नसकिने जेल पुग्ने, एजेन्टबाट लाखौं ठगिने जस्तो समस्या भएको मन्त्रालयले नै गरेको एक अध्ययनले समेत देखाएको थियो ।

यूएईलाई ट्रान्जिट बनाएर ओमानमा समेत भिजिट भिसामा नेपाली गएको भेटिएको भन्दै त्यो प्रतिवेदनमा भनिएको छ, ‘भिजिट भिसामार्फत यूएईलाई ट्रान्जिट बनाएर घरेलु कामदारका रुपमा जाने महिलाहरु अलपत्र पर्ने र अन्य समस्या समेत पर्ने गरेको पाइएको छ ।’

विमानस्थल अध्यागमनमा २४ घन्टा ड्यूटी हुने भएकाले तीन समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको छ ।

नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी जुन पृष्ठभूमिका व्यक्तिलाई विमानस्थलमा अध्यागमनको जिम्मा दिइएको छ, त्यो नै गृह प्रशासनमाथि प्रश्न गर्न पर्याप्त भएको बताउँछन् ।

‘विमानस्थलको अध्यागमन जस्तो संवेदनशील स्थानमा राज्यको निकायले अयोग्यलाई खोजी खोजी पठाउँछ भने त्यसमा माथिल्लो निकाय र राज्य स्वभाविक रुपमा शंकाको घेरामा पर्छ’, उनी भन्छन्, ‘तस्करी आफैंमा संगठित अपराध हो, किनभने त्यसमा नेटवर्कले काम गर्छ र त्यसले संरक्षण, प्रबद्र्धन र संर्बद्धनमा भूमिका खेल्छ ।’

राज्य संरक्षित अपराधमा समातिने केही व्यक्तिहरुलाई पछि सहयोग गर्ने आवश्सन दिइने गरिएकाले त्यस्ता व्यक्तिहरुले माथिल्लो नेक्ससबारे सूचना नदिने समेत उनी बताउँछन् । ‘तर, मोबाइल लगायत प्राविधिक विषयको जाँच र अन्य पक्षको विश्लेषणबाट यस्ता अपराधको जरासम्म पुग्नुपर्छ’, उनी भन्छन् ।

अध्यागमन जान कर्मचारीको हानथाप

गृह मन्त्रालयका एक जना उपसचिव विमानस्थल अध्यागनमन कार्यालयमा जान सधैँ कर्मचारीहरुबीच हानथाप हुने गरेको बताउँछन् ।

‘तर, शक्तिकेन्द्रको सिफारिसविना कोही अध्यागमन कार्यालयमा जानै सक्दैन’, उनी भन्छन्, ‘अनेक हिसाबले शक्तिकेन्द्रसँग नजिकमा भएकाहरु चाहिँ पहुँचमा हिसाबले दोहोरिरहन्छन् ।’

कतिसम्म छ भने विमानस्थल अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी समेत पठाइने गरिन्छ ।

भिजिट भिसा प्रकरणबारे अनुसन्धान गरिरहेका एक अधिकृतका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक लाखौं रकम उठ्ने भएकाले कर्मचारीहरु त्यहाँ जान आकर्षित हुने गरेको देखिन्छ ।

ती अधिकृतका अनुसार, एकदिनमै कम्तिमा ४० लाख रुपैयाँसम्म संकलन भएको आशंका गरिएको छ ।

‘अध्यागमन, भन्सार जस्ता अड्डाहरुमा पोष्टिङ जानुअघि नै प्रि–पेड रकम बुझाएर जाने गरेको स्थिति छ’, पूर्वएआईजी भण्डारी पनि थप्छन्, ‘यदि अन्यथा लेनदेन छैन भने सुरक्षा संवेदनशीलतासँग समेत जोडिने विमानस्थलमा किन सबैभन्दा अयोग्य कर्मचारीलाई पठाइन्छ ?’

भिजिट भिसा |मानव तस्करी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here