बाढीले थपियो चुनौती, विकास खर्च १४ वर्षकै न्यून
काठमाडौँ । अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दबाबका बहुआयामिक असरहरू औंल्याएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनमा भोटेकोशी बाढीका कारण चालु आर्थिक वर्षमा राजस्व संकलन र आर्थिक वृद्धि गम्भीर रूपमा प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
अर्थमन्त्रालयले विकास खर्चको दयनीय अवस्था, घट्दो वैदेशिक सहायता र बढ्दो सार्वजनिक ऋणले अर्थतन्त्रको संरचनात्मक कमजोरीलाई उजागर गरेको छ ।
आर्थिक वृद्धि खुम्चिने
अर्थ मन्त्रालयका अनुसार भदौ १० गतेको भोटेकोशी बाढीले अर्थतन्त्रमा गम्भीर असर पारेको छ । बाढीका कारण ४३१ मेगावाट देशको कुल जडित क्षमताको करिब १० प्रतिशत विद्युत् उत्पादन प्रभावित भएको छ ।
पर्यटन र पूर्वाधारमा पुर्याएको क्षतिका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ११ प्रतिशत अर्थात् ७ खर्ब २३ अर्ब बराबरको पुनर्निर्माण आवश्यकता सिर्जना गरेको छ ।
राहत तथा पुनर्निर्माणमा बजेटको एक तिहाइभन्दा बढी खर्च हुने अनुमानले सरकारको दायित्व ह्वात्तै बढाएको छ । अर्कोतर्फ रसुवा–तातोपानी नाका बन्द र कर छुट लगायतका प्रावधानका कारण चालु वर्ष राजस्व संकलनमा थप चाप पर्ने मन्त्रालयको निष्कर्ष छ ।
चालु आर्थिक वर्षमा सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने निश्चित भएको छ । मन्त्रालयले चालु आवमा आर्थिक वृद्धि ३.५ देखि ४.० प्रतिशतको बिचमा मात्र सीमित हुने प्रक्षेपण गरेको छ ।
यता विश्व बैंकले ३.७ प्रतिशत र एसियाली विकास बैंकले ४.१ प्रतिशत अनुमान गरेका छन । गत आव २०८२/८३ मा भने ३.८५ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान छ ।
पुँजीगत खर्च १४ वर्षयताकै कम
अर्थ बुलेटिनले पुँजीगत खर्चको निराशाजनक अवस्था देखाएको छ । गत आवमा सरकारले जम्मा १ खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँ मात्र विकास खर्च गर्न सक्यो, जुन पछिल्लो डेढ दशक १४ वर्ष यताकै न्यून देखिएको छ ।
विकासभन्दा अन्य क्षेत्र राज्यको प्राथमिकतामा पर्दा पूँजीगत खर्च खुम्चिँदो क्रममा छ । आव २०८२/८३ मा २ खर्ब २३ अर्ब पुँजीगत खर्च भएको थियो ।
त्यसमाथि आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च गर्ने असारे विकासको प्रवृत्ति ज्युँकात्युँ छ । तथ्यांक अनुसार गत आवको प्रथम त्रैमास साउन–असोजमा जम्मा १० प्रतिशत पुँजीगत खर्च भएकोमा अन्तिम त्रैमास वैशाख–असारमा झण्डै आधा अर्थात् ४९.८६ प्रतिशत खर्च भएको थियो ।
अझ असार महिनामा मात्रै कुल विकास खर्चको ३०.८६ प्रतिशत बजेट भुक्तानी भएको छ । समग्र बजेट खर्चको हिसाब हेर्दा पनि कुल बजेट खर्चको ३२.१२ प्रतिशत हिस्सा अन्तिम त्रैमासमै र १३.७६ प्रतिशत हिस्सा असार महिनामा मात्रै खर्च भएको बुलेटिनमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्