बाढीको जोखिममा सिराहाका दर्जनौँ बस्ती : बलान खोलाले कटान गर्न थालेपछि आँप बगैँचा काट्दै स्थानीय 

बलान खोलाको बाढीले आँपको बगैंचा नै कटानमा परेपछि सखुवानन्कारकट्टी गाउँपालिका– ४ सिम्राहा गाउँका ७५ वर्षीय हरिलाल यादव चिन्तित छन् । र, उनले सगोलमा तीन भाइको ११ कट्ठाभन्दा बढी जग्गाको बगैँचाका आँपका रुख जेसिबीले उखेल्न थालेका छन् । बाढीले बगैँचा नै कटान गर्न थालेपछि लहान नगरपालिका– २३ गाढाको पूर्वी क्षेत्रमा पर्ने बलान खोलासँगै टाँसिएको तिलेबोना गाउँका एक दर्जन किसान धमाधम आँपका बोट काटिरहेका छन् । कैयौँ किसान बाढीले जग्गा कटान गरिरहेको टुलुटुल हेरेर बस्न बाध्य छन् । 

६२ वर्षीय हरिनारायण यादवले आँपको बगैँचा रहेको १२ कट्ठामध्ये बाढीले पाँच कट्ठा काटेपछि बाँकी रहेको बगैँचाको आँप, जामुन, कटहरको रुख काटिरहेको सुनाए । ‘बगैँचा रहेको जग्गा कटान भए पनि बाँकी भागको सुरक्षाका लागि तत्काल नियन्त्रण नगरिए करिब सय घरको बस्ती नै जोखिममा पर्न सक्छ,’ उनले भने, ‘हिउँदमा गर्नुपर्ने तटबन्धको काम आर्थिक वर्षको अन्तिमतिर गर्ने, त्यो पनि अधुरै छोडिँदा स्थानीयको उठीबास हुने अवस्था भयो ।’ 

frontline

४० वर्षीया आशा मुखियाले बलान खोलाको बाढीले नै सुकुम्बासी बनाएको गुनासो गरिन् । ‘खोला किनारमा भएको सात कट्ठा जग्गा बाढीले बगाएपछि सुकुम्बासी बनेकी छु,’ उनले भनिन् । ८५ वर्षीय घोघन परसैला यादव भन्छन्, ‘करिब १५ वर्षअघिसम्म तिलेबोना गाउँको दुई किलोमिटर पूर्व बग्ने बलान खोला अहिले गाउँबाट पाँच सय मिटरको दूरीबाट बगिरहेकाले गाउँ जोखिममा छ ।’

तिलेबोना गाउँसहित स्थानीय किसानको खेतीयोग्य जग्गा, बगैँचा जोगाउन पछिल्लो जेठमा थालिएको तटबन्ध निर्माण गर्नैपर्ने ठाउँमा छोडिएपछि किसानहरूले ठूलो क्षति भोग्नुपरेको जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेशकुमार महतोले बताए । उनका अनुसार लहान नगरपालिकाको ५० लाख, प्रदेश सरकारको २० र २५ लाखसहित ९५ लाख लागतमा तीनवटा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत बलानमा करिब पाँच सय मिटर तटबन्ध निर्माणको काम गरिएको थियो । तर, कटानको जोखिम भएको करिब दुई सय मिटर खण्डका लागि बजेट नै पुगेन । स्थानीयसमेत रहेका उनले आफ्नै पहलमा प्रदेशका मुख्यमन्त्री, सचिवलाई हारगुहार गरी बलान नदी नियन्त्रणका लागि छुट्याउन लगाएको ५५ लाख रुपैयाँ पनि प्रदेश सरकार फेरिएपछि ल्याउन नसक्दा ठूलो समस्या भएको सुनाए । 

पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको मध्यभागमा पर्ने गोलबजार नगरपालिकाको सडकआसपास क्षेत्र डुबानमा पर्ने गरेको छ । चिनियाँ कम्पनीले स्तरोन्नति गरिरहेको पूर्व–पश्चिम सडकको गोलबजार खण्डमा पुरानो सडक छोडेर दायाँबायाँ खाल्डो बनाइएकाले पानी निकास नहुँदा डुबानमा परेको स्थानीय बताउँछन् । गोलबजार– २ को गुरुधाम चोकदेखि एबी मलसम्मको खण्डमा सडकको दायाँबायाँ करिब तीन–चार फिटसम्म पानी जमेकाले स्थानीयले सास्ती भोग्दै आएको भए पनि जनप्रतिनिधिले चासो नदिएको स्थानीय गणेश साहको गुनासो छ । 

करिब एक सातादेखि परेको अविरल वर्षापछि खोलानालामा आएको बाढीले सिराहामा धेरै ठाउँ कटान र डुबानमा छन् । पूर्व–पश्चिम सडकअन्तर्गत गोलबजार नगरपालिकाको सडकआसपास क्षेत्र डुबानमा परेको छ । चिनियाँ कम्पनीले स्तरोन्नति गरिरहेको पूर्व–पश्चिम सडकको गोलबजार खण्डमा पुरानो सडक छाडेर दायाँबायाँ खाल्डो बनाइएकाले पानी निकास नहुँदा डुबानमा परेको स्थानीय बासिन्दा बताउँछन् । गोलबजार– २ को गुरुधाम चोकदेखि एबी मलसम्मको खण्डमा सडकको दायाँबायाँ करिब तीन–चार फिटसम्म पानी जमेकाले स्थानीयले सास्ती भोग्दै आएको भए पनि जनप्रतिनिधिले चासो नदिएको स्थानीयको गुनासो छ । 

अविरल वर्षाका कारण गोलबजार नगरपालिका– ११ स्थित बल्कवा बजार डुबानमा परेको छ । वडा कार्यालय जाने मुुख्य बाटो, बजार क्षेत्रको बाटो र बस्तीमा बर्सात्को पानी जमेर डुबान भएको वडाध्यक्ष सोहेव अनवरले जानकारी दिए । ‘वडा क्षेत्रलाई दिने न्यून बजेटले आवश्यकताअनुसार काम गर्न नसक्दा जनताले सास्ती भोग्नुपरेको छ,’ उनले भने ।

लहान नगरपालिका– ३ सुन्दरपुर बस्तीनजिकको बाँध बलान खोलामा आएको बाढीले कटान गर्न थालेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको छ । लहान नगरपालिका विपत् व्यवस्थापन समितिका सदस्यसचिव भगवती चौधरीका अनुसार बुधबार मध्याह्न स्थलगत निरीक्षण गर्दा कटानले बाढी बस्तीमा पस्न सक्ने जोखिम देखिएपछि सुरक्षा निकायसँग समन्वय गरी करिब ४० घरका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको हो । 

स्थानीय खुट्टी, चहका खोला मिसिने बलान नदीमा आएको बाढीले लहान नगरपालिकाअन्तर्गत ३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेवोना तथा भगवानपुर गाउँपालिकाको वडा नम्बर १, ३ र ४ अन्तर्गत भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here