बागलुङमा ढलको समस्या समाधानका लागि बृहत् परियोजना सञ्चालन गरिने

२४ कार्तिक, बागलुङ । पछिल्लो समय शहरी क्षेत्रमा बजारको विकाससँगै चुनौती बनिरहेको छ ढल व्यवस्थापन । बढ्दो जनघनत्वका कारण बजार क्षेत्रबाट निस्कने ढलका कारण बर्खायाममा डुवान समेत हुँदै आएको बागलुङको सदरमुकाम बागलुङ बजार क्षेत्रमा त्यो समस्या समाधान हुने भएको छ ।

बागलुङ नगरपालिकाले ढल व्यवस्थापनका लागि सवा १ अर्ब भन्दा बढी लगानीमा ट्रिटमेन्ट प्लान्टको काम सुरु गर्ने भएको हो । बागलुङको सदरमुकाम बागलुङ बजारमा विद्यमान ढलको समस्या समाधानका लागि बृहत् परियोजना सञ्चालन गरिने भएको छ ।

frontline

बागलुङ नगरपालिकाको बजार क्षेत्र वडा नम्बर १, २, ३ र चारबाट निस्कने ढल र शौचालयको व्यवस्थापनका लागि प्रशोधनसहितको बृहत् ट्रिटमेन्ट प्लान्ट आयोजना सञ्चालनको काम सुरु गर्न लागिएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा नगरपालिकाका ४ वटा वडाको ढल व्यवस्थापन गर्न प्रशोधनसहितको योजना कार्यान्वयनका लागि भौगोलिक अध्ययन अघि बढाइएको बागलुङ नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर त्रिलोचन गिरीले बताए ।

नगरपालिकाको सबैभन्दा धेरै जनसंख्या रहेका वडाहरुमा वर्षौंदेखि चुनौतीको रुपमा ढलको समस्या रहेको छ । सामान्य वर्षातमा पनि नालीको फोहोर पानी घर–घरमा पस्ने समस्याले नगरबासी निकै हैरान भएकाले नगरपालिकाको पहलमा १ अर्ब १५ करोड भन्दा बढी लागतमा आकाशे पानी, ढलसहित शौचालयको फोहोर समेत प्रशोधनका लागि नगरपालिकाले सम्भाव्यता अध्ययन गरि प्रक्रिया अगाडि बढाएको बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्काले बताए ।

साविक धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको बागलुङ बजार ढलकै कारण वर्षेनी डुवानमा पर्दै आएको छ । बजार क्षेत्रका ४ वटा वडाहरुको ढल काठेखोलाको आडमा संकलन गरि प्रशोधन गर्न भौगोलिक अवस्थाको अध्ययन सुरु गरिएको छ ।

४ वटा वडाको पानी एकैठाउँमा संकलन गरि आधुनिक प्रविधिसहितको प्रशोधन केन्द्र निर्माण गरि ढलको व्यवस्थापनका लागि नगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने सार्वजनिक जग्गाको प्रयोग गरिने भएको छ ।

ढलजन्य फोहोर प्रशोधनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रक्रियाका लागि स्थलगत अध्ययन अघि बढाइसकेको छ । नगरपालिकाको सबैभन्दा ठूलो योजनाको रुपमा मानिएको यो ट्रिटमेन्ट प्लान्टको योजना सफल पार्न नगरपालिका हरतरहले लागिरहेको र यसको कार्यान्वयनपछि बागलुङ बजार सदाका लागि सफा र सुन्दर बन्ने बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

बिभागले भौगोलिक अवस्थाको अवलोकन गरिएको र यसको थप अध्ययन र प्राविधिक मूल्याङ्ंकन गरि काम अगाडि बढाउने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडीले बताए ।

विभागका महानिर्देशक दुवाडी, उपमहानिर्देशक राम कुमार श्रेष्ठ, आयोजना प्रमुख रामचन्द्र काफ्लेसहित बागलुङ नगरपालिकाको टोलीले सम्भावित भौगोलिक अवस्थाको अध्ययन गरेको हो ।

बागलुङ नगरपालिकाको एक आर्थिक वर्षको बजेट भन्दा धेरै लागतमा निर्माण हुने नगरपालिकाको गौरवको योजना मानिएको यो कार्य सुरु हुन सकेमा देशको पहाडी क्षेत्रमै नमुना हुने ठानिएको छ ।

यस अगाडि नगरपालिकाले यो प्रविधि कार्यान्वयन गरिएको काठमाडौंमा अवलोकन समेत गरिसकेको छ भने पहाडी क्षेत्रमा गोरखाको शहीद लखन गाउँपालिकाको मनकामना बजारमा यो योजना निर्माण गरि सफल कार्यान्वयन गरिएको छ ।

बागलुङ नगरपालिकाको अघिल्लो नेतृत्वले बजारको ढललाई दुई वटा ठाउँमा ट्रिटमेन्ट प्लान्ट बनाउने भनि प्राविधिक मूल्याङ्कन गरेपनि परियोजनाको काम अगाडि बढ्न सकेको थिएन । तर, अब भने एकै ठाउँमा बनाउने गरी काम अगाडि बढाउने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here