बागमतीमा मुख्यमन्त्री बन्न दबाब बढाउँदै इन्द्र, बहादुरले थेग्लान् ?

लामाले कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद बानियाँसँग पनि ९ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेकाले उनलाई सत्ता हस्तान्तरणका लागि पार्टीभित्रबाट दबाब परेको नेताहरूको भनाइ छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- बागमती प्रदेशका मुख्यमन्त्री लामालाई उनकै पार्टी कांग्रेसका नेताहरूले सत्ता हस्तान्तरणका लागि दबाब बढाउन थालेका छन् ।
- बागमती सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पनि पार्टीभित्र सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषय उठिरहेको पुष्टि गरे ।
- तर, यसबारे प्रदेश संसदीय दलमा छलफल नभएको लामिछानेले बताए ।
११ जेठ, हेटौंडा । बागमती प्रदेश स्थापनाको आठ वर्षमा नेपाली कांग्रेसबाट पहिलो पटक सरकारको नेतृत्व गरेका नुवाकोटका बहादुरसिंह लामालाई उनकै पार्टीका नेताहरूले सत्ता हस्तान्तरणका लागि दबाब बढाउन थालेका छन् ।
सत्ता साझेदार दल एमालेसँग आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेर ८ साउन २०८१ मा लामा मुख्यमन्त्री बनेका थिए । उनी बागमतीमा कांग्रेसका पहिलो मुख्यमन्त्री हुन् ।
लामाले कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँसँग पनि ९ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेकाले उनलाई सत्ता हस्तान्तरणका लागि पार्टीभित्रबाट दबाब परेको नेताहरूको भनाइ छ ।
बानियाँले सोही सहमति सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेका देउवा पत्नी आरजुलाई समेत सम्झाएका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा केही समय अघि बागमतीको मुख्यमन्त्री हेरफेरको विषयले प्रवेश पाएको मुख्यमन्त्री लामा निकटका एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।
‘उक्त भेटमा सभापति (देउवा) ज्यूले केही बोल्नु भएन । आरजु भाउजूले भागबन्डाकै कुरा आयो भने सल्लाह गरौंला भनेर मात्रै बोल्नु भएको छ । सत्ता हस्तान्तरण गर्नु भनेर स्पष्ट कुरा भएको छैन,’ ती सांसदले भने, ‘इन्द्रजीले मुख्यमन्त्री बन्न निकै कसरत गरिरहनु भएको छ ।’
बागमती सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पनि पार्टीभित्र सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषय उठिरहेको पुष्टि गरे । तर यसबारे प्रदेश संसदीय दलमा छलफल नभएको उनले बताए ।
‘सरकारको नेतृत्व हस्तान्तरणलाई लिएर राजनीतिक चर्चा भइरहेको मैले पनि सुनेको हुँ । तर, यो कुरा संसदीय दलमा छलफलको विषय बनेको छैन,’ लामिछानेले अनलाइनखबरसँग भने ।
दलको नेता हुँदा मुख्यमन्त्री पाएका थिएनन् बानियाँले
प्रदेशसभाको पहिलो कार्यकालमा पूरा पाँच वर्ष बानियाँ दलको नेता थिए । दलको नेता हुँदै मंसिर २०७८ मा उनी पार्टी बागमती प्रदेश सभापतिमा निर्वाचित भएका थिए । तर उनी मुख्यमन्त्री बन्न भने पाएनन् ।
२०७४ देखि २०७९ सम्म बागमती प्रदेशको पहिलो कार्यकालमा तीन कम्युनिस्ट मुख्यमन्त्री भएका थिए । नेकपा हुँदा डोरमणि पौडेल, एमाले विभाजनपछि दुई महिना अष्टलक्ष्मी शाक्य र एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए ।
कात्तिक २०७८ सालपछि बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना थियो । तर केन्द्रमा भएको राजनीतिक भागबन्डा अनुसार बागमती प्रदेश सरकारको नेतृत्व गर्ने अवसर एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले पाएका थिए । ४ मंसिर २०७९ सालको दोस्रो प्रदेशसभा निर्वाचनपछिको कार्यकालमा बानियाँले दलको नेता दोहोर्याउन पाएनन् । त्यसपछि उनको मुख्यमन्त्री बन्ने चाहना भताभुङ्ग भयो ।
१३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बहादुरसिंह लामासँग ५ मतले पराजित भएपछि बानियाँ मुख्यमन्त्रीको दाबीबाट पछि हट्न बाध्य भए । दलको निर्वाचनमा लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।
दलको नेता चुनिएकाले लामा ८ साउन २०८१ देखि मुख्यमन्त्री छन् । हाल सांसदको हैसियतमा रहेका बानियाँ दलको नेता चुनिएर मुख्यमन्त्री बन्ने प्रयासमा रहेको कांग्रेस स्रोतले बतायो ।
प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ गरी ११० सिट संख्या रहेको बागमती प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेससँग ३७ सांसद छन् ।
दलको नेता नै मुख्यमन्त्री हुने कानुनी व्यवस्थाका कारण बानियाँलाई बागमतीको मुख्यमन्त्री बन्न दलको नेता चुनिनुपर्छ । दलको नेता बन्न पुनः चुनाव वा सर्वसम्मतमध्ये एउटा विकल्प रहन्छ ।
तर यी दुवै सम्भावना कम रहेको एक नेता बताउँछन् । मुख्यमन्त्री लामाले बानियाँलाई दलको नेता हस्तान्तरण गर्ने र बानियाँले चुनाव जित्ने दुवै सम्भावना नभएको ती सांसदले सुनाए ।
ती सांसदका अनुसार बहादुरसिंह लामालाई संस्थापन पक्षले साथ दिँदा बानियाँलाई शेखर–गगन र प्रकाशमान सिंह पक्षको समर्थन थियो । अहिले प्रकाशमान सभापति देउवासँग नजिक रहेको दाबीले बानियाँले दलको निर्वाचन जित्ने सम्भावना कमजोर रहेको सांसदहरूको विश्लेषण छ ।
कांग्रेस बागमतीको अधिवेशनसम्म बानियाँ सभापति देउवा पक्षका उम्मेदवार थिए । संसदीय दलको निर्वाचनमा गगन थापासँग नजिक थिए । दलको निर्वाचनमा गगन पक्षका नेताहरू हेटौंडामा बसेर बानियाँको पक्षमा लबिङ गरेका थिए ।
लामालाई संस्थापन पक्षबाट गृहजिल्ला नुवाकोटकै पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले अगाडि सारेका थिए । डिना मकवानपुरकै भए पनि बानियाँसँग उनको सम्बन्ध राम्रो नभएको उनीहरूलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट चुनाव लडेकी डिनालाई आफूलाई हराउन बानियाँले भूमिका खेलेको बुझाइ थियो । यस विषयमा पार्टीमा बानियाँविरुद्ध उजुरीसमेत परेको थियो ।
कांग्रेस नेताहरूको दाबीअनुसार बानियाँ फेरि गगन थापा समूह छोडेर पूर्णबहादुर खड्कासँग नजिक भएका छन् । ‘पूर्णबहादुरज्यू पनि संस्थापन पक्षकै भएकाले उहाँमार्फत संस्थापनको समर्थन पाएर मुख्यमन्त्री हुन्छु कि भन्ने इन्द्रजीको योजना होला,’ ती सांसदले सुनाए ।
आलो–पालो मुख्यमन्त्रीको सहमति कहाँ छ ?
बानियाँले मुख्यमन्त्री आफू हुनुपर्ने मागलाई अगाडि सार्दा बहादुरसँगको पूर्वसहमतिलाई हतियार बनाएका छन् ।
बानियाँ पक्षले मुख्यमन्त्री आधा–आधा हुने लिखित सहमति गरेको दाबी गर्दै आएको छ भने लामा पक्षले सरकार गठनको परिस्थितिमा मौखिम प्रतिबद्धता मात्रै जाहेर भएको बताउँदै आएको छ । मुख्यमन्त्री बन्नु अघि परिस्थितिलाई आफ्नो पक्षमा पार्न लामाले बानियाँसँग मौखिक सहमति मात्रै जनाएकाले त्यसको अर्थ नहुने तर्क लामा पक्षका सांसदहरूले गरेका छन् ।
‘बहादुर दाई दयाँबायाँ केही जान्नु हुन्न । त्यतिबेला इन्द्रजीले उहाँलाई धेरै नै प्रेसर दिनु भएको थियो । मुख्यमन्त्री बन्ने बेलामा प्रेसर किन लिइरहने भनेर बहादुरसिंह लामा दाइले हुन्छ भनेर भन्दिनु भएछ । तर त्यो एउटा परिस्थितिजन्य घटना हो,’ ती सांसद सुनाउँछन् ।
यता बानियाँ पक्षका एक सांसदले भने सहमतिको फोटो मोबाइलमा रहेको दाबी गरेको छ । ‘९ महिनापछि सरकार छोड्ने सहमति भएको हो । त्यसको फोटो इन्द्र दाइसँग छ,’ ती सांसदले अनलाइनखबरसँग भने ।
सरकारको नेतृत्व लिने प्रयासको सन्दर्भमा कुराकानीका लागि सांसद बानियाँलाई पटक–पटक सम्पर्क गर्न खोज्दा पनि उनको फोन उठेन ।
प्रतिक्रिया दिनुहोस्