बन्द जनकपुर चुरोट कारखानाको एक वर्षमा १९ लाख घाटा,सञ्चित नोक्सानी २ अर्ब ९० करोड ८८ लाख
काठमाडौं । ११ वर्ष अगाडिदेखि उत्पादन बन्द गरेको जनकपुर चुरोट कारखानाले एक वर्षको अवधिमा १९ लाख रुपैयाँ घाटा बेहोरेको छ । हरेक वर्ष ६१ लाख रुपैयाँभन्दा बढी दायित्व सिर्जना गरेको यो कम्पनीले ४२ लाख रुपैयाँ आय गरेको छ ।
यसरी उत्पादन नै बन्द भएको कम्पनीले समेत हरेक वर्ष १९ लाख रुपैयाँ भन्दा बढीको नोक्सानी बेहोर्नु परेको पाइएको छ । यसरी हुने नोक्सानी परिपूर्ति गर्न सरकारले अतिरिक्त लगानी गर्नुपर्ने हुन्छ । बन्द गरिसकेको कम्पनीमा यसरी गरिने लगानी अनुत्पादक बनेको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नोक्सानी बेहोरेको १९ लाखसहित जनकपुर चुरोट कारखानाको सञ्चित नोक्सानी २ अर्ब ९० करोड ८८ लाख पुगेको छ ।
सम्पत्तिभन्दा सञ्चित नोक्सानी धेरै
सार्वजनिक संस्थानलाई कौडीको भाउमा बेचेको आरोप सरकारलाई लाग्छ । बिक्रीपछि समेत सो कम्पनीको सही व्यवस्थापन गर्न नजान्दा जनकपुर चुरोट कारखानामा सरकारले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।
तथ्यांक अनुसार जनकपुर चुरोट कारखानाको सम्पत्ति २५ करोड ९७ लाख रुपैयाँ देखिएको छ । कारखानाको स्थिर सम्पत्ति २ करोड ४३ लाख, लगानी ४ करोड ९५ लाख र चालु सम्पत्ति १८ करोड ५९ लाख रुपैयाँ रहेको देखिएको छ । तर, नोक्सानी भने ३ अर्ब हाराहारी पुगेको हो ।
जनकपुर चुरोट कारखाना २०६७ सालदेखि बन्द छ । यहाँ अहिले २१ जना कर्मचारी कार्यरत छन् ।
कारखानाले अनुत्पादक क्षेत्रमा गरेको ५ करोड लगानी डुब्दै
नेपाल सरकारले मात्र होइन, स्वंम जनकपुर चुरोट कारखानाले समेत अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने देखिएको छ ।
यस्तो रकम ४ करोड ९५ लाख १४ हजार रुपैयाँ रहेको छ । जनकपुर चुरोट कारखानाले सूर्ती विकास कम्पनीमा १ करोड, बुटवल धागो कारखानामा २ करोड ९३ लाख ५५ हजार, सेती चुरोट कारखाना लिमिटेडमा १ करोड १ लाख ५९ हजार गरी कुल ४ करोड ९५ लाख १४ हजार रुपैयाँ लगानी गरेको छ ।
यसमध्ये सूर्ती विकास कम्पनी खारेजीको प्रक्रियामा छ । बुटवल धागो कारखाना र सेती चुरोट कारखाना समेत बन्द भएका कारण यी कम्पनीको शेयर मूल्य शून्यमा पुगेको छ । जसले गर्दा कम्पनीले अनुत्पादक क्षेत्रमा गएको ५ करोड लगानी डुब्ने अवस्था आएको हो ।
बजार मूल्यभन्दा निकै सस्तोमा जग्गाको मूल्यांकन
उत्पादन बन्द भएपनि अहिले पनि जनकपुर चुरोट कारखानाको भौतिक सम्पत्ती भने यथावत रहेको छ । तर, यसको मूल्यांकन निकै सस्तो गरिएको छ । तथ्यांक अनुसार कारखानाको स्वामित्वमा जनकपुरमा मात्र ३३ बिघा जमिन छ ।
महोत्तरीमा २ बिघा, पोखरामा ४ रोपनी ६ आना, पर्वतमा ३ रोपनी ९ आनासहित देशभर २१ स्थानमा जग्गा र भवन रहेको छ । तर, कारखाना व्यवस्थापनले बजार मूल्यको तुलनामा जग्गाको मूल्यांकन निकै कम देखिएको छ । जसले गर्दा कारखानाको अवस्था दयनीय देखिएको हो । वासलातमा कारखानाले जग्गाको भाउ मात्र १ करोड १० लाख रुपैयाँ देखाएको छ ।
महालेखा परीक्षक कार्यालयले वर्तमान बजार मूल्य अनुसार जग्गाको मूल्यांकन नगरेको भन्दै सचेत गराएको छ । साथै, जनकपुर चूरोट कारखानाको जग्गा प्रदेश कार्यालयलाई दिँदा समेत क्षेत्रफल र मूल्य नखुलाई हस्तान्तरण भएको प्रति प्रश्न उठेको छ ।
के हुन्छ कारखानाको अस्तित्व
११ वर्षदेखि बन्द रहेको कारखानालाई सरकारले घाटा खाएरै पालिरहेको छ । तर, कारखानाले भने उत्पादन दिन बन्द गरिसकेको छ ।
नेपाल सरकारबाट सबै कर्मचारीले अवकास समेत लिएको अवस्थामा महालेखाले जनकपुर चुरोट कारखानाको अस्तित्वबारे स्पष्ट हुन सरकारको ध्यानाकर्षण गराएको छ । कारखानाको भविष्यबारे छिटो निर्णय गरि सबै सम्पत्तिको दायित्वको अवस्था र मूल्य यकिन गरि कानूनी रुपमा गर्नुपर्ने सबै प्रक्रिया सम्पन्न गर्न र त्यसपछि कारखानाको विघटन वा खारेजीबारे निर्णय लिन समेत महालेखाले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्