बजेटमा नारै नारा-‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अघिल्ला बजेटहरू जस्तै महत्त्वाकाङ्क्षी नाराहरू समेटिएका छन् । अघिल्ला आवहरूमा नाराहरू धेरै भए पनि कार्यान्वयन नहुँदा आलोचना हुँदै आएको थियो । पुराना राजनीतिक दलहरूलाई पन्छाएर आएको नयाँ ‘बालेन सरकार’ले पनि परम्परागत ढङ्गले नाराहरू ल्याएको हो ।
बजेटले सामाजिक न्याय, उत्पादन वृद्धि र डिजिटल रूपान्तरणलाई मूल आधार बनाउँदै दर्जनौँ लोककल्याणकारी नाराहरूलाई अघि सारेको छ । विशेषगरी सामाजिक सुरक्षाको क्षेत्रमा धेरै नाराहरू रहेका छन् । सामाजिक सुरक्षा भत्तामा ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ नारा रहेको छ । आर्थिक रूपमा सबल नागरिकलाई राज्यको सामाजिक सुरक्षा सुविधा स्वैच्छिक रूपमा त्याग्न प्रेरित गर्ने भन्दै सरकारले नारा अगाडी सारेको हो ।
यो बजेटले ७५ वर्षअघिको ‘जनताको जीवनस्तर बेहतर’ बनाउने सङ्कल्प नारालाई पुनः स्मरण गरेको छ । अर्थमन्त्रीले बजेट कार्यान्वयनका लागि ‘मिसन मोड’ नारा दिएका छन् । यस्तै लगानीकर्तालाई सहज बनाउन तीन महिनाभित्रै स्वचालित रुट प्रणाली लागू हुने गरी ‘लगानी एक्सप्रेस’ अभियान घोषणा गरिएको छ । साना उद्यमीको सहयोगका लागि ‘फस्ट लस रिकभरी’ र कर प्रणालीमा सुधारका लागि ‘व्यवसायमैत्री कर नीति’लाई बजेटले विशेष प्राथमिकता दिएको छ ।
पर्यटन क्षेत्रमा सरकारले ‘भिजिट नेपाल वर्ष २०८५’ र ‘नेपाल आरोग्य वर्ष २०२७’ को घोषणा गर्दै मुलुकलाई आरोग्य पर्यटनको केन्द्र बनाउने लक्ष्य राखेको छ । यस्तै ‘शालिग्राम पथ’, ‘निर्वाण पथ’ र उच्च पहाडी क्षेत्रका लागि ‘डाँफे रुट’ जस्ता रणनीतिक पदमार्गहरूको विकास गर्न पनि नारा घोषणा गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न ‘किसान–केन्द्रित सेवा प्रणाली’ मा रूपान्तरण गर्ने योजना अघि सारिएको छ ।
बालबालिकाका लागि ‘सडक बालबालिकामुक्त राष्ट्र’ र समाजमा रहेका कुरीति अन्त्यका लागि ‘सामाजिक रूपान्तरण अभियान’ सञ्चालन गरिने बजेटमा उल्लेख छ । शैक्षिक संस्थाहरूको सुधारका लागि ‘सफा शौचालय अभियान’ लाई समेत बजेटले समेटेको छ । वातावरण र पूर्वाधारका क्षेत्रमा सरकारले ‘धुलोमुक्त एवम् खाल्टाखुल्टीमुक्त’ सडक, ‘ढलमुक्त नदी अभियान’ र तराईको खानेपानी सुधारका लागि ‘आर्सेनिकमुक्त तराई अभियान’ सञ्चालन गर्ने भएको छ ।
सुशासनका लागि ‘हेलो सरकार’ संयन्त्रको सुदृढीकरण र पुँजी बजारमा ‘शून्य सहनशीलताको नीति’ लिइएको छ । प्रवासमा रहेका नेपालीहरूका लागि ‘एक पटकको नेपाली, सधैँको नेपाली ’ भन्ने नाराका साथ नागरिकता सम्बन्धी प्रावधानमा सुधार गर्ने घोषणा गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्