पूर्वराष्ट्रपति र चिनियाँ नेताबीच ६ मीनेटको त्यो गोप्य वार्ता

उत्तरी छिमेकी चीनको साताव्यापी भ्रमण सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेपाल फर्किएको केही दिन भइसकेको छ । तर, सक्रिय राजनीतिमा फर्किने अन्तिम तयारीमा रहेको चर्चाका बीच सम्पन्न भ्रमणले छोडेको राजनीतिक तरंग भने अझै सकिएको छैन । दुई कार्यकाल मुलुकको सर्वोच्च पदमा रहेकी भण्डारीलाई मियो बनाएर वामपन्थी एकता गराउने प्रयास भित्रभित्र चलिरहेको भनिएका बेला चीनमा पाएको उच्च सम्मान र उच्चस्तरीय भेटवार्ताले राजनीतिक वृत्त गर्माएको हो ।

चीन सरकार र कम्युनिष्ट पार्टी (सिपिसी), विदेश विभागको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी जेठ १० गते चीन जानुभएको थियो । एमाले नेताहरूको समेत नेतृत्व गर्दै उहाँले चीनका उपराष्ट्रपति, जनकंग्रेसका पूर्वउपाध्यक्ष, विदेश विभाग प्रमुखलगायत सिपिसीका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । उपराष्ट्रपति हान चेङसँगको संक्षिप्त एकल वार्ता भने विशेष रह्यो ।

frontline

चीनको दोस्रो वरियताका नेता चेङसँग भेटवार्ता गर्ने पहिले नै तय थियो, तर एकल वार्ता भनिएको थिएन । दुनहुआङस्थित सम्मेलन कक्षमै अन्य देशका प्रतिनिधिहरूलाई सामुहिक भेटेका उपराष्ट्रपतिले नेपालका पूर्वराष्ट्रपतिसँग भने ‘वान टु वान’ वार्ता गर्न चाहनुभयो । सम्मेलन उद्घाटनपछि १५ मीनेटको ब्रेक समयमा भित्रपट्टिको गोप्य कोठामा नेपालका क्यामेराम्यानलाई समेत नराखी करिब ६ मीनेट एकल वार्ता भएको थियो, जसलाई अर्थपूर्ण मानिएको छ । विश्व महाशक्ति राष्ट्रका व्यस्त नेताले भण्डारीसँगको भेटलाई प्राथमिकतामा राखेबाट यो भ्रमणलाई चीनले उच्च महत्व दिएको प्रष्टै बुझिन्छ ।

एकल भेटवार्तामा भएका कुराकानीबारे भण्डारीले खुलाउनुभएको छैन । तर, भ्रमण दलमा सहभागी एक सदस्यका अनुसार प्रायः सबै भेटमा चिनियाँ नेताले नेपालका कम्युनिष्ट पार्टीहरू एक होउन् भन्ने अपेक्षा राखेका थिए । नेपालका कम्युनिष्टहरू एक हुँदा बलियो शक्ति बन्ने र त्यसले स्थायित्व दिने भएकाले आवश्यक पहलकदमी लिन चिनियाँले पूर्वराष्ट्रपति भण्डारीलाई आग्रहसमेत गरेको बताइएको छ । उपराष्ट्रपति चेङलाई भेटेर फर्किएपछि पूर्वराष्ट्रपतिको मुहारमा छुट्टै चमक देखिएकाले वाम एकताकै विषयमा कुराकानी भएको वा एमाले नेतृत्वमा पुनरागमनबारे सोधिएको हुन सक्ने उनै भ्रमण टोलीका सदस्यले बताए ।

त्यसअघि जनकंग्रेसको स्थायी समितिका पूर्व  उपाध्यक्ष चि पिङसुआनसँग पूर्वराष्ट्रपतिको प्रतिनिधिमण्डलस्तरीय भेटमा पनि दुई देश र पार्टीबीचको सम्बन्ध, आपसी हितका साथै वाम एकताबारे लामो कुराकानी भएको थियो । करिब १ घण्टा लामो भेटमा पूर्वउपाध्यक्षले मुख्यतः दुई वटा चासो राखेको बताइएको छ । ‘उहाँको कन्सर्न के थियो भने नेपालमा राजनीतिक स्थायित्व नहुँदा हामीले घोषणा गरेको सहयोग पनि रोकियो । तपाईंहरूले लैजाने वातावरण पनि बनाउन सक्नुभएन’, भ्रमण टोलीका उनै सदस्यले खुलाए, ‘अर्कोचाहिँ कम्युनिष्ट पार्टीहरू मिलुन् भन्ने शुभेच्छा नै हो ।’ नेपालको शिक्षा, पूर्वाधारलगायत क्षेत्रमा खर्च गर्नेगरी चीनले गरेको सहयोग घोषणा कार्यान्वयनमा नआएकोमा पूर्वराष्ट्रपतिले चासो राखेपछि उपाध्यक्षले त्यस्तो जवाफ दिनुभएको हो ।

कुनै बेला राजसंस्थासँग घनिष्ट सम्बन्ध बनाएको चीन गणतन्त्रपछि नेपालमा बलियो र स्थायी शक्तिको खोजीमा देखिन्छ । तत्कालीन नेकपालाई त्यस्तो शक्तिका रूपमा हेरेको चीनले पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गरेको थियो । नेपाली कांग्रेसलगायत अन्य गैरवामपन्थी पार्टीसँग पनि उस्तै सम्बन्ध बनाएको चीन वामपन्थीहरू बलियो हुँदा आफ्नो सुरक्षा चासो संबोधन हुनेमा बढी ढुक्क हुने गरेको छ । यहाँको राजनीतिक अस्थिरताका कारण तिब्बत मुद्दामा पश्चिमा चलखेल हुने खतरा बुझेका चिनियाँहरूले एमाले, माओवादी, एकीकृत समाजवादीका नेताहरूलाई भेटेर एकजुट हुन आग्रह गर्दै आएका छन् । पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा पनि त्यही कुरामा जोड गरेको बुझिन्छ । ‘हामीकहाँ पनि दुई लाइन संघर्ष हुन्छ तर निर्वाचनबाट छानिएर एक जना नेता आइसकेपछि समस्या हुँदैन’, जनकंग्रेसका उपाध्यक्षको भनाइ थियो । 

सिपिसीका विदेश विभाग प्रमुख लिउ जियान्छाओले पनि वामपन्थी एकताकै पक्षमा कुरा राख्नुभयो । माओवादी र एमालेबीच तत्काल पार्टी एकता सम्भव नभए कार्यगत एकता गर्दै जान सुझाव दिँदै त्यसमा पूर्वराष्ट्रपतिको भूमिका रहने विश्वास उहाँको थियो । ‘हामी चाहन्छौँ नेपालमा कम्युनिष्ट पार्टी ठूलो र सवल होस् । त्यसका लागि कांग्रेससँग पनि कुरा गरिरहेका छौं’, जियान्छाओका भनाइको सार सुनाउँदै भ्रमण टोलीका सदस्य भन्छन्, ‘नेपालका पार्टीहरूमा गुट उपगुटको द्वन्द्व नभई स्थायित्व भयो भने आर्थिक मुद्दमा पनि मिलेर काम गर्न सजिलो हुन्छ ।’ नेपालको राजनीतिक अस्थिरताप्रति चिन्ता जनाउँदै भनियो, ‘हामीले दिएको पनि लैजान सक्नुभएन ।’

पूर्वराष्ट्रपति भण्डारीलाई सुरक्षा, आतिथ्य सत्कारलगायतका कुरामा पनि चीनले कुनै कमी हुन दिएन । राजकीय भ्रमण नभए पनि भव्य स्वागत गरियो । भूपू राष्ट्रपतिलाई बहालवालासरह सम्मान गरेको चीनले अगुवा र पछुवा गाडीमार्फत सुरक्षा दिएका थिए । सम्मेलन उद्घाटन गर्न जाँदा होटलदेखि सम्मेलनस्थलसम्म कारकेड चलाइएको थियो ।

पूर्वराष्ट्रपतिको कार पछाडि २ वटा बसलाई दुइटा कार र ६ वटा बाइकले एस्कर्टिङ गर्दै सम्मेलनस्थल पुर्‍याइएको थियो । जबकि इण्डोनेसिया र लाओसका बहालवाला सभामुखहरूलाई भने एउटा गाडी र सामान्य एस्कर्ट मात्र थियो । फर्किंदा छन्तुमा पनि एयरपोर्टभित्रै कारकेड चलाइयो । ‘राष्ट्रिय झण्डा हाल्न मात्र बाँकी राखेर अरु सबै सम्मान दिए’, भ्रमण टोलीका सदस्य भन्छन् ।

उद्घाटन समारोहको प्रमुख अतिथि रहेकी भण्डारीलाई उपराष्ट्रपति र अर्कोतिर जनकांग्रेसको पूर्वउपाध्यक्षले दायाँबायाँ पारेर बीचमा आसन गराइएको थियो । मञ्चको दुई छेउमा इण्डोनेसिया र लाओसका सभामुख बसेका थिए । विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूलाई राखिने राजकीय पाहुना घर दियाओयुथाईमा मुकाम थियो ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here