पूर्वअर्थमन्त्री डा.खतिवडाले भने-‘अब बहुउद्देश्य सहकारीको काम छैन’
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्य सहकारीहरुको काम नभएको बताएका छन् । बिहीवार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
एउटा मात्रै काम गरेर बहुउद्देश्य सहकारी भन्न नमिल्ने उनको भनाई छ । खतिवडाले बहुउद्देश्य सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको दाबी गरे । उनले अब बहुउद्देश्य सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताए ।
खतिवडाले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताए । उनले पछिल्लो समय बहुउद्देश्य सहकारीका नामम नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्रै बनाएर सहकारीको अस्थित्व २०२५ मा नै सकिने बताए । उनले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीहरु पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको बताए ।
खतिवडाले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएको भन्दै सहकारीहरुले पनि तयारी गर्न आवश्यक रहेको उल्लेख गरे । उनले सहकारीलाई उत्पादन, वितरण, उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने, सेवा केन्द्र खोल्ने, नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस, क्षेत्रगत लक्ष्य र उदेश्य सहकारी संस्था अगाडि बढाउन जरुरी रहेको बताए ।
सहकारीको कारोबार डिजिटल हुनसक्यो भने पारदर्शिता कायम भई क्रमशः समस्या समाधान हुने खतिवडाले बताए । उनले सहकारी वित्तीय कारोबार मात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताए । खतिवडाले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्ने बताए । उनले अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्दै कारोबार पनि स्मार्ट हुनुपर्नेमा जोड दिए । उनले आगामी २०३० सम्म सबै सहकारी प्रविधि मैत्री हुने विश्वास व्यक्त गरे ।
पूर्वअर्थमन्त्री खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी २०३०सम्म नरहने दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्