पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले ०५६ सालपछि अनुत्तीर्ण/अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा ग्रेड नल्याएका विद्यार्थीका लागि आगामी पुस १९ गतेसम्म मौका परीक्षाका लागि आवेदन दिन भनेको छ । पहिलोपटक मंसिर २७ गतेसम्म फारम बुझाउने मिति तय गरेको बोर्डले पछिल्लो पटक समयावधि थपेको हो ।
सोही मौका परीक्षाबारे बुझ्न अघिल्लो साता बोर्डको कार्यालयमा झापाका एक विद्यार्थी पुगे । उनी विगत पाँच वर्षदेखि आफू अनुत्तीर्ण विद्यार्थीको सूचिमा छु भन्नेमै थिए ।
जब बोर्डको केन्द्रीय कार्यालय सानोठिमीमा पुगे, त्यसपछि मात्रै थाहा भयो– उनी पास भइसकेका रहेछन् । उनको रजिस्ट्रेसन नम्बरबाट विवरण हेर्दा त ०७६ सालमै उत्तीर्ण भएको खुल्यो ।
परीक्षा बोर्डका उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार, ती विद्यार्थीलाई विद्यालयले नै अनुत्तीर्ण भनेको रहेछ ।
बोर्डका अधिकारीले पास भएको खबर दिएपछि आश्चर्यचकित मात्रै भएनन्, केहीबेर भावविह्वल पनि बने । ‘पास भएको थाहा पाउँदा उहाँ (विद्यार्थी) खुसीले धुरुधुरु रुनुभयो,’ उपनियन्त्रक घिमिरेले भने, ‘पाँच वर्षमा धेरै अवसर गुम्यो भनेर चिन्ता पनि गर्नुभएको थियो ।’
विद्यालयकै कमजोरीले नै उनको नतिजामा त्रुटि भएको उपनियन्त्रक घिमिरेको भनाइ छ । ‘विद्यालयको मात्र भर परेछन् . बोर्डको वेबसाइटमा नतिजा हेरेको भए उत्तीर्ण भएको थाहा हुने थियो,’ उनले भने ।
ती विद्यार्थी झापाका भएपनि व्यक्तिगत विवरणबारे घिमिरेले थप सोधखोज गरेनन् । उनको विवरण पनि राखेनन् । ‘उहाँको नाम र पढेको विद्यालय थाहा छैन । व्यक्तिगत कुरा सोध्न मिलेन,’ घिमिरे भन्छन्, ‘पास भएको थाहा पाएपछि ट्रान्सक्रिप्ट विराटनगरबाट झिक्न मिल्ने भएकाले यहाँबाट जानुभयो ।’
उपनियन्त्रक घिमिरेका अनुसार मौका परीक्षाको फारम भर्न आएका अन्य चार/पाँच जना विद्यार्थी पहिल्यै उत्तीर्ण भएको भेटिएको छ । ‘कोही परीक्षा दिएर विदेश जानुभयो । पास फेल भएको थाहा पाउनु भएन । विद्यालयले पनि थाहा दिएन । अहिले मौका परीक्षाको फारम भर्न आउँदा पास भएको भेटिएको छ,’ उनले भने ।
अनुत्तीर्ण भएका विद्यार्थीले एकपटक मौका परीक्षाको व्यवस्था गर्न निवेदन दिएपछि बोर्डले मौका परीक्षाको निर्णय गरेको हो । ‘१२ पास नहुँदा अवसरबाट बञ्चित भयौं भनेर विद्यार्थीले निवेदन दिनुभएको थियो । निवेदन दिनेलाई मात्र परीक्षा गराउन मिलेन । त्यसैले २०५६ देखि २०७७ सम्म उनुत्तीर्ण भएका सबै विद्यार्थीको लागि खुला गरिएको हो,’ उपनियन्त्रक घिमिरेले भने ।
उनका अनुसार यो अवधिमा अनुत्तीर्ण भएका विद्यार्थीको संख्या १४ लाख हाराहारी छ । अहिले परीक्षाको लागि विद्यार्थीहरूले फारम भर्न शुल्क बुझाइरहेका छन् ।
आइतबार दिउँसोसम्म अनलाइनबाट मात्र १९ हजार ४ सय विद्यार्थीले परीक्षाको लागि शुल्क बुझाएका छन् । सम्बन्धित विद्यालयमा कति विद्यार्थीले फारमका लागि शुल्क बुझाए भन्ने तथ्यांक आएको छैन । विद्यालयले हार्डकपी बुझाएपछि मात्र यकिन तथ्यांक आउने उपनियन्त्रक घिमिरेले बताए ।
बोर्डले परीक्षा फारमको शुल्क १ हजार तोकेको छ । यदि ११ र १२ दुवैमा अनुत्तीर्ण भएको विद्यार्थीले भने २ हजार शुल्क तिर्नुपर्नेछ ।
विद्यार्थीले फारमको शुल्क अनलाइन वा सम्बन्धित विद्यालयमा गएर पनि बुझाउन सक्ने व्यवस्था मिलाइएको छ ।
बोर्डका अनुसार फारम अनलाइनबाट डाउनलोड गरी भरेर विद्यालयमा बुझाउन सकिने छ । इन्टरनेट नभएको ठाउँ भएमा सम्बन्धित विद्यालयमा गएर फारम भर्न पाइने उपनियन्त्रक घिमिरेले बताए ।
कुन विषयमा अनुत्तीर्ण भएको हो सो थाहा नभएमा त्यसको विवरण पनि बोर्डले उपलब्ध गराउने छ । ‘११ र १२ मा कुन विषयमा अनुत्तीर्ण भएको थाहा नभएमा बोर्डले विद्यालयलाई उपलब्ध गराउँछ । रजिस्ट्रेसन नम्बरबाट बोर्डको वेबसाइटबाट पनि हेर्न सकिन्छ,’ उपनियन्त्रक घिमिरेले भने ।
फारम भर्न समय थप
बोर्डले परीक्षाको लागि फारम भर्ने समय थप गरेको छ । न्यून विद्यार्थीले फारमका लागि शुल्क बुझाएपछि बोर्डले समय थप गरेको हो ।
गत मंसिर २७ गतेसम्म फारमका लागि शुल्क बुझाउन समय दिइएको थियो । र, २ पुसभित्र फारम भरेर सम्बन्धित विद्यालयमार्फत उपलब्ध गराउन बोर्डले भनेको थियो । तर सोचे अनुरूप विद्यार्थीले फारमका लागि शुल्क नबुझाएपछि समय थप गरिएको हो ।
अब आगामी १२ पुससम्म फारमको लागि शुल्क बुझाउने समय दिइएको छ भने १९ पुसभित्र फारम बोर्डमा पठाउन समय तोकिएको छ ।
‘कति विद्यार्थीले थाहा पाएनौं समय थप गर्नुपर्यो भनेर आउनु भयो । फारमका लागि पनि न्यून संख्या आएपछि समय थप गरिएको हो,’ उपनियन्त्रक घिमिरेले भने ।
बोर्डले अनुत्तीर्ण भएर बसेका विद्यार्थीलाई परीक्षाको लागि फारम भर्न आग्रह गरेको छ । ‘यो अन्तिम अवसर हो । कोही पनि विद्यार्थी परीक्षाबाट बञ्चित नहुन् भनेर समय थपेका छौँ । फारम भर्न विद्यार्थीलाई अनुरोध छ,’ उपनियन्त्रक घिमिरेले भने ।
वैशाखमा परीक्षा
विद्यालयबाट फारम आइसकेपछि मात्र परीक्षाको मिति तोक्ने तयारी बोर्डले गरेको छ ।
‘कति विद्यार्थीले फारम भर्छन् त्यसको आधारमा तप तयारी गर्नुपर्छ । विद्यालयबाट फारम आएपछि मिति तोक्ने विषयमा छलफल गर्छौं,’ बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले भने । विद्यार्थी संख्याको आधारमा प्रश्नपत्र र परीक्षा केन्द्र तोकिने अर्यालले बताए ।
कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका मौका परीक्षामा समेल हुन पाउँछन् । कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएकाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्