पार्टी र नागरिकले विश्वास गरे मेयरमा लड्ने वडाअध्यक्ष भट्टराईको तयारी
११ चैत्र, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यअवधि सकिन केही महिनामात्र बाँकी छ । स्थानीय तहको निर्वाचन नजिकिँदै छ । स्थानीय सरकारको प्रतिनिधि जेठ ६ गतेभित्र जिम्मेवारीमा आइसक्ने गरी भन्दै आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न सरकारले घोषणा गरिसकेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० को वडाअध्यक्षमा निर्वाचित नवराज भट्टराईले आफ्नो कार्यकाल पूर्वाधार विकासमा धेरै राम्रो काम भएको बताए । यो अवधिमा आफ्नो टिमले धेरै राम्रो काम गरेको र नगरबासीले दिएको धेरै जिम्मेवारी आफूले सफलताका साथ पूरा गरेको उनी दाबी गर्छन् । उनी नगरपालिकाका प्रवक्तासमेत हुन् ।
पार्टी र नागरिकले विश्वास गरे आफू मेयरमा निर्वाचन लड्ने वडाअध्यक्ष भट्टराईको तयारी छ । उनले आफूले त्यही अनुसार तयारी गरिरहेको बताए ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा वडाअध्यक्ष भट्टराईको कार्यकाल कस्तो रह्यो ?, उनले के कस्तो काम गर्न सके र वडाअध्यक्षको रूपमा काम गर्दाको अनुभव कस्तो रह्यो भन्नेलगायत विषयमा केन्द्रित रहेर फ्रन्टलाइन खबरका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।
स्थानीय तहको चुनाव नजिकिएको छ, यो समय तपाईं के काममा व्यस्त हुनुहुन्छ ?
हो, स्थानीय तहको निर्वाचन नजिकिँदैछ । त्यो सँगसँगै हामीले गत आर्थिक वर्ष २०७८/७९ को योजना, नीति तथा कार्यक्रमहरूको निर्माण गरी सञ्चालन गरेका थियौं । ती योजनाहरूलाई सम्पन्न गर्नको निमित्त हामी लागेका छौं । जनताको आधारभूत आवश्यकता पूरा गर्ने र सञ्चालन भएका योजनाहरू पूरा गर्नका निमित्त लागि परेका छौं ।
चुनावी चहलपहल बढ्न थालेको छ, यहाँको चुनावी माहोल कस्तो छ ?
यो नगरपालिका देशकै बौद्धिक वर्ग बस्ने नगरपालिका हो । चुनावभन्दा अगाडि नै मुलुकको राजनीति तरङ्गित छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी चहलपहल बढ्नु स्वाभाविक नै हो । स्थानीय तहमा स्थानीय तहको उम्मेदवारहरू बन्नको लागि आ–आफ्नो ठाउँबाट सबै राजनीतिक दलहरू लागेका छन् । घरदैलो अभियान पनि जारी छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय छुट्याइए पनि हाम्रो पार्टीले बितेको पाँच वर्षमा हामीले गरेको कामहरू लिएर आम नागरिकहरूसँग जाने हो ।
यसपालिको चुनावमा तपाईंको योजना के छ ? दोहोरिनुहुन्छ कि माथिल्लो पदमा उम्मेवारी दिनुहुन्छ ?
हरेक मानिसले नेचुरल ग्रोथ खोज्छ । म ५ वर्ष बुढानिलकण्ठ नगरपालिका-१० वडाध्यक्ष भएर काम गरेँ । मेरो अबको चुनावमा मेयरमा दाबेदारी रहनेछ । हिजो पनि म स्वतन्त्र उम्मेदवार थिइनँ । म व्यक्तिगत उम्मेदवारको रूपमा उठ्दिनँ । पार्टीले अगाडि बढ् भन्यो भने पार्टीको तर्फबाट मेयरको उम्मेदवारको रूपमा उठ्ने हो ।
म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको नगरवासीको चाहना के छ ? मेरो व्यक्तिगत विचारभन्दा पनि पार्टीको निर्णय आधिकारिक हुन्छ । नगरपालिकालाई नजिकबाट नियालेको कारण नगरपालिकालाई हाँक्ने मेरा पनि सपना छन् । आउने दिनमा सबैको चाहना र इच्छालाई मध्यनजर गर्दै नगरपालिकाको मेयरमा उम्मेवारी दिने इच्छा छ ।
स्थानीय तहमा जनप्रतिनिधिको रूपमा काम गर्नुभयो । तपाईंले आफ्नो वडामा उपलब्धिमूलक के कस्ता काम गर्नुभयो ?
५ वर्ष अगाडि चुनावी प्रतिबद्धता बोकेर हामी आम जनमासको घर दैलोमा पुगेको थियौं । आम नागरिकको घर आँगनका समस्यालाई समाधान गर्ने हेतुले चुनावी प्रतिबद्धता व्यक्त गरेका थियौं । त्यो समय आम नागरिकको चासो भनेको घर नजिकैको सडक, ढल, खानेपानीलगायत समस्याको रूपमा चासो राख्नु भएको थियो । यो बीचमा हामीले धेरै कामहरू सम्पन्न गरिसकेका छौं । हामीले शहरी पूर्वाधारको क्षेत्रमा ठूलो फड्को मारेका छौं । पूर्वाधार विकासको क्षेत्रमा ८० प्रतिशत काम प्रतिबद्धता अनुरूप गरिसकेका छौं ।
सडकको निर्माण तथा स्तरोन्नति, कतिपय ठाउँमा खानेपानीलगायतका पूर्वाधारसँग सम्बन्धित काममा उल्लेखनीय सुधार गरिसकेका छौं । त्यति मात्र होइन सामाजिक विकासमा स्वास्थ्य, शिक्षा र आर्थिक विकास सँगसँगै हामीले सीप विकास, उद्यमशीलता विकासको क्षेत्रमा पनि काम गरेका छौं । युवा तथा महिलाको क्षमता, सीप र उद्यमशीलता विकासमा पनि डटेर नागरिकले अनुभव गर्ने गरी काम गरेको छौं ।
८० प्रतिशत चुनावी प्रतिवद्धता पूरा गर्न सफल भए भन्नु भयो, २० प्रतिशत प्रतिवद्धता चाहिँ किन पूरा गर्न सक्नु भएन नि ?
हो, हामीले ८० प्रतिशत चुनावी वाचा पूरा गर्न सफल भएका छौं । केही दिनपस्चात् नगरपालिकाभित्र भएका जनप्रतिनिधिले गरेका कामको विवरण पनि नागरिकसामु सार्वजनिक गर्दैछौं । गर्न सकेको काम र गर्न नसकेको कामको कारणसहित सबै नागरिकले बुझ्ने भाषामा सार्वजानिक गर्न लागेका हौं । यस वडाले पनि आम नागरिकसँग गरेको प्रतिवद्धता पत्रमा ८० प्रतिशत काम गरेको आकलन गरेका छौं । त्यो भन्दा बढी काम भएको पनि हुनसक्छ ।
करिब दुई वर्ष कोभिड–१९ को कारण हाम्रो जनजीवन प्रभावित बन्न पुग्यो । कतिपय कामहरू हामीले घरबाट नै गर्नुपर्ने अवस्था थियो । लकडाउनका कारण लामो समयसम्म सरकारी निकायहरू खुल्न सकेनन् । त्यस कारणले दुई वर्षको हाम्रो समय कोभिडका कारण कार्य सम्पादन गर्नको लागि समस्या भयो । तथापि दुई वर्षको रिजल्टलाई हेर्ने हो भने पूर्वाधार विकासमा हामीले गरेका काममा सन्तुष्ट नै छौं । कोभिडका कारण नै हामीले २० प्रतिशत काम गर्न सकेनौं । कोभिड नआएको भए यो २० प्रतिशत काम पूरा गर्न सकस हुँदैनथ्यो ।
तपाईं बुढानिलकण्ठ नगरपालिकाको प्रवक्ता पनि हुनुहुन्छ, यो अवधिसम्म आफ्नो नगरपालिकाभित्रका जनताले सम्झिने गरी के–के काम भएको छ ?
नगरपालिकामा हामी निर्वाचित भएर आउँदा वडा कार्यालयसमेत थिएन । यो बीचमा प्रायः सबै वडाका भवनहरूको व्यवस्थापन गरिसकेका छौं । हाल वडा नं. २ र ७ को वडा भवन निर्माणाधीन अवस्थामा छ । वडा नं. १ र ३ को वडा भवन भने टेन्डर भएर निर्माण हुने क्रममा छ । नगरपालिकाको आन्तरिक स्रोतबाट नै करिब ४५ किलोमिटर सडकको ढलान, २५ किलोमिटर सडकको कालोपत्रे गर्न सफल भएको छौं । नगरभित्र झन्डै २२ वटा पार्कको निर्माण भएका छन् भने केही पार्क निर्माणको क्रममा छन् । निर्माण सम्पन्न भएर कतिपय पार्कहरू उद्घाटनको चरणमा छन् ।
हामी निर्वाचित हुनुभन्दा अगाडि नगरपालिकामा नगर अस्पताल थिएन । निर्वाचित जनप्रतिनिधिहरू पहलमा नगर अस्पतालको निर्माण भइरहेको छ । उक्त अस्पताल आगामी वैशाखभित्र निर्माण सम्पन्न भइसक्छ । स्वास्थ्य मन्त्रालयको ६ करोड र नगरपालिकाको ४ करोड गरी जम्मा १० करोड रुपैयाँको लागतमा सो अस्पतालको निर्माण भइरहेको छ । ९ करोड रुपैयाँको लगानीमा नगरभित्र ह्याण्डबल मैदानका पनि निर्माण भइरहेको छ । १२ वटा सहरी स्वास्थ्य केन्द्र र एउटा नगर अस्पतालको अस्थायी ओपीडी सेवा सुरु गरिसकेका छौं ।
हाम्रो नगरपालिकाको वडा नं. १०, ११ र १२ मा पहिला मेलम्ची खानेपानीको पाइप विस्तार भएको थिएन । हामी जनप्रतिनिधि भएर आएपश्चात् तत्कालिन अर्थमन्त्री युवराज खतिवडालाई हाम्रो दबावपश्चात् उक्त वडालाई हुने गरी झन्डै २ अर्ब ५५ करोड रुपैयाँको बजेटमा पाइप लाइनको विस्तार भइरहेको छ । वडा नं. ८ र ९ मा पनि टेन्डर भएर मेलम्चीको पाइपलाइन विस्तार भइरहेको छ । अन्य वडामा पनि खानेपानीको विषयमा केन्द्रित रहेर काम भइरहेको छ । हाम्रो नै शीरबाट मेलम्चीको पानी जाने तर, हामीले नपाउने अवस्था थियो ।
हामी आएपछि मात्र करिडोर विकासको कामले तीव्रता पाएको छ । जसमा पाथीभरा बस्ती जहाँ भूमिहीनहरूको बस्ती छ । झन्डै २२ घर भूमिहीनहरूको बस्तीमा थियो । उनीहरूको व्यवस्थापन गर्न नसक्दा वर्षौंदेखि करिडोरको बिस्तार हुन सकेको थिएन । जनप्रतिनिधि भएर आएपश्चात् उनीहरूको समस्यालाई सम्बोधन गरी उनीहरूलाई अर्को ठाउँमा सारेर र मुआब्जा दिने समेतको व्यवस्था गरी करिडार सम्पन्न गर्ने काममा अहम् भूमिका खेल्यौं । यी र यस्ता धेरै कामहरू नगरपालिकाले गरेको छ । सीप विकास गरी उद्यमशीलता बन्छु भनेर इच्छा देखाउनेका लागि नगरपालिकाले ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको परियोजना बनाएर योजनाको आधारमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं ।
नगरपालिकाका जनप्रतिनिधिको रुपमा रहँदा चाहेर पनि गर्न नसेका कुनै काम छन् ?
वर्खा लागेपछि कपन एरियामा डुबानको समस्या सुन्छौं । १२ वर्षदेखि यो समस्याले पिरोल्दै आएको छ । जब तीव्र सहरीकरण भयो त्यस चपेटामा यो क्षेत्र पर्यो । खोलामा ह्यूमपाइप जडान गरी माथिबाट सडक निर्माण गरियो । खोलालाई पुरेर घडेरीको प्लटिङ गर्नेजस्ता काम पनि भए । जब बस्तीको विकास हुँदै गयोे तब खोला बढ्न थाल्यो र बस्ती डुबान हुन थाल्यो । पानी परेको समयमा पानीमा खेल्ने क्रममा होम पाइपभित्र परेर एकजना बालकको ज्यान पनि गयो । नगरपालिकाको वडा नं. १०, ११, १२, काठमाडौं महानगरपालिकाको वडा नं. ६ र ७ को लागि यो ठुलो चुनैतीको रूपमा छ ।
उक्त समस्या समाधान गर्नको निमित्त नगरपालिका निरन्तर लागिपरेको छ । यो समस्या साततलेदेखि आनी गुम्बासम्म करिब २.२ किलोमिटर क्षेत्रमा पर्छ । त्यस ठाउँमा एउटा मात्र ह्युम पाइप थियो । त्यसमा अर्को ह्युमपाइप थप्दा सहज वातावरण बन्छ कि भन्ने योजना बनायौं । उक्त योजना १२ देखि १३ करोड रुपैयाँसम्मको बजेट पनि छुटिएको थियो । बजेट आए पनि त्यो परियोजनाको काम अगाडि बढ्न सकेन ।
यो परियोजनालाई हामीले पछि हटाउनु पर्यौैं । फेरि नयाँ योजना बनाएर आनी गुम्बादेखि तरकारी बजारसम्मको १.४ किलोमिटर क्षेत्रमा बक्सकल्बर्ट बन्ने कुराको प्रत्याभूति भएको छ । यसको काम चाहिँ सुस्त गतिमा भइरहेको छ । आम नागरिकलाई त्यो कुरा बुझाइरहेका छौं । यो ५ वर्षमा चाहिँ हामीले यो काम गर्न नसकेको हो कि अनुभूति हुन्छ । यो काम सम्पन्न गर्न अझै २ वर्ष लाग्ने देखिन्छ ।
नगरपालिका क्षेत्रमा दैनिक सहरीकरण बढ्दैछ, बढ्दो सहरीकरणलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
बुढानिलकण्ठ नगरपालिका संघीय राजधानीको नजिकैको नगरपालिका हो । पर्यावरणको हिसाबले पनि यस नगरपालिका स्वच्छ हावा पनि भएको क्षेत्र हो । ‘स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानिलकण्ठ’ भन्ने नारा पनि तयार गरेका छौं । पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको नगरपालिका हो यो । यहाँ धेरै ठूलो उद्योग धन्दाको विकास गर्ने सम्भावना छैन । हामी लघु उद्यमशिलताको विकास गर्न सक्छौं । पर्यटन विकासको लागि हामीले गुरुयोजनाको पनि तयार गरेका छौं ।
पर्यटनको विकास सँगसँगै सहरी विकासलाई पनि बस्न योग्य शहरको रूपमा विकास गर्ने योजना अगाडि सारेका छौं । पूर्वाधार विकासमा सडकको काम एकदमै द्रूत गतिमा हेरेका छौं । नेपाल विद्युत् प्राधिकरणसँग मिलेर नगरपालिकाले सडकका विभिन्न ठाउँमा स्मार्ट स्ट्रीट लाइटको जडान गर्ने पनि भनिएको छ । झन्डैं ४ करोड रुपैयाँ बराबरको बजेटमा उक्त लाइट जडान हुँदैछ । धोबिखोला करिडोरको छेउमा जिल्ला वन कार्यालयसँग मिलेर ३२ सय ४५ वटा फरक–फरक फूलका बिरुवा रोपेका छौं । केही ठाउँमा बिरुवा रोप्ने क्रम पनि जारी छ ।
नगरपालिकाभित्र अझै पनि धोबिखोला करिडोरको काम सम्पन्न हुन बाँकी नै छ, उक्त काम छिटो सक्नु पर्याे भनेर माथिल्लो निकायलाई भन्नु भएको छैन ?
नगरपालिकाको केही ठाउँमा मुआब्जाको कारण करिडोरको काममा समस्या छ । कतिपय घरलाई भत्काउनुपर्ने अवस्था पनि देखिन्छ । ती ठाउँमा अदालतसम्म छलफल चलिरहेको छ । धोबिखोला करिडोर आयोजनाले मुआब्जा दिन नसक्दा केही ठाउँमा समस्या रहेको छ । करिडोरको काम अब छिटपुटबहेक सबै काम भइसकेको छ ।
जनप्रतिनिधि भएर काम गरिरहँदा जनताबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनुभयो ?
विकास निर्माणको काम सँगसँगै दैनिक सेवा प्रवाहलाई पनि चुस्त दुरुस्त बनाउनु पर्ने दायित्व हामी जनप्रतिनिधिको हो । यहाँ नागरिकका अनेक खालका समस्या हुन्छन् । सेवाग्राहीले निवेदन लेख्न जान्नु भएन भने सेवा ग्राहीलाई निवेदन लेखिदिनेसम्म हामी गर्छौं । नागरिकहरू बाहिर हुनुहुन्छ उहाँहरूलाई कुनै सिफारिसको आवश्यक पर्छ भने सामाजिक सञ्जालको संयन्त्रबाट सिफरिसमेत प्रदान गरेर नागरिकलाई सेवा दिने काम गरेका छौं । आम नागरिकको घरआँगनमा परेको समस्याको समाधान गर्नको निमित्त सधैं तत्पर भएर लागेका छौं । मलाई लाग्छ यो सेवा प्रदान गरेको हिसाबले आम नागरिकहरू खुशी हुनुहुन्छ ।
विकास निर्माण गर्दा सानो काममा पनि धेरै समय लागेको भनेर जनताहरू आक्रोश भएको देखिन्छ, यसमा तपाईंको भनाइ के छ ?
हाम्रो नगरपालिका आफैंले गरेको योजनामा त्यस्तो समस्या हुँदैन । एकवटा योजना एक आर्थिक वर्षभित्रमा सक्छौं । हामी विकास निर्माणको काम सञ्चालन २ तरिकाबाट गर्छाैं । एउटा उपभोक्ता समिति र अर्को टेन्डरको प्रक्रियाबाट गर्छौं । टेन्डरबाट भएको काम चाहिँ केही ठिला सुस्ती भएको पाइन्छ । तर, उपभोक्ताबाट काम गर्ने सवालमा जसको सरोकार छ उसको नेतृत्व भएको कारणले यसमा यस्तो समस्या छैन ।
आकाशे धाराबाट राम मन्दिर जाने सडक ६ वर्षसम्म पनि बन्न सकेको छैन । यो केन्द्रीय योजनाको ठेक्का हो । २०७३ सालमा सडक निर्माण गर्ने भनेर ठेक्का गरिएको थियो भने २०७५ सालसम्म ठेक्काको अवधि तोकिएको थियो । निर्माण अवधि सकिएको ४ वर्षसम्म पनि काम सकिएको छैन । यसको लागि सम्बन्धित निकायसँग पनि कुरा गर्यौं, निश्कर्ष भने केही आएन । केन्द्रीय ठेक्कामा समस्या छ । बुढानिलकण्ठ नगरपालिका लगाउने लगाउने ठेक्कामा यस्तो समस्या छैन । विकास निर्माणको काम गर्ने सवालमा केही ठाउँमा समन्वयको अभाव देखिन्छ ।
जनप्रतिनिधिको रूपमा काम गर्दाको अनुभव कस्तो रह्यो ?
५ वर्षको कार्यकाल निकै सकारात्मक रह्यो भन्ने मैले महशुस गरेको छु । निर्वाचित भएर आएपछि सुरुवाती दिनमा कानून, कार्यविधि, नीति नियम तथा निर्देशिकाको अभावका कारण केही समस्याहरू झेल्नुपर्यो । हामीमाथि जनताहरूका आशा र अपेक्षाहरू धेरै थिए । हामीले अधिकांश कामहरू गरिसकेका छौं । नगरले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा धेरै कामहरू गरेको छ । यस अवधिसम्म आइपुग्दा हामीले धेरै रचनात्मक कामहरू गर्न सफल भयौं । सामाजिक पूर्वाधारको विकासमा त्यति धेरै उल्लेखनीय काम गर्नको लागि सकेका छैनौं । सामाजिक र मानवीय, आर्थिक विकास र रोजगारीको विशेष फोकस गरी अबका योजनाहरू निर्माण गर्नुपर्छ । यो कुरामा लक्षित रहेर अबको नेतृत्वले काम गर्याे भने पक्कै पनि नगरपालिका हाम्रो नाराजस्तै समृद्ध हुन्छ भन्ने विश्वास लिएको छु ।
प्रतिक्रिया दिनुहोस्