पार्टी कार्यालयमा धर्ना दिँदा बेवास्ता, शिक्षण संस्था ठप्प पारेपछि ऐक्यबद्धता

पार्टी कार्यालयमा धर्ना दिँदा बेवास्ता गरेका सत्तापक्षकै नेताहरूले शिक्षण संस्था नै ठप्प पारेर आन्दोलन गरेपछि मात्र शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

२५ चैत, काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा उत्रिनुअघि शिक्षकले प्रमुख दलहरूको कार्यालयमै पुगेर धर्ना दिए । त्यस अवधिमा आन्दोलनलाई दलहरूले बेवास्ता गरे । तर जब शिक्षकहरू शैक्षिक संस्था ठप्प पारेर सडकमा उत्रिए, प्रतिपक्ष मात्र होइन, सत्तारुढ दलहरूले नै आन्दोलनप्रति ऐक्यबद्धता जनाउन थालेका छन् ।

frontline

आन्दोलनमा ऐक्यबद्धता जनाएका दलहरू संसदको विशेष अधिवेशन नै बोलाएर भए पनि शिक्षकका माग सम्बोधन गर्न आग्रह गरिरहेका छन् ।

संसदको सबैभन्दा ठूलो तथा सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षकको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको छ । सरकार प्रमुखकै तहबाट शीघ्र वार्ताको पहल गर्न कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखबाटै पहल गरिदिन आग्रह गरेका छन् ।

‘नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता र संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

गत २०८० असोज ५ र १२ गते शिक्षकसँग सम्झौता गर्दा प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । कतिपय विषय तत्काल कार्यान्वयन गर्ने भनिएको थियो । तर भएन ।

अहिले माओवादी अध्यक्ष प्रचण्ड संसद्‌को विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकको माग सम्बोधन गर्नुपर्ने बताउँदैछन् ।

यो पनि पढ्नुहो

शिक्षक आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यबद्धता

‘शिक्षहरूलाई बधाइ भन्न चाहन्छु । तपाईंहरूले माग पूरा नभएसम्म आन्दोलन नछाड्ने भन्नुभएको छ । जबसम्म माग पूरा हुँदैन, कहिले सिटी बजाउनूस्, कहिले के गर्नुपर्छ गर्नूस् । हामी तपाईंहरूको साथमा छौं । शिक्षकहरूको निम्ति जरुरी पर्‍यो भने संसद्‍को विशेष अधिवेशनसमेत बोलाउन सकिन्छ,’ प्रचण्डले भनेका छन् ।

सत्ताधारी दल एमालेका सचिव योगेश भट्टराईले शिक्षकको माग सम्बोधन गर्ने प्रतिबद्धतासहित आन्दोलनका विषयमा ९ बुँदे धारणा नै सार्वजनिक गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले पनि शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आइतबार विज्ञप्ति निकालेर शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । शिक्षकको माग सम्बोधन गर्न समाजवादीले सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस नेता शेखर कोइरालाले पनि शिक्षकसँग भएको सहमतिअनुसार ऐन जारी गर्न आग्रह गरेका छन् ।

‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षक/कर्मचारी सडक आन्दोलनमा छन्। सरकार र महासंघबीच भएका सहमतिबमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यो पनि पढ्नुहोस

महासंघको आन्दोलनप्रति १५ शिक्षक संघ-संगठनको ऐक्यबद्धता

कांग्रेस नेता चन्द्र भण्डारीले पनि शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । ‘शिक्षक हाम्रो वर्तमान र भविष्यका दर्पण हुन्, हामी कस्तो समाज बनाउन चाहन्छौँ, त्यस समाजका पहिलो अभिभावक हुन्। तर आज शिक्षकमा पर्न गएको असुविधा, पेसाप्रतिको असुरक्षा र अपमान समाजको पनि अपमान हो। तसर्थ, हामी भविष्य निर्माता शिक्षकको साथमा छौं। त्यसको नैतिक जिम्मा मेरो पनि हो,’ भण्डारीले एक्समा लेखेका छन् ।

एमाले सचिव योगेश भट्टराईले शिक्षकको आन्दोलन विषयमा ९ बुँदे धारणा नै सार्वजनिक गरेका छन् । उनले शिक्षकको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कतिपय नेता सांसदले आन्दोलनमै सहभागी भएर शिक्षकको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी ओलीले शिक्षकको माग सम्बोधन हुने बताएका छन् । सरकारले वार्तामा पनि बोलाएको छ । तर शिक्षकहरू वार्तामा बस्न चाहेका छैनन् ।

‘हामीले ऐन खोजेको हो, वार्ता होइन । सहमति पहिल्यै भइसकेको छ । सहमतिअनुसार शिक्षक, कर्मचारी, विद्यार्थी, विद्यालयमैत्री ऐन खोजेका हौँ,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भन्छन् ।

नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेपछि २० चैतदेखि देशभरका शिक्षक काठमाडौँ आएका छन् ।

दल शिक्षक आन्दोलन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here