पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?

विज्ञ भन्छन् – राहत त भयो तर प्रदूषण र डढेलो अझै नियन्त्रण हुँदैन
काठमाडौँ । पछिल्लो दुई दिनको वर्षाले देशैभरि राहत महसुस भएको छ । पानीसँगै हावाहुरी नचल्दा वायु प्रदूषण भने निकै बढेको थियो । पछिल्लो वर्षाले केही राहत भए पनि प्रदूषण भने धेरै हटेको छैन ।




काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा परिरहेको छ । बिहीबार साँझ साढे चार बजेको मापनअनुसार काठमाडौँ आईक्यू एअरको सूचीमा शीर्ष स्थानमा थियो । यसको सूचीमा नेपाल भने दोस्रो स्थानमा थियो ।
वायु गुणस्तर सूचकांक १५६ एक्युआई छ । भारतको दिल्लीको वायु गुणस्तर सूचकांक १५७ एक्युआई छ । दिल्लीको वायु प्रदूषण खराबमा पहिलो स्थानमा छ ।
नेपाल सरकाबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१– १०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ ।
देशका विभिन्न वनमा लागेको डढेलो, गहुँको छ्वालीलगायत कृषि अवशेष जलाउँदा निस्केको धुँवाले वायु प्रदूषण बढेको छ । यसका साथै सवारी साधन, निर्माण कार्य लगायतबाट उत्सर्जन हुने धुलो र धुँवाले वायु प्रदूषण बढेको हो । लामो समयदेखि पानी नपरेको र ठुलो हावा नचलेका कारण वायु प्रदूषण कम भएको छैन । हाल परेको पानीले केही राहत भए पनि वायु प्रदूषण भने हट्न सकेको छैन ।
वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासका अनुसार पानी परेर केही राहत भए पनि स्वच्छ हुन सकेको छैन । नेपालमा भएको वायु प्रदूषण गुणस्तरमा सुधार हुन भारी वर्षा हुनुपर्ने उनले बताए । ‘आज पनि वायु प्रदूषणको १० औँ सहरभित्रै छ, पानीले केही सहयोग गरेको छ । तर जुन क्लियर हुनुपर्ने हो त्यो हुन सकेको अवस्था छैन,’ उनले भने, ‘तुँवालो लागेको केही काम भयो तर क्षणिक मात्रै भएको छ ।’
नेपालमा वायु प्रदूषण हटाउने प्रकृतिले मात्र हो, अन्य उपाय छैन । तर दीर्घकालीन समाधानका लागि सरकारी निकायले स्थानीय तहदेखि विभिन्न संघसंस्थासँग समन्वय गरी सचेतना फैलाउनुपर्ने डा. दासको सुझाव छ । ‘अप्रिल महिना पिक समय हो । मेबाट केही घट्दै जाने र जुन महिनाबाट कम हुँदै जान्छ,’ उनले भने, ‘अहिले पिक समयमा छौँ । पानी पर्दैमा ढुक्क भएर बस्ने समय होइन् । राहत भयो, तर यसले प्रदूषण र डढेलो नियन्त्रण हुदैन ।’
मौसम पूर्वानुमान महाशाखाले देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । शनिबारपछि भने क्रमिक रूपमा पानी पर्ने सम्भावना नहरेको जनाएको छ ।
वन डढेलो नलगाउन, घरायसी ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जा प्रयोग गर्न, सडक तथा निर्माण कार्यबाट उड्ने धुँवा धुलोको यथोचित नियन्त्रण गर्न विभागले सुझाएको छ ।
अहिले प्रि–मनसुनको सिजन छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मे अर्थात् मध्य फागुनदेखि मध्य जेठसम्म प्रि–मनसुन भनिन्छ । यो मौसममा हाम्रा वरिपरिका पानी स्रोतले बादल बन्ने र पानी पर्ने मौसमविद् सरोज पुडासैनीले बताए ।
यता वातावरण विभागले विभिन्न क्षेत्रमा लागेको वन डढेलोका कारण काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको बताएको छ ।
यसबाहेक वायु प्रदूषणको अन्य कारणहरूमा उद्योग कलकारखाना र सवारी साधनबाट निस्किेन धुवाँ, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलो आदि हुन् ।
वन डढेलो नलगाउन, घरायसी ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जा प्रयोग गर्न, सडक तथा निर्माण कार्यबाट उड्ने धुँवा धुलोको यथोचित नियन्त्रण गर्न विभागले सुझाएको छ ।
विशेषगरी चैत्र, वैशाख र जेठ महिना डढेलो लाग्ने र वर्षा नभएसम्म वायु प्रदूषण उच्च रहने सक्ने सम्भावना हुन्छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीलाई बढी प्रभाव पार्ने भएकाले यस्तो वेला विशेष सावधानी अपनाउन समेत विभागको आग्रह छ ।
घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा अनावश्यक रूपमा प्रदूषण उच्च भएको समयमा नजान पनि विभागले सुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्