पहाडी, उच्च पहाडी, हिमाली क्षेत्रमा पहिरोको जोखिम, सतर्कता अपनाउन महाशाखाको अनुरोध
३१ जेठ, काठमाडाैँ । यसपालि पनि अघिल्ला वर्षभन्दा मनसुन छिटो सुरु भएको छ । प्रदेश १, मधेस र वाग्मती हुँदै एक–दुई दिनअघि मात्रै मनसुन गण्डकी प्रदेश प्रवेश गरेको हो । विभिन्न भागमा वर्षासमेत भइरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिसकेको छ ।
मनसुन पूर्वबाट सक्रिय हुँदै पश्चिमतिर गइरहेकाले बुधबारसम्म धेरै स्थानमा वर्षा हुने महाशाखाको आकलन छ । मनसुन सक्रिय बन्दा हुने वर्षाका कारण पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले ध्यानाकर्षण गराएका छन् ।
गत वर्ष मनसुन सुरु भएको पहिलो सातामै मनसुनी वर्षा हिमाली भेगतिर सोझिँदा सिन्धुपाल्चोक (हेलम्बु) देखि मुस्ताङसम्मै आरीघोप्टे वर्षा भएको थियो । त्यसपछि आएको भेलबाढीले तल्लो तटीय क्षेत्रसम्मै ठूलो क्षति पुगेको थियो । जल तथा मौसम विज्ञान विभागले औसतभन्दा बढी वर्षाको आकलन गरिसकेको छ ।
तर, मनसुन सुरु भएको ८ दिनपछि मात्र विपद् व्यवस्थापन प्राधिकरणले सोमबार मनसुनपूर्व तयारी र प्रतिकार्य योजना ल्याएको छ । विभागले मनसुन सुरु हुनुअघि नै यस वर्ष बढी वर्षा हुने पूर्वानुमान गरे पनि त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि समयमै आवश्यक पूर्वतयारी गर्न प्राधिकरणलगायत सरोकारवाला निकाय गम्भीर नबनेको विज्ञहरूको गुनासो छ ।
‘पहिरो र भेलबाढीको सम्भावना भएका स्थान र बस्ती पहिचान गरी तिनको व्यवस्थापन बर्खाअघि नै गर्नुपर्ने थियो,’ त्रि–चन्द्र क्याम्पसका इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकालले भने, ‘मनसुन सक्रिय भएपछि बल्ल विपद् व्यवस्थापन प्राधिकरण तातेको छ ।’
मनसुन सुरु भएको पहिलो सातामै मुग्लिङ–नारायणगढ, पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी खण्डलगायत स्थानमा पहिरो खसेको छ । त्यसबाट मानवीय क्षतिसमेत भएको छ । भूगर्भविद् ढकाल पहिरोका हिसाबले संवेदनशील क्षेत्र पहिचान नगरी सडक विस्तार गरिएका कारण मुग्लिङ–नारायणगढ खण्डमा पटक–पटक समस्या निम्तिएको बताउँछन् ।
‘कुन–कुन स्थानमा चट्टानी पहिरोको सम्भावना छ, त्यसबारे प्राविधिकमार्फत पहिचान गरी न्यूनीकरणका उपाय अवलम्बन गरी सडक विस्तार गरिएको भए यो अवस्था आउने सम्भावना कम थियो,’ उनले भने, ‘कस्तो चट्टान भएको स्थानमा कति भिरालो गरी बाटो चौडा गर्ने भन्नेमा ध्यान दिनुपर्थ्यो, त्यसो हुन सकेन । जथाभावी सडक चौडा गर्नेतिर मात्र ध्यान दिँदा पहिरोले दुःख दिइरहेको छ ।’
मुग्लिङ–नारायणगढ, बुटवल–पाल्पाअन्तर्गतको सिद्धबाबा, पृथ्वी राजमार्गका विभिन्न स्थान, अरनिको राजमार्ग, मेलम्ची क्षेत्र, काठमाडौं–नुवाकोट हुँदै रसुवागढी जोड्ने पासाङल्हामु राजमार्ग, बेंसीसहर चामे (मनाङ) सडकखण्ड, अत्तरिया हुँदै सुदूरपश्चिमका विभिन्न जिल्ला जोड्ने सडक अहिले पनि पहिरोको जोखिममा छन् । ढकालका अनुसार महाभारत र चुरे क्षेत्रका सडकसमेत पहिरोको उच्च जोखिममा छन् ।
मनसुनमा महाभारत क्षेत्रमा बढी वर्षा हुन्छ । कर्णाली राजमार्गका विभिन्न स्थान, धनगढी–दार्चुला, डडेलधुरा–बझाङ, गोरुसिंगे–सन्धिखर्क, पाल्पा–गुल्मी सडकखण्ड पनि जोखिममा छन् । प्रदेश १ मा धरान, हिले हुँदै वसन्तपुर जोड्ने सडक, घुर्मी–ओखलढुंगा र खोटाङ तथा इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने सडकमा पहिरोको सम्भावना छ ।
‘मनसुनको अवधिमा पहिरोले खोला थुनियो र पछि एकैपटक ताल फुट्यो भने पनि तल्लो तटीय क्षेत्रमा भेलबाढीको सम्भावना हुन्छ,’ ढकालले भने, ‘यस्ता घटना धेरै पटक भएका छन्, मनसुन अवधिमा ध्यान दिन जरुरी छ । विशेषगरी कालीगण्डकी नदीतटीय क्षेत्रमा त्यो सम्भावना बढ्दो छ ।’
राजमार्गसँग जोड्न स्थानीयस्तरमा जथाभावी खनिएका सहायक सडकले पनि भूक्षय निम्त्याइरहेका छन् । त्यसरी खनिएका सडकको अनुगमन नहुने भएकाले विकराल अवस्था निम्तिने गरेको छ ।
मनसुनको अवधिमा थोरै क्षेत्रमा केन्द्रित भएर बढी वर्षा हुने गरेको छ । त्यसले पहिरो र भेलबाढीको जोखिम निम्त्याएको छ । अर्का भूगर्भविद् धर्मराज खड्का माटोको अवस्था नहेरी गरिने विकासले विनाश निम्त्याइरहेको बताउँछन् ।
‘माटोको परिस्थिति नै नहेरी पूर्वाधार बनाउँदा बर्सेनि मनसुनको अवधिमा क्षति व्यहोर्नुपरेको छ,’ खड्काले भने, ‘पूर्वाधार जोगाउने गरी आयोजना डिजाइन गर्नुपर्ने हो, त्यसमा हामी चुकिरहेका छौं ।’
स्थानीय सरकारले वातावरणीय पक्षलाई ध्यान नदिई बाटो विस्तार गरेका कारण साना पहिरो निम्तिएको खड्काको ठम्याइ छ । ‘ठूला विकास आयोजनाले पनि डीपीआर कपीपेस्ट गर्ने र वातावरणीय पक्षलाई बेवास्ता गर्ने गरेका छन्,’ उनले भने, ‘जसले गर्दा ठूला आयोजना पनि विपद्को जोखिममा छन् ।’
पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक वसन्तराज अधिकारीका अनुसार मनसुनको अवधिमा भूकम्पले असर गरेका क्षेत्रमा अहिले पनि पहिरोको जोखिम छ । भूकम्पले हल्लाएको जमिन स्थिर हुन धेरै वर्ष लाग्छ ।
‘भूकम्पले असर गरेका पर्वतीय शृंखलामा मनसुनी गतिविधिका बेला लामो समयसम्म पहिरोको जोखिम हुन्छ,’ उनले भने । पहाडी क्षेत्रको वर्षाबारे गरिएको एक अध्ययनले कुनै स्थानमा २४ घण्टामा १ सय मिलिमिटर वर्षा भयो भने त्यो स्थानमा सानो पहिरोको सम्भावना हुन्छ ।
२४ घण्टामा १०० देखि २०० मिमि वर्षा भएमा ठूलो पहिरो आउने र नदीको बहाव बढ्ने सम्भावना हुन्छ । २४ घण्टामा ३०० मिमि वर्षा भएको क्षेत्रमा भीमकाय पहिरो र बाढीको उच्च सम्भावना हुन्छ ।
भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनालका अनुसार विगतमा मकवानपुरको कुलेखानी, ललितपुरको लेले र स्याङ्जालगायत स्थानमा ठूलो वर्षाका कारण भीमकाय पहिरो निम्तिएको थियो ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार राजमार्गको मर्मतसम्भार गर्न सातै प्रदेशमा ३३ वटा सडक डिभिजन कार्यालय छन् । मनसुनलगायत अन्य आकस्मिक अवस्थामा मर्मतसहितका काम गर्न हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पनि छन् ।
महानिर्देशक थापा पहिरोको जोखिम र पहिरोको इतिहास अध्ययन गरेर धेरैजसो इक्विपमेन्ट पहाडी राजमार्गहरूमा परिचालन गरिएको बताउँछन् ।
‘कुनै स्थानमा पहिरो गएर बाटो थुनिहाल्यो भने आधा घण्टादेखि १ घण्टाभित्र इक्विपमेन्ट र प्राविधिकसहित घटनास्थलमा पुग्ने हिसाबले तयारी अवस्थामा छौं,’ थापाले भने, ‘मनसुनी विपद्लाई मध्यनजर गरेर इक्विपमेन्टसहित जनशक्ति परिचालनको व्यवस्था मिलाएका छौं ।’
जलवायु परिवर्तनजन्य विपद् न्यूनीकरण तथा व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएका दीपक केसी मनसुनका कारण निम्तिने विपद् व्यवस्थापनका लागि जोखिमयुक्त स्थानमा बन्दोबस्तीका सामानसहित टोली परिचालन हुनुपर्ने समयमा बल्ल प्राधिकरणले पूर्वतयारी र कार्ययोजना ल्याएको बताउँछन् ।
सम्भावित बाढीबारे पूर्वसूचना प्रवाह गर्न वर्षा मापन केन्द्र, मापन केन्द्रको अवस्था र सेन्सरको अवस्थाबारे जल तथा मौसम विज्ञान विभाग बेलैमा सक्रिय हुनुपर्ने उनको सुझाव छ ।
कुन क्षेत्रमा कति वर्षा भइरहेको छ र त्यसले कुन क्षेत्रमा कस्तो प्रभाव पार्दै छ भन्ने सूचना लिन सके जोखिमयुक्त बस्तीमा सही सूचना प्रवाह गर्न सकिन्छ,’ उनले भने, ‘त्यो कुन माध्यम र स्तरमा प्रवाह गर्ने भन्ने अहिले नै यकिन हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्