परियोजना वैध, उत्खनन् अवैध

परियोजना सञ्चालनको बहाना, अवैध रुपमा क्रसर उद्योगको स्थापना ! प्रसंग हो, राष्ट्रिय गौरवको तामाकोशी जलविद्युत आयोजनाको । तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले तामाकोशी पाँचौं आयोजना (९९.८ मेगावाट) को निर्माणको जिम्मा दिएको सिनोहाइड्रो कर्पोरेसन लिमिटेड र कुमार श्रेष्ठ निर्माण सेवा जेभीले क्रसर उद्योग स्थापना गरेर मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरेको तथ्य खुलेको छ । 

दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१ स्थित गोंगरखोला बजार नजिकैको तामाकोशी छेउ क्रसर उद्योग सञ्चालनमा छ । दैनिक ठूलो मात्रामा नदीजन्य पदार्थ उत्खनन् गर्न नदीभित्रै स्काभेटर र डोजर छिराएपछि स्थानीयले विरोध जनाएका छन् । उक्त कार्यमा रोकको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय, दोलखाको पटकपटक ध्यानाकर्षण गराइसकेका छन् । 

frontline

उत्खनन्मा प्रयोग भएका मेशिन र सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइए पनि सुनुवाई नगरिएको स्थानीयको आरोप छ । एक स्थानीयले भने,‘खोलाभित्रै स्काभेटर छिराएर नदीजन्य पदार्थको उत्खनन् गरेका छन् । त्यसरी उत्खनन् गर्न मिल्दै मिल्दैन । तैपनि सरोकारवाला आँखा चिम्लिएर बसेको छ । हामीले पटकपटक जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइसकेका छौं, के गर्नु सुन्दैनन् ।’ 

वातावरण प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षा (आईईई) नगरिकन कतैपनि उत्खनन् गर्न पाइँदैन् । दुवै गरिएको भएतापनि नदीभित्रै स्काभेटर र डोजर छिराएर उत्खनन् गर्न पाउने व्यवस्था कतै छैन । नदीभित्रै सवारी साधन लगेर ढुंगा, गिट्टी, वालुवा निकाल्दा भविष्यमा जोखिम आउनसक्ने स्थानीयको भनाइ छ । 

‘वातावरणीय परीक्षण गरेको भएपनि खोलामा मेसिर हालेर नदीजन्य पदार्थ निकाल्न पाइँदैन् । तर, अटेर गरेका छन् । यस्तो लापरवाहीले भविष्यमा केही विपत्ति आयो भने कसले जिम्मा लिन्छ ?’,स्थानीयको प्रश्न छ । गाउँपालिका अध्यक्ष सञ्जिव ओलीले कम्पनीले ईआईए प्रतिवेदन बुझाएको बताए । उनीहरुले ईआईए गरेरै काम थालेको उल्लेख गर्दै उनले उत्खनन्बारे जानकारी नभएको दाबी गरे ।

वडा कार्यालयलाई बेवास्ता

वडा नम्बर १ को कार्यालयले क्रसर उद्योग सञ्चालनका लागि अनुमति नलिएको बताएको छ । वडाध्यक्ष मेमबहादुर तामाङ्गले कम्पनीले वडा कार्यालयबाट स्वीकृति नलिएको जानकारी दिए । जनआस्थासँगको कुराकानीमा उनले भने,‘क्रसर उद्योग सञ्चालनमा आएकोचाँहि मैले पनि जानकारी पाएँ । तर, उहाँहरुले वडाबाट स्वीकृति लिनुभएको देखिँदैन । गाउँपालिकाबाट लिएको हुनसक्छ ।’ 

उनका अनुसार क्रसर सञ्चालनपछि स्थानीयले चर्को विरोध जनाएका थिए । सो कार्य रोक्नुपर्ने माग राखेका स्थानीय सहमतिमा आइसकेको वडाध्यक्ष तामाङ्ग बताउँछन् । केही दिनअघि कम्पनी र स्थानीयबीच विभिन्न विषयमा सम्झौता भएको उनले जानकारी दिए । ‘स्थानीयले शुरुमा विरोध जनाउनुभएको थियो । त्यसपछि कम्पनीले बाटोघाटो बनाइदिनेलगायतका सहमति गर्यो । स्थानीयले मान्नुभयो, कुरा त्यही सकियो’,उनले भने ।

निजी जग्गामा क्रसर सञ्चालन : सिडिओ

दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार कम्पनीले आफ्नै निजी जग्गामा क्रसर सञ्चालन गरेको छ । हाल तामाकोशी पाँचौंको निर्माण गरिरहेको कम्पनीले अन्यको निर्माणमा पनि आफ्नै क्रसर सञ्चालन गरेको उनले जानकारी दिए । क्रसर सञ्चालनको विरोधमा स्थानीयले प्रशासनमा ज्ञापनपत्र बुझाएको उनको जिकिर छ । 

क्रसरबाट ध्वनी प्रदूषण भएको, बाटो बिग्रिएकोलगायत गुनासोसहित ज्ञापनपत्र पेश गरेकोमा अहिले समस्या समाधान भइसकेको प्रजिअ गेलालले बताए । ‘अहिले त्यहाँ तामाकोशी ५ को काम भइरहेको छ । निर्माणको क्रममा प्रयोग हुने सामग्रीको उत्खननका लागि क्रसर सञ्चालन गरिएको छ । जुन क्रसर भनिएको छ, त्यो कम्पनीको निजी जग्गामा सञ्चालन गरिएको हो । स्थानीयले आवाज आयो भनेर यहाँ गुनासो राखेका थिए । अहिले समस्या समाधान भइसकेको बुझेको छु’,उनले भने । 

जलविद्युत कम्पनीका प्रतिनिधि, स्थानीय र जनप्रतिनिधिसहितको बैठकपछि विवाद सुल्झिएको उनको भनाइ छ ।

रोक्न लगाएका छौं : संरक्षण क्षेत्र 

गोंगरखोला गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्दछ । गौरीशंकर संरक्षण क्षेत्रले त्यस क्षेत्रमा हुने गतिविधिमाथि नियमन गर्दै आएको छ । क्रसर उद्योग सञ्चालन गरेर मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि रोक्न निर्देशन दिइएको प्रमुख तुलसी दाहालले बताए । पाँच दिनअगाडि कम्पनीलाई पत्राचार गरिएको उनले जानकारी दिए । पत्रपछि कम्पनीले उत्खनन् रोकेको उनको ठोकुवा छ ।

‘कम्पनीको ईआईए स्वीकृत भएको छ । तर, कम्पनीले उत्खनन्को मापदण्ड पालना नगरेको पाइएको छ । कम्पनीले नदीभित्रै स्काभेटर पुर्याएर नदीजन्य पदार्थ निकाल्दो रहेछ । उत्खनन् गर्दापनि कति गहिरो बनाउने ? नदीभित्र साधन लैजाने कि नलैजाने ? मापदण्ड बनाइएको छ । त्यो पालना नगरेको पाइएपछि हामीले पत्राचार गर्यौं । अनुगमनको क्रममा कम्पनीले काम रोकेको पाएका छौं’,उनले भने । 

यता, तामाकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले कतैबाट पत्र नआएको दाबी गरे । भन्छन्,‘यो सरकारी स्तरको आयोजना हो । सरकारी स्तरको आयोजनामा निर्माणस्थलबाटै निर्माण सामग्री निकाल्ने हो । निर्माणस्थलमै क्रसर उद्योग सञ्चालन गरेर निर्माण सामग्री उत्खनन् गर्छौं । हामीलाई कतैबाट गुनासो र पत्र आएको छैन ।’

हतारमा पेश्की 

सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले कानुनबमोजिम नै ठेक्का सम्झौता गरेपनि बीमाको कागजात पेश नगरी पेश्की लिएको पाइएको छ । इन्स्योरेन्सका लागि आवश्यक कागजात नबुझाउँदै कम्पनीले भुक्तानी दिएको स्रोत बताउँछ । बीमाको डकुमेण्ट पेस नगरी भुक्तानी दिनु गैरकानुनी भएको स्रोतको भनाइ छ । स्रोत भन्छ,‘पेश्की बुझ्नका लागि बीमाको कागजात अनिवार्य पेश गर्नुपर्छ । तर, तामाकोशी जलविद्युत कम्पनीले कागजातबिनै पेश्की दिएको छ ।’

अवैध क्रसरको बिगबिगी 
 
जिल्लामा अवैध क्रसरको बिगबिगी छ । जताततै अवैध क्रसर सञ्चालन भइरहँदा सरोकारवाला आँखा चिम्लेर बसेको छ । अनुगमन र कारबाहीमा जिल्ला प्रशासन कार्यालयले तदारुकता देखाएको छैन । यसकारण क्रसर उद्योग सञ्चालकहरुले मनलाग्दी रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने गरेका छन् । उद्योगहरुले उत्खनन् गरेर नदीजन्य पदार्थ भण्डारण गर्ने स्थानीय बताउँछन् । 

के हुन्छ कारबाही ? 

नदीको बहावभित्र मेसिन प्रवेश गराई सामग्री संकलन गर्ने मेसिन, स्काभेटर, जेसिबीलाई दुई लाख, ट्रक तथा ट्रिपरलाई ३० हजार र ट्याक्टरलाई १० हजार रुपैयाँ, बिना ईजाजत मेसिन औंजार प्रयोग गरेमा एक लाख, तोकिएकोभन्दा बढी संख्यामा मेसिन प्रयोग गरेमा प्रतिमेसिन ५० हजार, रातिको समयमा उत्खनन् वा संकलन गरेमा तीन लाख, नदीको बहाव परिवर्तन गरेर उत्खनन् गरेमा दुई लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । 
त्यसैगरी, निषेधित क्षेत्रमा प्रवेश गरी उत्खनन् वा संकलन गरेमा एक लाख, पानी चुहाउँदै नदीजन्य पदार्थको उत्खनन् वा संकलन गरेमा पाँच हजार, प्रवेश अनुमति वा राजश्व तिरेको भौचर नदेखाई उत्खनन् वा प्रवेश गरेमा २५ हजार, अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेमा दुई लाख रुपैयाँ जरिवाना र बन्द गर्न निर्देशन, क्रसर उद्योगले तोकिएबमोजिमका मापदण्ड–शर्तहरु पालना नगरेमा ५० हजार रुपैयाँ जरिवाना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here