पछिल्लो समय बढ्दै कोरोना संक्रमण दर, चौथो लहर भित्रिन सक्ने संकेत

४ साउन, काठमाडौं । विश्वकै अर्थतन्त्र थिलथिलो हुने गरी २ वर्षसम्म व्यापक फैलिएको कोरोना संक्रमणको दर नेपाल फेरि उकालो लाग्न थालेको छ ।

यसले कतै कोरोना संक्रमणको चौथो लहर भित्रिएको हो कि भन्ने आशंका उब्जाएको छ । अर्कातिर आमनागरिकमा स्वास्थ्य मापदण्डमा चरम लापरबाही बढ्दो छ । सरकारी संयन्त्र पनि सम्भावित अवस्थाबारे बेखबर देखिन्छन् ।

frontline

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरूले कोरोना संक्रमणदर पाँच प्रतिशत भन्दा कम भएमा मात्र सामान्य भन्न मिल्ने बताउँछन् ।

असार महिनाको मध्यसम्म एक प्रतिशतमात्र रहेको कोरोना संक्रमण दर अहिले बढेर १६ प्रतिशत पुगिसकेको छ ।

पछिल्लो समय विश्वमा ओमिक्रोनका दुई नयाँ उपप्रजाति बिए पोइन्ट फोर र बिए पोइन्ट फाइभ संक्रमण बढिरहेको अवस्थामा नेपालमा पनि बिए पोइन्ट फाइभ सङक्रमण पुष्टि भइसकेको छ ।

सरोकारवाला निकायले चौथो लहर भित्रिएको पुष्टि नगरे पनि पछिल्लो समय बढ्दै गइरहेको कोरोना संक्रमण दर र सक्रिय संक्रमितको संख्याले पनि चौथो लहर भित्रिन सक्ने संकेत गरेको छ । नागरिकका लागि स्वास्थ्य मापदण्ड एकादेशको कथा भइसकेको छ ।

सामाजिक दूरी कायम गर्नु त परै जाओस्, मास्क लगाउन प्रचलन समेत हराउँदै गएको छ । सार्वजनिक स्थान, यातायात, बाटोघाटो, किनमेलमा हिँड्नेहरूमा बेवास्ता बढेको छ । पहिलो, दोस्रो र तेस्रो चरणको महामारी भोगेका नागरिकमा स्वास्थ्यप्रति संवेदनशीलता देखिँदैन ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार दैनिक कुल परीक्षणको ८ देखि १६ प्रतिशत सम्ममा संक्रमण देखिएको छ । एक साताको सरकारी तथ्याङ्कले नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लागेको पुष्टि गर्छ ।

गत असार २९ गते २ हजार ८२ जनामा गरिएको पीसीआर परीक्षणमा १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै असार ३० मा २ हजार २७ जनामा गरिएको पीसीआर परिक्षणमा २ सय १४ मा संक्रमण देखिएको छ । प्रत्येक दिनको परीक्षणले कोरोनाको संक्रमण बढेको प्रमाणित गर्छ ।

सोमबार २ हजार ३ सय ४१ जनामा गरिएको परीक्षणमा ३ सय ८६ अर्थात १६ दशमलब ४८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । मंगलबारको परिणाम पनि त्यही हाराहारीमा छ ।

हाल देशभर रहेका १ हजार ९ सय ८२ सक्रिय संख्यामध्ये ६६ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्रै छन् ।

यही रफ्तारमा संक्रमित बढ्दै जाने हो भने नेपालमा फेरि पनि भयावह स्थिति नआउला भन्न सकिन्न । कोरोनाको पहिलो चिकित्सक संक्रमित आफैं हो । त्यसैले आफ्नो स्वास्थ्यप्रति आफैं सचेत हुनु जरुरी छ ।

संक्रमणले भयावह अवस्था आउनुअघि सरकारले पनि नागरिकलाई रोग लाग्नुअघि नै होसियारीका लागि अपिल गर्नु बाञ्छनीय छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here