नेपाल प्रहरीको वफादारी कदरयोग्य छ : मुख्यमन्त्री शाही
कर्णाली, २१ असोज (रासस) : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा नेपाल प्रहरीको वफादारी कदरयोग्य रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज यहाँ आयोजित ६६औँ प्रहरी दिवस उद्घाटन समारोहमा उहाँले समाजको सामीप्यमा रहेर नागरिक सुरक्षार्थ अहोरात्र खट्ने नेपाल प्रहरीको योगदान सम्मानयोग्य भएको बताउनुभयो ।
“नागरिकको शान्ति र सुरक्षामा नेपाल प्रहरीले आफ्नो कर्तव्य पूरा गर्दै आएको छ”, उहाँले भन्नुभयो, “सङ्गठनलाई आधुनिक प्रविधिसँग समाहित गरेर लैजाँदा यसको गतिशीलता र प्रभावकारिता बढ्दै जान्छ ।” प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जनताको रक्षकका रूपमा प्रहरीले काम गर्दै आएको बताउनुभयो ।
बदलिएको समयसँगै प्रहरी सङ्गठनले आफ्नो काम कारबाहीलाई सशक्त बनाउँदै लैजानुपर्ने सुझाउनुभएका मन्त्री नेपालीले पछिल्लो समयमा बढ्दै गएका सामाजिक अपराधका घटनाको अध्ययन अनुसन्धानको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले लामो इतिहास पार गरेको प्रहरी सङ्गठनको भूमिका अपेक्षाकृत नै रहेको जनाउँदै सेवालाई प्रविधिमैत्री बनाउनेतर्फ जोड दिन सुझाउनुभयो ।
“हिजोभन्दा आजभोलि समाजमा अपराधका घटना बढेको देखिन्छ”, प्रमुख सुवेदीले भन्नुभयो, “यसको गहिरो अनुसन्धानका लागि जनशक्ति उत्पादन तथा परिचालन गर्न सकेमात्र सामाजिक अपराध न्यूनीकरण हुनसक्छ ।”
दिवसमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) को वार्षिक मुखपत्र ‘गुरुकूल’ चौथो संस्करणको लोकार्पण गर्नुका साथै कर्तव्यको सिलसिलामा अमरत्व प्राप्त गरेका परिवारलाई सम्मान र उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गर्नुभयो । –––






प्रतिक्रिया दिनुहोस्