नुवाकोट पुगेर भण्डारीले गरिन् बाढी प्रभावित क्षेत्रको निरीक्षण
नुवाकोट : नेकपा (एमाले)की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। मंगलबार उनले गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाका विभिन्न क्षेत्रको निरीक्षण गरेकी हुन्।
सडकमार्ग हुँदै नुवाकोट पुगेकी भण्डारीले विदुर नगरपालिकाका ढुङ्गे, त्रिशूली, गेर्खु, बेत्रावती, देवीघाट तथा बेलकोटगढी नगरपालिकाको काशीटारलगायतका स्थानहरूको निरीक्षण गरिन्। सो क्षेत्रका बाढी प्रभावितहरूलाई भेटेर उनले बाढीले पुर्याएको क्षति र पुनर्निर्माणबारे चासो व्यक्त गर्दै सरोकारवालाहरूसँग अन्तर्क्रियासमेत गरिन्।
भण्डारीले बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास अति जरुरी रहेको बताइन्। साथै, पीडितहरूको आवास निर्माण प्रक्रियाका लागि आफूले पनि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।






प्रतिक्रिया दिनुहोस्