नर्वेको शानदार सुरुवात
२८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । बुधवार बिहान भएको खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गरेको हो ।

नर्वेको जितमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरे ।
हाल्याण्डले खेलको २९औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए ।
खेलको ४३औँ मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोस्रोपटक अग्रतामा पुर्याए । ७६औँ मिनेटमा नर्वेका लियोले हेडमार्फत गोल गर्दै अग्रताको दुरी बढाए ।
दोस्रो हाफको इन्जुरी समयमा आत्मघाती गोल हुँदा नर्वेले ४-१ को जित दर्ता गर्यो । अन्तिम समयमा इराकका हुसेनले प्रहार गरेको बलमा आफ्नो गोलपोष्टमा छिरेपछि नर्वेले एक गोल उपहार पाएको हो ।
यो जितसँगै नर्वे ३ अङ्कसहित समूह ‘आई’ को शीर्ष स्थानमा छ । समान ३ अङ्क रहेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका सेनेगल र इराक अङ्कविहीन छन् ।
नर्वेले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । उक्त विश्वकपमा अन्तिम-१६ सम्म पुगेको नर्वे त्यसपछि छनोट हुन सकेको थिएन ।






प्रतिक्रिया दिनुहोस्