देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
नवलपुरको देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न भएको छ । आज देवचुली नगरपालिकाको सभाहलमा नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक र आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सर्वसम्मत रुपमा पास भएको हो ।

नगर सभा अधिवेशनमा नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले कृषि, उद्योग, पशु, पर्यटन तथा व्यापार व्यवसाय प्रवर्द्धनमा विशेष जोड दिएको सो क्रममा नगर प्रमुख न्यौपानेले बताउनुभयो । अधिवेशनमा नगर उप प्रमुख पार्वता तिवारीले आर्थिक विद्येयक २०८३ नगरसभामा पेश गर्नुभएको थियो ।
उप प्रमुख तिवारीले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सहित विनियोजन विद्येयक समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले ९७ करोड ९३ लाख ५३ हजार ४ रुपैँया बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको थियो । उक्त बजेटमा चालुतर्फ ५९ करोड ९३ लाख ६४ हजार ३८ रुपैयाँ र पूँजिगत तर्फ ३७ करोड ९९ लाख ८८ हजार ९ सय ६६ रुपैयाँँ विनियोजन गरिएको छ । आयको स्रोत तर्फ संघीय सरकारको सशर्त अनुदान ३६ करोड ५९ लाख, वित्तिय समानीकरण अनुदान १३ करोड ८४ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँड १३ करोड १५ लाख ४४ हजार रुपैयाँ, विशेष अनुदान १ करोड २० लाख रुपैयाँ, प्रदेश वित्तिय समानीकरण अनुदान १ करोड ७५ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँड १ करोड ५७ लाख ८९ हजार ४ सय ६३ रुपैयाँ, सशर्त विशेष ४० लाख रुपैयाँ, समपुरक अनुदान ६० लाख रुपैयाँ , आन्तरिक आम्दानी ८ करोड ५० लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।






प्रतिक्रिया दिनुहोस्