दुर्घटनाको १ वर्ष पुग्न लाग्दा ओछ्यानमै थला

श्रोत : ईन्टरनेट

२० मंसिर, विराटनगर ।  विराटनगर महानगरपालिका–११ केसलियाका ५० वर्षीय माधवकुमार बस्नेत दुर्घटनामा परेको एक वर्ष पुग्नै लाग्यो। काठमाडौंबाट विराटनगर फर्कने क्रममा उनी सवार को ८ प ९३७ नम्बरको मोटरसाइकललाई सिरहाको लाहानमा अनटेस्ट ट्याक्टरले २०७७ पुस १ गते साँझ ठक्कर दिएको थियो।

गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरियो। होस फर्कंदा आफूलाई अस्पतालको आइसीयूमा पाएको बस्नेतले बताए।‘

frontline

होस फर्कंदा दुवै खुट्टाका हड्डी टुक्राटुक्रा भएको पाएँ। २ महिनासम्म अस्पतालमै बसें’, उनले भने, ‘टुक्रिएका हड्डी जोड्ने चिकित्सकको प्रयास तत्काल सफल भएन।

उपचार खर्च अभाव भएपछि डिस्चार्ज दिएर घर पठाए।’ निरन्तर उपचार चलिरहँदा आफ्नो १५ लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको बस्नेतले बताए। 

अस्पतालबाट डिस्चार्ज हुँदा ट्याक्टर धनीले उपचारवापतको २ लाख रूपैयाँ तिरिदिए। त्यसपछिको खर्च तिर्न नमान्दा आफू पीडामा परेको र उपचार प्रभावकारी हुन नसकेको गुनासो बस्नेतको छ। ‘

दुर्घटनामा परेको १ वर्ष पुग्न लाग्दा ओछ्यानमै थला परेर बसिरहेको छु। दिसा, पिसाब नै एकै ठाउँ भएर अपांग जीवन बिताइरहेको छु’, बस्नेतले भने, ‘दुबै खुट्टा नचल्ने मेरो स्याहारमा श्रीमती खटिएकी छिन्। खाना ओछ्यानमै ल्याइदिनुपर्ने अवस्था छ।’  

प्रहरी र प्रशासनको सहयोग नपाउँदा थला परेर ओछ्यानमै बस्नु परिरहेको गुनासो बस्नेतले गरेका छन्। ‘उपचारमा चासै नदिएर प्रहरी र प्रशासन दुर्घटना गराउने पक्षको सहयोगी बनिदिए’, उनी भन्छन्, ‘अब मेरो जिन्दगी जाने भयो भनेर म ठूलो तनावमा छु।’ उनका दुबै खुट्टा चल्दैनन्। 

सवारी चालक अनुमति पत्र (लाइसेन्स)समेत नभएका शम्भु सदायले चलाएको ट्याक्टरले बस्नेत सवार मोटरसाइकललाई ठक्कर दिएको हो।

तर ट्याक्टर धनीले उपचार खर्च नबेहोरेपछि उनी छटपटाइरहेका छन्। ‘चिकित्सकले उपचार गर्दा ठीक हुन्छ, तर पैसा धेरै खर्च हुन्छ भनिरहेका छन्।

खुट्टाको शल्यक्रिया तत्काल गर्नुपर्छ भनेका थिए’, उनले भने, ‘तर मसँग भएको सकिएकाले थप उपचार गराउनसक्ने अवस्था छैन। गाडी धनी राम एकवाल महतोले वास्ता गर्दैनन्।’

आफ्नो आम्दानीको स्रोत केही नभएको र प्रशासनले पनि उपचार खर्च नजुटाइदिएको गुनासो बस्नेतको छ। उनले आफ्नो उपचारमा लागेको खर्चको १३ लाख रूपैयाँभन्दा बढीको बिल जिल्ला प्रशासन कार्यालय सिरहालाई बुझाइसकेका छन्। २ लाख रूपैयाँको बिल घरमै राखेका छन्। 

अब शल्यक्रिया र थप उपचार गराउन ६ लाखभन्दा बढी लाग्छ भनेर चिकित्सकले भनेका छन्’, बस्नेतले भने, ‘औषधि खाने पैसा नै नभएको अवस्थामा यति ठूलो रकम कहाँबाट निकाल्नु ?’

खर्च तिरिदिन पटकपटक ताकेता गर्दा पनि ट्याक्टर धनी महतोले बेवास्ता गरेको गुनासो उनको छ। ‘खुट्टाको उपचार गराउने मेरो हैसियत छैन।

प्रहरी र प्रशासनबाट सहयोग मिलेन’, उनी भन्छन्, ‘सीडीओलाई भन्यो भने तपाईंको कथा सुन्ने फुर्सद छैन भन्छन्। प्रहरी त पीडकसँगै मिलिदियो।’ 

पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले २१ वर्षीय छोराले समेत कक्षा १२ पढेर पढाइ छाड्नुपर्ने अवस्था आएको उनले बताए। कानुनले तोके अनुसारको उपचार आफूले पाउनुपर्ने माग उनको छ।

‘हड्डी टुक्राटुक्रा भएका दुईवटा खुट्टा लिएर ओछ्यानमा थला परिरहेको छु’, बस्नेतले भने, ‘कोहीबाट पनि सहयोग नपाएकाले धेरै पीडाबोध भइरहेको छ।’

गाडी धनीका दाजु प्रदीप महतोले घाइतेको उपचारमा लागेको बाँकी रकम आफूहरुले तिर्न नसक्ने बताए। ‘२ लाख दिइसक्यौँ। अदालतमा मुद्दा परेकाले थप खर्च दिँदैनौं’, उनले भने, ‘सोरुमबाट निकालेको केही दिनमै गाडी दुर्घटनामा पर्‍यो। हामीसँग पनि उपचार गराइदिने पैसा छैन।’

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले घाइतेको अवस्था थाहा पाएर पीडितकै पक्षमा आफूहरुले काम गरिरहेको बताए।

तर अदालतमा मुद्दा परेकाले कानुनी जटिलताका कारण उपचार खर्च जुटाउन सम्भव नभइरहेको उनको भनाइ छ। ‘ट्याक्टरका धनीलाई उपचार खर्च बेहोर्न बारम्बार भनिसकियो’, कँडेलले भने, ‘अदालतमा पुगेको सवारी अंगभंग मुद्दा अहिले पनि विचाराधीन छ।’

कँडेलले उमेर हदका कारण आगामी सोमाबारबाट अवकाश पाउँदैछन्। अब आउने प्रजिअले चासो राखेर मुद्दाको छिनोफानो गर्ने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here