दाउन्नेमा सडक भासियो, बर्दघाट-दुम्किबास खण्ड पूर्णरुपमा बन्द
सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् । सडक खुलाउने प्रयास भए पनि वर्षाका कारण केही समय लाग्ने प्रहरीले जनाएको छ ।
२५ असार,बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ ।
वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् ।
सडक खुलाउने प्रयास भएपनि वर्षाका कारण केही समय लाग्ने डीएसपी पन्तले बताए ।
खुर्सानी खोलामा पटक-पटक सडक भासिदा सडक अवरुद्ध हुँदै आएको थियो । नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहेपनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काम ढिला हुँदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्