तीनदिन भारी वर्षा हुने, यि स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

frontline

शुक्रबार दिउँसो देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडि भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।’

शनिबार प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार प्रदेश १, प्रदेश २ तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी सम्भावना रहेको छ।

कुन-कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम?

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानको मापनमा कोशी, नारायणी, कर्णाली, महाकाली नदीहरुमा बहावमा बढ्दो क्रममा रहेको छ। बागमतीको पधेरादोभान जलमापन केन्द्रमा जलसतह खतरा तह पुगेको र बढ्दो क्रममा रहेको छ। 

शुक्रबार नारायणी र यसका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने; कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने; कोशी र यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। मझौला नदीहरु सबैमा बहाब उल्लेख्य बढ्ने; कमला, बागमती, तिनाउ लगायतमा बहाब खतरा तह आसपास पुग्ने; कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ। 

महाशाखाका अनुसार प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा,धनकुटा प्रदेश २ को पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, धनुषा, सिराहा, सप्तरी; बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक,धादिङ, नुवाकोट, सिन्धुली, मकवानपुर, चितवन; गण्डकी प्रदेशको नवलपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी; लुम्बिनी प्रदेशको नवलपरासी, पाल्पा, रुपन्देही, कपिलबस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम पूर्व; कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख,कालिकोट, जाजरकोट; सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, कैलाली, बझाङ, बाजुरा, डोटी, अछाम आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here