तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १६ जनाको मृत्यु
काठमाडौं : दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समय अनुसार १०:३३ बजे उक्त भूकम्प गएको हो। भूगर्भविद्हरूका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै कडा महसुस गरिएको थियो।
भूकम्पको केन्द्रविन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाग्छु क्षेत्रको बाकेन काउन्टीस्थित मरू गाउँपालिकामा रहेको थियो।
भूकम्पका कारण प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार ३३९ भन्दा बढी घरहरू पूर्ण रूपमा भत्किएका छन्। भूकम्पलगत्तै त्यस क्षेत्रमा विद्युत् आपूर्ति र सञ्चार सम्पर्क विच्छेद भएको छ।
उच्च हिमाली भूगोलका साथै भूकम्पपछि खसेको सुक्खा पहिरो र चट्टानका कारण सडक मार्गहरू अवरुद्ध भएका छन्। यसले गर्दा उद्धार टोलीलाई प्रभावित क्षेत्रसम्म पुग्न कठिन भइरहेको स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन चिनियाँ अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा दोस्रो स्तरको आपत्कालीन उद्धार प्रणाली लागू गरी उद्धार टोलीहरू परिचालन गरेका छन्।






प्रतिक्रिया दिनुहोस्