टोखा–९ बाट घर नम्बर प्लेट जडानको शुभारम्भ
टोखा नगरपालिकाले आज वडा नं. ९ मा एक औपचारिक समारोह गरेर एकीकृत घर ठेगाना प्रणाली अन्तर्गतको घर नम्बर प्लेट जडान कार्य शुभारम्भ गरेको छ । कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराई र वडाअध्यक्ष रामभक्त घिमिरेले वडा कार्यालयमा नम्बर प्लेट संयुक्त रूपमा जडान गरेका थिए । आजैदेखि टोखा ९ का टोल–टोलमा घर नम्बर प्लेट जडान कार्य सुरु भएको छ ।
नम्बर प्लेट जडान शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखामा पहिलो चरणमा १९ हजार घरधुरीमा डिजिटल मेट्रिक प्रणालीको घर नम्बर प्लेट जडान कार्य सुरु भएको बताए । दोस्रो चरणमा सबै घरधुरीमा एकीकृत घर ठेगाना प्रणाली घर नम्बर प्लेटमा भएको क्युआर कोडबाट नागरिकहरुले विविध सेवाहरु घरमै बसेर लिन सकिन्छ ।
जसमा दमकल, जेट मेसिन, एम्वुलेन्स सेवा होस् या नागरिकको घर पत्ता लगाउनुका साथै पोलिसि निर्माण गर्न समेत मद्दत पु¥याउने नगरपालिकाले लक्ष्य लिएको छ । करको पालना भए, नभएको सूचना समेत लिन सकिनेछ । आइमास्क प्रणाली भनेको सम्बन्धित सडकको सुरु विन्दुबाट घर दुरीको आधारमा घर–ठेगाना पत्ता लगाउन सकिन्छ । घर नम्बर प्लेटमा नम्वर मात्र नभएर त्यहाँ भएको क्युआर कोड भने साउन १ गतेबाट मात्र सञ्चालनमा आउने नगरपालिकाले जानकारी दिएको छ ।
यो सेवा नगरपालिकाले ३ वर्ष लगाएर ल्याउन सफल भएको सिस्टम हो । ललितपुर महानगरपछि टोखा नगरपालिकाले यो प्रणाली सुरु गरेको छ । टोखाभित्रका सबै घरको सर्वेक्षण र सडकहरुको नामाकरण गरेर डिजिटाइलेसन गर्नुका साथै आगामी दिनमा विपद, नक्सापास र राजस्व सेवा समेत यसै प्रणालीबाट गराउने तयारीमा नगरपालिकाले जोड दिएको आइटी शाखा प्रमुख बसन्त पाठकले जानकारी दिएका छन् । यो प्रणालीबाट नगरपालिकाको एकीकृत जियोडाटाबेस तयार भएको छ ।
टोखा नगरपालिकाभित्र नक्साङ्कन गरिएका घरको संख्या २८६४६ रहेको छ भने प्रणालीद्धारा जारी घर ठेगाना २६,६१६ रहेको छ । नक्साङ्कन गरिएका सडकको कुल लम्बाई २९५.८८ किलोमिटर रहेको छ ।






प्रतिक्रिया दिनुहोस्