जसपामा अध्यक्षहरूको एकअर्कामा स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भन्ने विवाद भएपछि जनता समाजवादी पार्टी जसपाका अध्यक्षहरूले एकअर्कालाई स्पष्टीकरण सोधेका छन्।

अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेकै दिन मंगलबार अर्का अध्यक्ष यादवले पनि ठाकुरसहित उनी पक्षका नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेका छन्।

frontline

अध्यक्ष ठाकुर पक्ष प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई नै समर्थन गरेर जानुपर्नेमा छन्। तर अर्का अध्यक्ष यादव पक्ष भने ओलीको विकल्पमा कांग्रेस सभापति देउवालाई सघाउनुपर्नेमा छन्।

त्यसैअनुसार उनीहरूले आफ्ना ढंगले गतिविधि बढाइरहेका छन्। अध्यक्ष ठाकुर पक्षले नेता महतोलाई संसदीय दलको नेता बनाएको छ। यो कुरा आफूहरूलाई जानकारी नै नभएको अर्का अध्यक्ष यादव पक्ष बताउँछ।

अध्यक्ष ठाकुरले ओलीलाई समर्थन गर्नुपर्नेमा किन देउवाका पक्षमा हस्ताक्षर गर्दै हिँडेको भनेर तीन दिनभित्र स्पष्टीकरण बुझाउन यादवलाई भनेका छन्।

साथै अध्यक्ष यादवले पनि ठाकुरलाई प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको भन्ने प्रश्न सोध्दै स्पष्टीकरण दिन भनेका छन्।

‘पार्टीको निर्णयविना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीका तर्फबाट पत्र लेख्ने/पठाउने कार्य किन गरेको?’ भन्ने प्रश्न पनि यादवले ठाकुरलाई सोधेका छन्।

यस्तै पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनेका बेला राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संसदमा पत्र पठाएको भन्ने जवाफ दिनसमेत यादवले ठाकुरलाई भनेका छन्।

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले ठाकुरलाई अध्यक्ष यादवका तर्फबाट पत्र लेखेर स्पष्टीकरण दिन भनेका छन्। तीन दिनभित्र स्पष्टीकरण दिइसक्न भनिएको छ।

यस्तै राजेन्द्र महतोलाई के आधारमा संसदीय दलको नेता भएको भन्ने प्रश्नलगायत ६ बुँदे स्पष्टीकरणको जवाफ ३ दिनभित्र दिन अध्यक्ष यादवले भनेका छन्।

सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि यादवले स्पष्टीकरण दिन भनेका छन्। उनीहरू जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन्। पार्टीको आधिकारिक निर्णयविना सरकारसँग वार्ता गर्ने कार्यदलको रूपमा किन काम गरेको भन्ने लगायतको ५ प्रश्नको जवाफ दिन यादवले स्पष्टीकरण मागेका छन्।

प्रधानमन्त्री ओलीलाई गत वैशाख २७ मा विश्वासको मतका पक्षमा अध्यक्ष ठाकुर पक्ष तटस्थ बसेको थियो भने अर्का अध्यक्ष यादव पक्षका सांसदले ओलीको विपक्षमा मतदान गरेका थिए।

त्यसपछि जसपाभित्र ओली वा देउवा कसलाई समर्थन गरेर जाने भन्नेमा नेताहरू विभाजित छन्। यही विवादका कारण केन्द्रीय कार्यकारिणी समिति बैठक पनि बस्न सकेको छैन।

गत जेठ ८ र ९ मा केन्द्रीय कार्यकारिणी बैठक अध्यक्ष यादव पक्ष सहभागी भए पनि अर्का अध्यक्ष ठाकुर पक्ष सहभागी भएनन्। बरू ठाकुरले कोरोना महामारी देखाएर गत जेठ ७ मै बैठक स्थगित गरिदिएका थिए।

साथै गत शुक्रबार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन यादव पक्षका १२ जनाले हस्ताक्षर दिएका थिए भने सर्वोच्चमा रिट दिनेबेला पनि देउवालाई सघाएका थिए।

अर्का अध्यक्ष ठाकुरले भने गत शुक्रबार नै प्रधानमन्त्रीमा ओलीलाई नै समर्थन गर्दै पत्र राष्ट्रपति कार्यालयमा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here